जेन-जीहरूले कपिलवस्तुमा पनि प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित राजनीतिक दलको कार्यालय तथा सरकारी कार्यालय तोडफोड गरेका छन्।
कपिलवस्तु बहुमुखी क्याम्पसबाट निस्किएको युवा विद्यार्थीहरूको जुलुसले सोमबार १९ जना युवा विद्यार्थीहरूलाई गोली हानी हत्या गरेको विरोधमा तौलिहवा बजार परिक्रमा गरेको छ।
आन्दोलित भीडले तौलिहवास्थित जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको पार्टी कार्यालयमा सामान्य तोडफोड गरेका छन्।
त्यस्तै, मालपोत कार्यालय, नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवासमा ढुंगामुढा गरी झ्यालका सिसा फुटाएका छन्।
कपिलवस्तुका ओदारी, जीतपुर, गोरूसिङ्गे, चन्द्रौटा लगायतका स्थानहरूमा समेत युवा विद्यार्थीहरूले प्रदर्शन गर्दै वर्तमान सरकार र संसद विघटन गरी जेन-जी सहितको सर्वदलीय सरकार गठनको माग गरेका छन्।
गुल्मी, नवलपरासी, अर्घाखाँची, पाल्पा लगायतका जिल्लाहरूमा पनि जेन जीहरूको प्रदर्शन जारी छ।