नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका छन्।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री मन्सुरले सकेसम्म नियमित नभए विशेष महाधिवेशन गरेर भए पनि अहिले पार्टीभित्र तथा जनताका बीचमा पनि लोकप्रिय देखिएका गगन थापालाई सभापति बनाएर जानुपर्ने बताएका हुन्।
‘सकेसम्म नियमित र नभए विशेष महाधिवेशन गरेर भए पनि जानुपर्छ। कांग्रेसका लागि विशेष महाधिवेशन नयाँ होइन, पहिले पनि भएको छ। विशेष महाधिवेशन गरेर भए पनि नयाँ नीति र नेतृत्वमा पार्टी चुनावमा जानुपर्छ,’ सहमहामन्त्री मन्सुरले केन्द्रीय समितिमा भनेका कुरा उद्धृत गर्दै एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने, ‘बृहत एकता कायम गरेर विशेष महाधिवेशन उपयोग गरेर अघि बढ्नुपर्छ भन्ने प्रस्ताव राख्न चाहन्छु।’
उनले जनताका बीचमा र पार्टीभित्र पनि अहिलेको अवस्थामा गगन थापा सभापति बन्नुपर्छ भन्ने आवाज आफूले सुन्ने गरेको बताए।
‘अहिले पनि आम जनताको चाहना र पार्टीभित्र प्रभावअनुसार पनि आउने संघीय निर्वाचनमा गगन थापालाई प्रधानमन्त्री प्रस्ताव गरेर जाने निर्णय यो केन्द्रीय समितिले लिनुपर्छ,’ उनले भने, ‘म कुरा लुकाउने मानिस होइन। गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनेका छन्। उनी १४ औं महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्। अहिले उनकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ। त्यसैले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जानुपर्छ।’
उनले सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समितिमा पेस गरेको धारणा व्यक्तिगत भए पनि मिडियामा संस्थापन पक्षको प्रस्तावका रूपमा समाचार आएको पनि बताएका थिए। उक्त प्रस्ताव संस्थापन पक्षको हुन नसक्ने र आफ्नो मन्जुरी नरहेको मन्सुरको भनाइ थियो।
उनले आफू अहिले कुनै पनि गुटमा नरहेको पनि बताए भने कुनै पनि गुटका भेलामा नगएको पनि बताएका थिए। १४ औं महाधिवेशनमा मन्सुर सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री जितेका थिए।
मन्सुरले सहमहामन्त्री यादवको प्रस्तावबारे कुरा उठाएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले त्यो प्रस्ताव आफूले व्यक्तिगत धारणाका रूपमा आएको भनेको र के मिडियामा के समाचार आयो भन्ने कुरा केन्द्रीय समितिमा छलफलको विषय नहुने भन्दै एजेन्डामा केन्द्रित हुन रूलिङ गरेका थिए।