गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु कुमार थापाका छोरा सौगात थापाले आफूलाई धम्की दिएको पोखराका व्यवसायी मञ्जीव क्षत्रीले आरोप लगाएका छन्।
बुबाले मन्त्रीको हैसियतमा पाएका सुरक्षाकर्मी (पिएसओ) साथ लिएर सौगातले लेकसाइडको अरेबिका क्याफे आएर धम्की दिएको क्षत्रीले बताएका छन्।
उनका अनुसार मन्त्रीले पाएको पिएसओ विवेक कार्की सौगातसँगै अरेबिका क्याफे पुगेका थिए। उनले त्यति बेला हतियारसमेत बोकेका थिए।
'सौगातले मलाई धम्क्याउन आउँदा पिएसओले हतियार बोकेका थिए,' मञ्जीवले भने, 'क्याफेमा बस्दा उनले बोकेको पेस्तोल मतिर फर्किएको थियो।'
सौगातले फोन गरेर भेट्नुछ भनेपछि मञ्जीवले आफू लेकसाइडको अरेबिका क्याफेमा खाजा खाइरहेको बताएका थिए। त्यसपछि हतियारधारी पिएसओ साथमा लिएर सौगात त्यही क्याफे पुगेका थिए।
सौगातसँग मन्त्रीका पिएसओ कार्की र अर्का व्यक्ति आशिष सुवेदी पनि सँगसँगै रहेको क्षत्रीले बताए।
क्याफेमा भेट भएपछि सौगातले अपशब्द प्रयोग गरेर गालीगलौज गर्नुका साथै धम्क्याउने र थर्काउने कार्य गरेको पनि उनले आरोप लगाए।
'तेरो हैसियत के हो, तँ को होस् भनेर भएभरका अपशब्द प्रयोग गरे। तँ सक्छस् हामीसँग लड्न, जुध्न, तँसँग पैसा छ, पावर छ भनेर थर्कायो,' मञ्जीवले सेतोपाटीसँग भने, 'मसँग पैसा पनि छैन दम पनि छैन। म सक्दिनँ भनेर जबाफ दिएँ।'
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन क्रममा मन्त्री विन्दु कुमार थापाको निजी घर, 'बगैंचा रिसोर्ट', अंशुभरा स्क्वायर' लगायतमा तोडफोड र आगजनी भएको थियो। उक्त घटनामा दुःख प्रकट गर्न मन्त्री थापासँग आफूले फोनमा कुराकानी गरेको र उनीसँग सम्बन्ध राम्रो रहेको मञ्जीवले बताए।
उनका अनुसार घर र व्यवसायमा तोडफोड र आगजनी भएपछि सौगातले एउटा अन्तर्वार्तामा 'मेरो कारणले गर्दा यत्रो आन्दोलन भयो, यसमा गर्व गर्छु' भनेका थिए।
उनले विभिन्न महँगा ब्रान्डका सामानको बक्सको 'क्रिसमस ट्री' बनाएर सामाजिक सञ्जालमा फोटो राखेका थिए। 'नेपो किड ट्रेन्ड' मा सो फोटो भाइरल भएको थियो। त्यही सन्दर्भ जोड्दै सौगातले अन्तर्वार्तामा आफ्नो फोटोका कारण जेनजी आन्दोलनमा सहयोग पुगेको र यसलाई सकारात्मक रूपमा लिएको बताएका थिए।
त्यही भनाइ गलत हो भनेर आफूले फोनमा सुनाएको र त्यही रिसमा सौगात हतियारधारी पिएसओका साथमा धम्क्याउन आएको मञ्जीवले बताए।
उक्त धम्कीको रेकर्ड र सिसिटिभी फुटेज पनि रहेको उनले बताए।
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिनेशप्रसाद आचार्यले यसबारे आन्तरिक रूपमा बुझ्ने काम भइरहेको बताए।
'हामीले पनि बाहिर सुनेर थाहा पाएका हौं, आन्तरिक रूपमा बुझ्ने काम भइरहेको छ,' डिआइजी आचार्यले भने, 'अहिलेसम्म कोही पनि मलाई पिएसओ लिएर आएर धम्क्यायो भनेर आउनुभएको छैन। कसैको कम्प्लेन गरेको छैन।'
मन्त्री थापाले पाएको पिएसओ सुविधा अरू व्यक्तिले दुरूपयोग गर्न भने नपाउने उनले बताए।
यस विषयमा मन्त्री थापाका छोरा सौगातले आफूले कुनै धाकधम्की नदिएको बताए। लेकसाइडको क्याफे अरेबिकामा भेटघाट गरेको र हात मिलाएर निस्केको उनको दाबी छ।
'मैले कुनै धाकधम्की दिएको छैन, हामी हात मिलाएर उठेका हौं,' उनले भने, 'उहाँले मेरो चरित्र हत्या गर्ने काम गर्नुभयो।'
बुबाको पिएसओ लिएर गएको विषयमा सोध्दा उनले पिएसओ छुट्टीमा रहेकाले सँगसँगै गएको बताए। तर पिएसओसँग हतियार नभएको दाबी उनले गरे।
'बुबाका दुई जना पिएसओ हुनुहुन्छ, सट्टाफेर ड्युटी बस्नुहुन्छ,' उनले भने, 'छुट्टीमा भएका बेला एक जना पिएसओ मसँग जानुभएको हो, तर उहाँसँग कुनै हतियार थिएन।'
***