सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको सरकारी वकिलको कार्यालयले अमेरिकी दूतावासका एक कर्मचारीसँग उनको मेसेज कुराकानीलाई पनि प्रमाण बनाएको पाइएको छ।
भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा सोमबार महराविरूद्ध मुद्दा दायर गरिएको हो। उनलाई ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महरालाई आइतबार पक्राउ गरेको थियो।
भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा दर्ता भएको अभियोगमा महराले अमेरिकी दूतावासका कर्मचारीसँग मोबाइलमा गरेको मेसेज कुराकानीलाई नयाँ प्रमाणका रूपमा पेस गरिएको छ।
सुन तस्करीको आरोप खेपिरहँदा र अनुसन्धान जारी रहँदा महराले काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत तपेश गुप्तालाई सम्पर्क गरेको भेटिएको हो। गुप्ताको मोबाइलमा गरिएको मेसेज कुराकानीमा महराले आफूसँग राजनीतिक बदला लिइएको आरोप लगाएका छन्।
'सरकार र प्रहरीसँग सुन तस्करीसँग सम्बन्धित कुनै पनि प्रमाण छैन। यो म र मेरो छोराविरूद्ध कुनै तत्वले लिएको राजनीतिक बदला हो। मैले घटनाको सत्यतालाई प्रेस रिलिज र पत्रकार सम्मेलनमार्फत प्रेस र सामाजिक सञ्जालमा दिइसकेँ,' उनले गुप्तालाई अंग्रेजीमा मेसेज गरेका थिए, 'प्लिज, मेराबारे कुनै पनि प्रकारको भ्रममा नपर्नुहोला… सरकार र प्रहरीसँग मेराविरूद्ध कुनै पनि प्रमाण छैन।'
उनले आफ्ना छोरा राहुल पनि निर्दोष रहेको बताउँदै पहल गर्नुपर्ने समेत बताएका छन्।
'जहाँ आवश्यक पर्छ र जहाँ पहुँच छ त्यहाँ तपाईंले कुरा गर्नुपर्छ। विशेषगरी पश्चिम र दक्षिण…,' महराले मेसेजमा लेखेका छन्।
महराले पठाएको यो मेसेजलाई सिआइबी र सरकारी वकिलले 'सुन तस्करीको अभियोगबाट मुक्ति पाउन आधार प्रमाणको सहारा नलिई बाह्य शक्तिको सहयोग लिन खोजेको' विश्लेषण गरेका छन्।
'च्याट संवादहरूको अर्थ सुनको अवैध पैठारीको आरोपबाट सफाइ पाउने आधार प्रमाण प्रस्तुतिबाट होइन, बाह्य शक्तिको सहयोगबाट छुटकारा पाउनेतर्फ विश्वस्त र प्रयत्नरत रहेको भन्ने देखिएको,' अभियोगपत्रमा भनिएको छ।
तपेश गुप्ता भन्ने व्यक्ति दूतावासमा कार्यरत दोभाषे रहेको पनि अभियोगपत्रमा उल्लेख छ।
नेपालमा सुन तस्करी गर्ने प्रमुख व्यक्ति चिनियाँ नागरिक दाओजिन वाङ हुन्। उनीसँग महराको लामो समयदेखि सम्बन्ध रहेको सिआइबीको निष्कर्ष छ।
भन्सारले भेप जफत गरेपछि महराले भन्सारका प्रमुख प्रशासकलाई पटक पटक फोन सम्पर्क गरेको आरोप छ। त्यस्तै, महराले दाओजिन वाङसँग पटक पटक फोनमा कुराकानी गरेको र त्यही सम्पर्कलाई निरन्तरता दिँदै वाङले सुन तस्करी सुरू गरेको अभियोगपत्रमा भनिएको छ।
वाङको तस्करीमा महराले राजनीतिक संरक्षण र सहयोग समेत गरी राज्यशक्ति दुरूपयोग गरेको आरोप पनि छ।
महराका लागि भने वाङ फलफूल व्यापारी मात्र हुन्। आफू सञ्चारमन्त्री हुँदा वाङ फलफूल लिएर बधाई दिन आएको महराले बयानमा बताएका छन्।
'वाङ फलफूल लिएर मलाई बधाई दिन म बस्ने गरेको घरमा आएका थिए। त्यही बेला मैले चिनेको हुँ,' महराले बयानमा भनेका छन्, 'उनलाई मलाई आफू फलफूल व्यापारी हुँ भनी बताएका थिए। मैले उनलाई फलफूल व्यापारीका रूपमा मात्र चिनेको हुँ।'
महराले उनीसँग कुनै पनि व्यवसायमा साझेदारी नरहेको पनि दाबी गरेका छन्।
उनले भेपबारे बुझ्न भन्सारका प्रमुख प्रशासक अरूण पोखरेलसँग एक पटक कुराकानी गरेको बताए। उक्त कुराकानीमा सामान वैध–अवैध के हो र कानुन बमोजिम गर्न मिल्ने–नमिल्नेबारे सोधेको पनि महराले बयानमा भनेका छन्।
पुर्पक्षका लागि थुनामै रहेका राघव राव पाण्डुरङ मरगलेले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयान पनि महराविरूद्ध प्रमाणका रूपमा प्रस्तुत गरिएको छ। उनले बयानमा भनेका थिए, 'मैले सुने अनुसार सुन तस्करीमा महरा र फरार चाइनिजहरूको लगानी छ।'
२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा ठूलो संख्यामा भेप ल्याएका थिए। त्यसमा ९ किलो सुन थियो। त्यो सुन विमानस्थलकै भन्सारबाट चोरी भएपछि मात्र सुन तस्करीबारे खुलेको थियो।
सिआइबीले थालेको अनुसन्धानमा महराको सम्बन्ध ती चिनियाँ नागरिकसँग रहेको देखियो। सिआइबीले उक्त सम्बन्धलाई आफ्नो चार्टमै प्रस्तुत गरेको भए पनि मुद्दा चलाइएन। पछि सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई समेत मुद्दा चलाउनुपर्ने राय दिएको थियो।
सिआइबीले महरालाई २०८० चैत ५ गते कपिलवस्तुबाट पक्राउ गरेको थियो। त्यति बेला उनलाई मुद्दा चलाइएको थिएन। बयान लिएर हाजिर जमानीमा छाडिएको थियो।
अहिले सिआइबीले पुन: पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको हो।