राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि आगामी प्रतिनिधिसभा निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्।
शुक्रबार शीतल निवासमा आयोजित अन्तरिम सरकार सहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै राजनीतिक दलहरूलाई केन्द्रित हुन आग्रह गरेका हुन्।
राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षा सबै दलको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै शान्ति, सुरक्षा र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार जिम्मेवार हुनुपर्ने बताए।
उनका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले निष्पक्ष र भयरहित निर्वाचनका लागि आवश्यक तयारी र सुरक्षा प्रत्याभूति गर्न सरकारलाई सुझाव दिएका थिए।
उनले राजनीतिक दलहरूबीच कुनै दुविधा वा अस्पष्टता भए खुलस्त छलफल गरी समाधान खोज्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्ने प्रयास देश र लोकतन्त्र दुवैका लागि घातक हुने बताए।
राष्ट्रपतिले दलहरूलाई जनतामाझ स्पष्ट सन्देशका साथ जान, जेन-जेड पुस्ताले उठाएका माग र असन्तुष्टिलाई आत्मसात् गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन आह्वान गरेका थिए।
बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्रीहरू सहभागी थिए।
सर्वदलीय बैठकमा सहभागी राजनीतिक प्रतिनिधिहरूमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी थिए।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डिपी अर्याल र सह–महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी थिए।
अन्य दलहरूबाट जनता समाजवादी पार्टीकी रेनु यादव, जसपा नेपालका विद्युत बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीका चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीका ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी तथा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति सहभागी थिए।