प्रबुद्ध नागरिकहरूको समूहले राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण हुन आवश्यक रहेको बताएका छन्।
बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले आजको जटिल परिस्थिति उत्पन्न हुनुको मूल कारक राजनीतिक दलका नेतृत्व तहको कार्यशैली र गम्भीर वैचारिक विचलन नै भएको बताएका छन्।
त्यसैले विगतमा नेपालको राजनीतिक–सामाजिक रूपान्तरणका लागि योगदान गरेका दलहरूले समयको माग सम्बोधन गर्न, जनताको विश्वास पुनः प्राप्त गर्न, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण गर्न र गराउन राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण हुन अत्यावश्यक भइसकेको उनीहरूले बताएका हुन्।
'नयाँ नेतृत्वका लागि नेतृत्व स्वयं अग्रसर भई मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो अभिमत छ,' २३ जनाले संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ।
हेर्नुस् पूरा विज्ञप्तिः
लोकतान्त्रिक हक–अधिकारका लागि नेपालको इतिहासमा ठूला ठूला संघर्ष र परिवर्तन भएका छन्।
त्यही गौरवशाली परम्परा अघि बढाउने नवयुवाको वर्तमान विद्रोहपछिको परिस्थितिमा कुनै पनि बहानामा नागरिक, राजनीतिक र सामाजिक अधिकारहरू कुण्ठित गरिनु हुँदैन भन्ने मान्यता राख्दै र यस चुनौतीपूर्ण घडीमा आफ्नो नागरिक दायित्ववोध गरी तत्कालका निम्नलिखित विषयहरूमा सरकार, जेनजी र राजनीतिक दललाई गम्भीर चिन्त्ता र सरोकारसहित ध्यानाकर्षण गर्न चाहन्छौं।
१. जेनजी नवयुवाहरूले समग्र पुस्ताका आम जनभावनाको प्रतिनिधित्व गर्दै भ्रष्टाचारको विरोध र सुशासनको माग पूरा गराउन गरेको आन्दोलन र शहादतपछिको असाधारण परिस्थितिमा बनेको वर्तमान अन्तरिम सरकारले संवैधानिक सीमाभित्र रहेर नवयुवा पुस्ताको जायज माग पूरा गर्ने प्रतिबद्धताको हामी स्वागत गर्छौं।
२. तर यस आन्दोलनका क्रममा भएको घुसपैठले गर्दा हिंसात्मक बन्न पुगेको प्रदर्शन, प्रदर्शनमाथि गरिएको क्रुर सरकारी दमन र त्यसपश्चातका अराजकतापूर्ण घटनाको हामी तीव्र भर्त्सना गर्छौं। निजी निवास, सरकारी भवन, राजनीतिक दलका कार्यालय, अदालत, सञ्चार गृह र उद्योग प्रतिष्ठानमाथिका लुटपाट र आगजनी तथा सुरक्षा निकाय र सुरक्षाकर्मीमाथि भएका आक्रमण तथा राज्य पक्षबाट भएको हत्या, हिंसाका लागि जिम्मेवार व्यक्तिहरूलाई तुरून्त छानबिन गरी कानुनको दायरामा ल्याई कारबाही गरिनुपर्छ।
यस क्रममा आगजानी र तोडफोडमा संलग्नलाई तत्काल कारबाही नगरिने आशयको सरकारद्वारा जारी निर्देशन तत्काल खारेज गरिनुपर्छ। आन्दोलनकारी र विध्वंशकारीहरूलाई छुट्याई तदनुसार कारबाही नगरे सरकारले दण्डहीनतालाई प्रश्रय दिएको ठहरिने छ।
३. संवैधानिक सर्वोच्चता र कानुनीराजको मान्यता विपरीत हुने गरी नेपालका प्रधान न्यायाधीश र संवैधानिक अंगका पदाधिकारीहरूका विरूद्ध सिर्जना गरिएको भय, त्रास र अनिश्चिततापूर्ण परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गर्दै यस्तो परिरिस्थिति अन्त्य गर्न सरकारसँग माग गर्छौं।
