निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आजभन्दा ठ्याक्कै एक वर्षअघि भनेका थिए, 'म छिट्टै महिला प्रधानमन्त्री बनाउने तयारीमा छु।'
उनले २०८१ भदौ ८ गते काठमाडौंमा आयोजित युथ कन्क्लेभमा सहभागीहरूको प्रश्नको जबाफ दिँदै भनेको उक्त कुरा फरक राजनीतिक सन्दर्भमा भए पनि सत्य साबित भएको छ।
त्यति बेला ओलीको भनाइ थियो, 'म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ। दुई, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुस्किल हुन सक्छ, छिट्टै बनाउने तयारीबारे सोचिरहेको छु।’
भविष्यमा हुने घटनाक्रमको अनुमान लगाउन सके पनि ठोकुवा गर्न कसैले सक्दैन। राजनीतिमा त झन् भविष्यवाणी त्यति मिल्दो र सुहाउँदो कुरा होइन। तर कहिलेकाहीँ राजनीतिमा यस्ता भविष्यवाणी मिल्ने गरेका छन्।
त्यसैको एउटा उदाहरण ओलीको एक वर्षअघिको भनाइ र अहिले नेपालकी प्रथम महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीको नियुक्ति हो।
भदौ २३ गते माइतीघरबाट सुरू भएको जेन–जी युवाहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनले त्यसै दिन १९ जनाको ज्यान गएपछि ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। यो आन्दोलनमा मृत्यु हुनेको संख्या अहिलेसम्म ५१ पुगेको छ।
यो घटनापछि उत्पन्न राजनीतिक परिस्थितिका कारण जेन–जी आन्दोलनकै बलमा सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन्। उनलाई प्रधानमन्त्री बनाउन जेन–जी युवाहरूले नै सिफारिस गरेका थिए।
उथलपुथलकारी राजनीतिक घटनाकै कारण सही, कार्कीलाई पहिलो महिला प्रधानमन्त्री बनाउने महत्त्वपूर्ण कारक केपी ओली नै बनेका छन्।
यहाँ अर्को रोचक संयोग के छ भने, सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नमा निवर्तमान प्रधानमन्त्रीका रूपमा ओलीकै 'सिफारिस र सम्मति' रहेको छ।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा 'राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिका आधारमा' कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।
उक्त विज्ञप्तिमा भनिएको छ — 'राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले मुलुकमा उत्पन्न विषम तथा असाधरण परिस्थितिलाई सम्बोधन गर्दे युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकंक्षानुसार राजनीतिक दल तथा सरोकारवालाहरूसँगको परामर्श समेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिका अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिवन्धात्मक व्यवस्था बमोजिम ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशिला कार्की (मोरङ)लाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।'
भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन–जी युवाहरूले सुरू गरेको आन्दोलनले एमाले अध्यक्ष ओली नेतृत्वको सत्ता पलट भएपछि पूर्वप्रधानन्यायाधीश कार्की मुलुकको पहिलो महिला प्रधानमन्त्री बनेकी हुन्।
शपथलगत्तै उनले संसद विघटनको सिफारिस गरिन्, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरिसकेका छन्। फागुन २१ गते नयाँ निर्वाचन गर्ने घोषणा भइसकेको छ।
युथ कन्क्लेभमा बोल्ने क्रममा ओलीले आफूले नै पहिलो महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश बनाएको बताएका थिए।
पहिलो महिला राष्ट्रपति एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी बनेकी थिइन्। उनी २०७२ देखि २०७९ सम्म दुईपटक राष्ट्रपति बनिन्।
त्यस्तै, सभामुख ओनसरी घर्ती नयाँ संविधान जारी भएपछि २०७२ असोज २९ देखि २०७४ माघ ५ गतेसम्म सभामुख बनेकी थिइन् भने पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की बनेकी थिइन्।
'म कमसे कम यस्तो सौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो,' ओलीले त्यति बेला भनेका थिए।
त्यसो त पहिलो रक्षामन्त्री पनि एमालेले नै बनाएको थियो। तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी माधवकुमार नेपाल नेतृत्वको सरकारमा रक्षामन्त्री बनेकी थिइन्।