राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले ठूलो जोखिमबीच सभापतिलाई लिन जाने प्रसंग ‘नख्खु प्रकरण’ बन्नु दुःखद् भएको बताउँदै यस प्रकरणको छानबिन आवश्यक रहेको बताएका छन्।
उनले मंगलबार र बुधबार चलेको पार्टी केन्द्रीय समितिमा आफ्नो तर्फबाट राजनीतिक दृष्टिकोणलाई प्रस्तावका रूपमा अघि सार्दै आफूमाथि पनि छानबिन गर्न भनेका हुन्।
बुधबार सकिएको रास्वपा केन्द्रीय समिति बैठकले नख्खु प्रकरणसहित भदौ २४ गतेको घटनामा पार्टीका सदस्यहरू जोडिएकोबारे छानबिन गर्न समिति बनाउने पनि निर्णय गरेको छ।
‘कुनै पनि परिघटनाका सन्दर्भमा दुईवटा महत्त्वपूर्ण पक्ष हुन्छन्, नियत र नियति। नख्खु कारागारबाट सभापति रवि लामिछानेलाई सुरक्षाको कारण बाहिर निकालिएको घटनामा समेत पार्टीले आलोचना भोग्नुपर्ने नियतिमा हामी पुगेका छौं। इतिहासले सदैव सिकाएको एउटा पाठ के हो भने नियतिको लडाइँमा नियत सही राख्नुपर्छ जतिसुकै प्रहार आए पनि,’ उनले प्रस्ताव अघि सार्दै भनेका थिए।
उनले ठूलो जोखिमबीच सभापतिलाई लिन जाने प्रसंग ‘नख्खु प्रकरण’ बन्नु आफैमा दुःखद भएको बताएका छन्। यस घटना सम्बन्धमा दुराभाव नराखेर, जानेर नजानेर भएका सबै गल्तीहरूबाट पाठ सिक्ने गरी पार्टीले केही महत्वपूर्ण पक्षमा ध्यान दिनपर्ने भन्दै उनले तीनवटा सन्दर्भ उठाएका थिए।
पहिलो उनले कारागार प्रशासनले ‘हामी सुरक्षा दिन सक्दैनौं, आफन्तको जिम्मा लिनुहोस्’ भनेको असामान्य तथ्यमा आधारित घटनामा पनि पार्टी डिफेन्सिभ हुने स्थितिमा किन पुग्यो भन्दै प्रश्न गरेका थिए।
दोस्रो चरम प्रतिशोधको सिकार बनाइएका सभापतिलाई यो प्रसंगमा पनि थप कमजोर बनाउने नियोजित प्रयास भयो कि भएन भन्दै जबाफ माग गरेका थिए।
तेस्रो जुनसुकै तह तप्काका नेताकार्यकर्ता यदि भीड उक्साउने, उत्तेजित पार्ने, आगजनी–तोडफोड गर्ने वा कुनै गैरकानुनी कार्यमा प्रत्यक्ष वा परोक्ष संलग्न देखिए ढिला नगरी अनुशासनको कारबाहीको दायरामा ल्याउनुपर्ने उनको धारणा छ। अनुशासनको मानक पार्टीभित्र सबैका लागि एक हो भन्ने विश्वास दिलाउन पार्टी चुक्न नहुने पनि बताएका थिए।
‘त्यो दिन आफूभन्दा माथिको नेतृत्व र सभापतिको परिवारबाट फोन आइसकेपछि आफू त्यहाँ पुगेका कारण त्यहाँको वस्तुस्थिति र त्यसको बहुआयामिक तथ्य बारे आफ्नो पक्ष अर्को दस्तावेजमा उल्लेख गरेको छु। त्यो परिघटनामा ममाथि पनि अनुसन्धान हुनुपर्छ भन्ने कुरामा म प्रष्ट छु,’ उनले भनेका थिए।
प्राइमरी इलेक्सनको छानबिन
सहमहामन्त्री विपिनकुमार अचार्यले रूपन्देही–३ को उम्मेदवार छनोटमा अवलम्बन गरिएको प्राइमरी इलेक्सनमा उठेका प्रश्नको पनि जबाफ दिएका थिए। हरेक पटक प्रारम्भिक निर्वाचन हुँदै गर्दा निर्वाचनमा गडबडी भयो भनेर आरोप लाग्ने गरेकोसमेत उल्लेख गरेका थिए।
‘त्यो गडबडीको नेतृत्व केन्द्रमा बसेकाहरूले गरे। टेक्निकल ग्लिच र टेक्निकल फाउल प्ले फरक कुरा हो भन्ने नबुझी जिम्मेवारी लिनेहरू नै गडबडीमा संलग्न छन् भन्ने भाष्य सिर्जना गर्न थालियो भने पार्टीमा टेक्निकल होस् वा ननटेक्निकल नयाँ विधिहरू कहिले पनि स्थापित हुन सक्दैनन्। वस्तुपरक नभई काम गर्नेहरूमाथि बिनातथ्य लाग्ने आरोपहरूको सही निरुपण हुन सकेन भने इमान्दार मेहनत गर्नेहरूको मनोबल घट्ने निश्चित छ,’ उनले भनेका थिए।
यो परिप्रेक्ष्यमा रूपन्देही– ३ को प्रारम्भिक निर्वाचनसँग जोडिएका टेक्निकल र नन टेक्निकल पक्षहरूको निष्पक्ष छानबिन गरिनुपर्ने पनि बताए।
‘पार्टी सदस्यहरूको युजर नेम र पासवर्ड दुरुपयोग गरी मत चोरी गर्ने विषय लगायतका अन्य पक्षहरूमा दोषी जोसुकै भए पनि कारबाही गर्नुपर्छ,’ उनले भनेका थिए।