साथै भ्रष्टाचारको आरोपमा संलग्न व्यक्तिहरूमाथि अविलम्ब छानबिन गरी कानुनी प्रक्रिया सुरू गर्न पनि सरकारलाई सचेत गराउन चाहन्छौं। र, सो प्रक्रियामा सहयोग गर्न राजनीतिक दलहरूको पनि ध्यानाकर्षण गराउँछौं।
४. संवैधानिक प्रक्रिया यथाशक्य चाँडो सुसञ्चालन गर्न तोकिएको मिति २०८२ फागुन २१ गतेको निर्वाचनमा उत्साहपूर्वक मतदान हुन सक्ने वातावरण निर्माण गर्न शान्ति र अमन चयन कायम राख्न विशेष ध्यान पुर्याउँदै राजनीतिक दल, जेनजी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं। राजनीतिक दलहरूलाई चुनावमा भाग लिन नदिने जस्ता अस्वाभाविक र त्रासपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ।
५. संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने अग्रगामी दलहरूमा आन्तरिक लोकतन्त्रको अभाव, नेतृत्वमा भ्रष्टाचारप्रतिको शून्य सहनशीलता, सिद्धान्त र विचारको मार्गदर्शनभन्दा जसरी पनि सत्तामा टिकिरहने मोहका कारण जनआक्रोशको शिकार बन्दै गएको यथार्थ दलहरूले स्वीकार गर्न आवश्यक छ।
यस परिस्थितिमा दलहरूले विगतका गल्ती कमजोरी र विचलनको गम्भीर समीक्षा गरी जनतासँग क्षमा माग्दै, आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन, जनप्रतिबद्ध नीति तथा वैचारिक सर्वोच्चता कायम गर्दै अविलम्ब आफ्नो आन्तरिक लोकतान्त्रीकरणको प्रक्रिया तीव्र बनाई जबाफदेही, विकेन्द्रीत एवं सामूहिक नेतृत्वप्रणाली स्थापित गर्नु आवश्यक छ।
उपरोक्त कार्यभार पूरा गर्न गराउन तथा राजनीतिमा युवा पुस्ताको संलग्नता बढाउँदै पार्टीलाई अविलम्ब पुनर्जीवन दिनु अत्यावश्यक भएकाले दलका पहिलो पुस्ताका नेतृत्व अब आफै अग्रसर हुनुपर्छ।
आजको जटिल परिस्थिति उत्पन्न हुनुको मूल कारक राजनीतिक दलका नेतृत्व तहको कार्यशैली र गम्भीर वैचारिक विचलन नै भएकाले विगतमा नेपालको राजनीतिक–सामाजिक रूपान्तरणका लागि योगदान गरेका दलहरूले समयको माग सम्बोधन गर्न, जनताको विश्वास पुनः प्राप्त गर्न, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको संरक्षण गर्न गराउनका लागि राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण हुन अत्यावश्यक भइसकेको छ।
तसर्थ नयाँ नेतृत्वका लागि नेतृत्व स्वयं अग्रसर भई मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो अभिमत छ।
१. लोकराज बराल
२. गणेशमान गुरुङ
३. रत्नसंसार श्रेष्ठ
४. उपेन्द्र कोइराला
५. सुशील प्याकुरेल
६. चण्डेश्वर श्रेष्ठ
७. कनक दीक्षित
८. रेणु अधिकारी
९. शरद वन्त
१०. महेश मास्के
११. परशुराम तामाङ
१२. शंकर सुवेदी
१३. झलक सुवेदी
१४. कुन्दन अर्याल
१५. टीकाराम भट्टराई
१६. शोभाकर बुढाथोकी
१७. उषा झा
१८. गीता त्रिपाठी
१९. राधिका खतिवडा
२०. भागिराम चौधरी
२१. राजेन्द्र महर्जन
२२. चूर्णबहादुर चौधरी
२३. बिन्दु शर्मा