सरकारले जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ।
आयोग स्रोतका अनुसार भरसक आजै रास्वपा सभापति लामिछानेसँग बयान लिइनेछ।
सहकारी बचत रकम अपलचन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन्।
भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्केका थिए। केही समयपछि लामिछाने फेरि नख्खु कारागार फर्केका थिए।
पूर्वन्यायाधीश कार्की अध्यक्षतामा रहेको जाँचबुझ आयोगले लामिछानेसँग बयान लिन लागेको हो। उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ। त्यसैले अब लामिछानेसँग पनि बयानको तयारी भएको आयोग स्रोतको भनाइ छ।
भदौ २४ गते जेलबाट निस्कँदा लामिछानेले कारागारले आफूलाई पत्रसमेत दिएको बताएका थिए। 
तर बयानका क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र लामिछानेलाई आफूले नदिएको बताएका छन्।
‘लामिछाने समर्थकले आफै पत्र बनाएका हुन्, आफै छाप हानेका हुन्, मलाई पनि धम्क्याएका थिए,’ उनले बयानमा भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले कतिपय गम्भीर विषयहरू पनि विस्तृतमा भन्नुभएको छ।’
रास्वपा सभापति लामिछानेले नख्खु कारागारबाट निस्केको केही समयपछि फेसबुकमा भिडिओ सन्देश पोस्ट गर्दै कारागारबाट निस्किने आफ्नो चाहना नभएको बताएका थिए।
उनले भिड बढेपछि कारागारले नै आफूलाई जबरजस्ती बाहिर निकालेको दाबी गरेका थिए। उनले आफू प्रक्रिया पुर्याएर बाहिरिएको बताएका थिए। 
'भिड बढेपछि कारागारले मलाई जबरजस्ती बाहिर निकालेको हो। मैले बिनापत्र जान्न भनेको हुँ। उनीहरूले जस्तो पत्र दिए, जस्ताको तस्तै सार्वजनिक गरिसकेको छु,' उनले भनेका थिए। 
उनले त्यसबारे आफूले नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजीहरूलाई समेत भनिसकेको बताएका थिए।
'मलाई तपाईंहरूले आफ्नो कस्टडीमा राख्नुस्, नियन्त्रणमा लिनुस् वा कारागार पठाउनुस् भनेँ। उहाँहरूले नै भन्नुभयो, तपाईं आफै सुरक्षित बस्नुस्। आवश्यक परे सम्पर्क गर्छौं। सुरक्षा दिन नसकेरै हिजो कारागारले तपाईंलाई पत्र दिएको होला भन्नुभयो,' उनले दाबी गरेका थिए।