जेनजीको प्रदर्शन उग्र बन्दा तोडफोड र आगजनीले ध्वस्त पारिएको तुलसीपुर उपमहानगरपालिकामा बिहीबार बिहानसम्म आगो पुत्याइरहेको छ।
प्रदर्शनका नाममा उपमहानगरकापालिको दमकल, पानी बोक्ने ट्याङ्कर, कार्यालयको अण्डरग्राउण्डमा पार्किङ गरी राखिएका सवारी साधन लगायत जलएर ध्वस्त पारिएका छन्। उपमहागनरपालिकाको बाहिर पार्किङ गरी राखिएका सवारी साधन पनि खरानी भएका छन्।
उपमहानगरपालिकाका तीन वटै भवन क्षतविक्षत अवस्थामा छन्। नवनिर्मित साततले तुलसी टावर पनि ढुंगामुडा गरी अधिकांश सिसाहरू तोडफोड गरिएका छन्। सबभन्दा क्षति मेयरको कार्यकक्ष रहेको दुई वर्षअघि मात्रै उद्घाटन गरिएको नयाँ भवनमा पुगेको छ। जुन भवनको तेस्रो र चौथो तलामा बिहीबार बिहानसम्म आगो पुत्ताइरहेको देखिन्थ्यो।
दमकलका साथै पानी बोक्ने ट्यांकर पनि खरानी पारिएको हुँदा उपमहानगरका सरसफाइ गरिराखेका कर्मचारी डम्बर चौधरी लगायतका केही कर्मचारीले बाल्टिनमा पानी बोकेर तेस्रो तल्लामा बलिरहेको आगो निभाउन प्रयास गरिरहेका थिए।
चौधरीले एउटा शाखामा लागेको आगो बाल्टिनबाट पानी बोकेरै निभाएको र एउटा अर्को शाखाको आगो निभाउन आफूहरू लागिपरेको बताए।
‘आफूले काम गर्ने संस्था यसरी जलेको देखेर मन भक्कानिएको छ,’ उनले भने, ‘यो भवनले कसको के बिगारेको थियो र! थाहा छैन यहाँ आगो झोसेर कसले के प्राप्त गरे?’
कार्यालय परिसरमा भेटिएका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले पुरानो भवनमा आफूहरूको शाखा सञ्चालन हुँदै आएको ठाउँमा आगजनीबाट त्यति ठूलो क्षति हुन नपाएको भए पनि रातको समयमा बचेका कम्प्युटर र ल्यापटपहरू कर्फ्यू लागेकै समयमा चोरी भएको पाइएको बताए।
‘हामीले रातिमा सुरक्षाको लागि नगर प्रहरी राख्न खोज्दा सेनाले पर्दैन हामी सुरक्षा दिन्छौं भनेका थिए,’ उनले भने, ‘तर, कर्फ्यूकै बीचमा रातिमा एउटा आगजनीबाट जोगिएको ल्यापटप तथा महत्वपूर्ण सामान चोरी भएको पाइएको छ।’
शिक्षा शाखामा आगजनीले क्षति पुग्न नसकेको एउटा ल्यापटप फेला परेको हुँदा बुधबार त्यसलाई भने आफूहरूले लगेर सुरक्षित राखेको उनले बताए। त्यस्तै, उनले एउटा ल्यापटप तोडफोड भएको अवस्थामा फेला परेको बताए।
उपमहानगरका जनस्वास्थ्य शाखा प्रमुख बिमल केसीले पनि पुरानो भवनमा रहेका आफ्नो शाखामा राखिएका सम्पूर्ण औषधि, बालस्वास्थ्य कार्यक्रमका सम्पूर्ण खोपहरू, फ्रिजहरू लगायत संघीयता पछिका सम्पूर्ण महत्वपूर्ण कागजात नष्ट भएको अवस्था रहेको बताए।
बिहीबार बिहान साढे ८ बजेतिर उपमहानगरपालिका पुग्दा बाहिर सडक र कार्यालय परिसरमा कर्मचारीका साथै सर्वसाधारण मानिसहरूको बाक्लो उपस्थिति थियो।
तुलसीपुरस्थित साबिक राप्ती अञ्चलस्तरीय आन्तरिक राजस्व कार्यालय पनि आगजनी र तोडफोडबाट ध्वस्त प्राय: पारिएको छ।
सल्यान रोडस्थित कार्यालयमा फेला परेका तुलसीपुर – ४ वनहरीका एक जना शिक्षकले आन्तरिक आगो लगाई ध्वस्त पारिएको आन्तरिक राजस्व कार्यालयको अवस्थाले मर्माहत तुल्याएको बताए।
