नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताएका छन्।
महाधिवेशन गरेर कार्यकर्तालाई हौसला दिँदै चुनावमा जान सकिने उनको भनाइ छ।
बुधबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले व्यवहारिक बन्न नेताहरूलाई आग्रह गरेका छन्।
‘निर्वाचनमा नजाने भन्ने त कुरै छैन। तर निर्वाचनमा जाने वातावरण के हो? हामीले यहाँ निर्णय गर्दैमा निर्वाचनमा पुगिन्छ?,’ उनले भने, ‘हामी गाउँ पस्न सक्छौं? निर्वाचनभन्दा पहिला हरेक केन्द्रीय सदस्यलाई गाउँ गाउँ पठाउनुस्, आफ्नो निर्वाचन क्षेत्रमा पठाउनुस्। सार्वजनिक ठाउँमा कार्यक्रम गरेर हेरौं त, अनि निर्वाचनमा जाने कुरा गरौंला। पार्टी कार्यालयको बन्द कोठामा बसेर चुनावको कुरा गरेको छ।’
उनले माइतीघर मण्डलमा एक महिनासम्म नेताहरूको फोटो झुण्डाइएको र त्यो हटाउन नेपाल तरूण दल र नेविसंघमा रहेर केन्द्रीय समितिमा आएका कसैले पनि नसकेको उनको भनाइ थियो।
महामन्त्री गगन थापाले केन्द्रीय समितिमा छलफलका लागि १० एजेन्डा पेस गरे पनि चुनावअघि कि पछि महाधिवेशन भन्नेमा मात्रै केन्द्रीय सदस्यहरू अल्झेर अरू एजेन्डामा छलफल हुन नसकेको पनि उनले बताए।