अमेरिकाले 'एच–१ बी' भिसामा कडाइ गरेपछि विदेशी प्राविधिक प्रतिभा आकर्षित गर्न चीनले यसै साता सुरू गरेको नयाँ भिसा कार्यक्रमको चीनभित्रै विरोध हुन थालेको छ।
हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले एच–१ बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम लगाएका छन्।
अमेरिकाले विज्ञान, प्रविधि लगायत क्षेत्रका दक्ष विदेशी जनशक्ति भित्र्याउन एच–१बी भिसा प्रयोग गर्छ। ट्रम्पले सो भिसामा कडाइ गरेपछि संसारभरिका दक्ष जनशक्तिलाई अमेरिका जान मुस्किल हुनेछ। ती जनशक्ति आकर्षित गर्न चीनले नयाँ 'के' भिसा ल्याएको हो।
तर सो भिसाको चीनमा विरोध हुन थालेको भनेर द फाइनान्सियल टाइम्सले जनाएको छ। सो योजनाले चीनमा राष्ट्रवादी र कतिपय अवस्थामा विदेशीद्वेषी प्रतिक्रिया उत्पन्न गरेको छ।
विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका (स्टेम) युवा स्नातकहरू लक्षित यो भिसाले ती विषयमा भर्खरै पढाइ सकेका चिनियाँलाई काम पाउन समेत गाह्रो हुने चिन्ता बढेको छ।
चीनमा युवा बेरोजगारी दर अगस्टमा बढेर झन्डै १९ प्रतिशत पुगेको थियो। यो दुई वर्षयताकै उच्च हो।
संसारमा सबभन्दा धेरै इन्जिनियर उत्पादन गर्ने चीनमा दक्ष इन्जिनियरहरूको कमी छैन। केही अनलाइन टिप्पणीकर्ताहरूले करोडौं स्टेमका स्नातक उत्पादन गर्ने देशलाई विदेशी प्रतिभाको योजना किन चाहियो भनी प्रश्न उठाएका भनेर टाइम्सले लेखेको छ। यदि चीनसँग स्रोत छ भने किन आफ्नै प्रतिभाको कदर नगर्ने भनेर सोधेका छन्।
कतिले भने एच–१बी भिसा पाउनेमध्ये लगभग ७० प्रतिशत भारतीय रहेको भन्दै उनीहरूलाई आकर्षित गर्न नयाँ भिसा कार्यक्रम ल्याउनु पाँच वर्षअघि दक्षिणी छिमेकीसँगको सीमा झडपमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूप्रति धोका हुने टिप्पणी गरेका छन्।
यस्ता प्रतिक्रिया आएपछि सरकार रक्षात्मक बनेको र यो साताभरि नै सरकारी सञ्चार माध्यमहरूले योजनाको बचाउमा लेखहरू प्रकाशित गरेको टाइम्सले जनाएको छ।
अमेरिकासँगको भू–राजनीतिक प्रतिस्पर्धामा चीनलाई मद्दत गर्ने अपेक्षा गरेर चीनले के भिसा सुरू गरेको हो।
अमेरिकाले विदेशका दक्ष जनशक्तिलाई पनि प्रवेश गर्न अप्ठ्यारो पारेको बेला चीनले आफूलाई विदेशी लगानी र प्रतिभा दुवैलाई स्वागत गर्ने देशको रूपमा देखाउन यो कदम चालेको हो।
पछिल्लो समय चीनले विदेशी लगानी र यात्रु आकर्षित गर्न विभिन्न उपाय अपनाएको छ। विदेशी लगानीकर्ताका लागि थप क्षेत्रहरू खुला गरेको छ भने अधिकांश युरोपेली देश, जापान र दक्षिण कोरिया लगायत देशका नागरिकलाई भिसा छुटको सुविधा दिएको छ।
यसले अमेरिकाले बाधा खडा गरिरहेको बेला चीनले भने घटाइरहेको भनेर शक्तिशाली सांकेतिक सन्देश दिएको छ।
अगस्टमा घोषणा गरिएको के भिसाले विदेशबाट युवा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका (स्टेम) युवा स्नातकहरूलाई लक्षित गरेको छ। यसले रोजगारदाताबाट कामको प्रस्ताव नभए पनि प्रवेश, बसोबास र रोजगारीको अनुमति दिने वाचा गरेको छ। अमेरिकी रोजगारीको विकल्प खोजिरहेका दक्ष विदेशी कामदारका लागि यो आकर्षक हुन सक्ने समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्पले यसै महिना एच–१बी भिसा अन्तर्गत दक्ष विदेशी कामदार भित्र्याउन प्राविधिक कम्पनीहरूले अमेरिकी सरकारलाई १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने नियम घोषणा गरेका थिए।
विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कदेखि लिएर केही ठूला प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले समेत सुरूमा एच–१बी भिसामै अमेरिकामा काम गरेका थिए।
विश्वका यस्ता उत्कृष्ट प्रतिभा आकर्षित गर्ने एच–१बी भिसामा कडाइ गरेर अमेरिकाले आफ्नै खुट्टामा बञ्चरो हानेको टिप्पणी कतिपय विश्लेषकले गरेका छन्।
यस्तो बेलामा ती दक्ष जनशक्ति आकर्षित गर्न चीनले सुरू गरेको के भिसाको चीनभित्र भने विरोध भएको हो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)