राप्ती राजमार्ग अन्तरगत सल्यान रोडमा पर्ने आन्तरिक राजश्व कार्यालय ‘ग’ लाइनमा पर्ने उपमहानगरपालिका, राप्ती राजमार्ग अन्तरगत दक्षिणको शितलपुर सडक खण्डमा पर्ने उच्च अदालत तुलसीपुर, नजिकैको मालपोत कार्यालय, लोक सेवा आयोगको कार्यालय अगाडि सडकमा जलाएका सवारी साधानका भग्नावशेष अझै सडकखण्डमै छन्। ती भग्नावशेषहरू देख्दा यस्तो लाग्थ्यो तुलसीपुरमा लामो समय ठूलो बमबारी वा हिंसात्मक द्वन्द्व चलेको थियो। तर, यी सबै आगजनी र तोडफोड एकैदिन भदौ २४ गतेका दिनमै भएका थिए।
तुलसीपुरको बिपी चोकमा राखिएको बिपीको शालिक तोडफोड गरी फालिएको छ। त्यस्तै मदन आश्रित चोकमा राखिएका उनीहरूका तस्बिरहरू च्यातेर मिल्काइएका छन्। जलाइएका छन्। वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रका शालिकमा पनि कुनै क्षति गरिएको छैन।
तुलसीपुरस्थित नेपाली कांग्रेस र नेकपा एमालेका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी भएका छन्।
कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीको सलयन रोडस्थित घरमा आगजनी गर्नुका साथै घरमा राखिएको एउटा हायस गाडीमा आगजनी गरी ध्वस्त पारिएको छ। आज कतिपय गिरीका समर्थकहरूले कहिलै कुनै लाभको पदमा नपुगेका र पछिल्लो समय केन्द्रीय सदस्य बनेका भए पनि पुर्ख्यौली सम्पत्तिका कारण गरिएको आगजनीको निन्दा गरिरहेका छन्।
अर्का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीको घोराही चोकस्थित घरमा पनि पटक पटक तोडफोडको प्रयासहरू भएका थिए। तर, घरमा बस्ने गिरीकी वृद्ध आमाले बाल्कोनीमा उभिएर हात जोडी याचना गरेपछि तोडफोड र आगजनीबाट जोगिएको थियो। तै पनि घरभित्र रहेका केही फर्निचर, खाद्यान्न लगायतका वस्तुहरू प्रदर्शनकारीले सडकमा ल्याएर फालिदिएका थिए।
त्यस्तै, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको डुम्रीगाउँस्थित दुई वटै घरमा आगजनी र तोडफोड भएको छ। मुख्यमन्त्री बस्ने घरमा पूरै क्षतिग्रस्त पारिएको छ। सम्पूर्ण सरसामान बाहिर निकालेर आगजनी गरिएको छ।
त्यस्तै, क्षति नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल वलीको तुलसीपुर–५ बाहिनी चोकस्थित घर र तुलसीपुर–६ गोलौरास्थित रिसोर्टमा पनि पुर्याइएको छ। घरमा ढुंगामुडा तथा तोडफोड मात्रै भए पनि रिसोर्टमा भने ठूलो क्षति पुगेको छ। रिसोर्टभित्र पानी बोक्ने ट्यांकर, पार्किङमा राखिएको कारमा समेत आगजनी गरिएको छ। रिसोर्टमा पनि आगजनी गरी क्षति पुर्याएको छ।
त्यस्तै, घोराहीस्थित जिल्ला अदालत, घोराही उपमहानगरपालिकाको कार्यालय, नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला पार्टी कार्यालयहरूमा पनि तोडफोड तथा आगजनी गरी क्षति पुर्याइएको छ। यी सबै संरचनामा तोडफोड र आगजनी भइरहँदा प्रहरी प्रशासन भने रमिते मात्रै बनिरहेको थियो। विभिन्न कार्यालय र व्यक्तिका घरमा तोडफोड र आगजनी भइसकेपछि पनि रातिमा त्यस्ता कार्यालयबाट चोरीका घटनाहरू समेत भएका थिए।
-1757578697.jpg)
-1757578696.jpg)
-1757578695.jpg)
-1757578695.jpg)
-1757578694.jpg)
-1757578694.jpg)
-1757578694.jpg)
-1757578694.jpg)
-1757574051.jpg)
-1757574051.jpg)
-1757574050.jpg)
-1757573948.jpg)
-1757573947.jpg)
-1757573949.jpg)
-1757573947.jpg)
-1757573947.jpg)

-1757574052.jpg)