भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूकेश रञ्जितले सुरूआती अग्रता हासिल गरेका छन्।
उनले विगतमा यस क्षेत्रबाट सधैं निर्वाचित हुँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई उछिनेका छन्। अहिलेसम्म प्राप्त मत परिणाम अनुसार यहाँ नेपाली कांग्रेसका किरण न्यौपाने दोस्रो स्थानमा छन् भने नेमकिपाका प्रेम सुवालमा तेस्रोमा छन्।
रास्वपाका रूकेशले ८८८ मत प्राप्त गर्दा उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका न्यौपानेले २३५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।
तेस्रो स्थानमा रहेको नेमकिपाका प्रेम सुवालले ७५ मत प्राप्त गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर खड्काले ६१ र नेकपा एमालेका सोमप्रसाद मिश्रले ५९ मत पाएका छन्।
भक्तपुर–१ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे 'रोहित' ले लगातार पाँच पटक जित हासिल गरेका थिए। अहिले उनको संसदीय उत्तराधिकारी बन्दै प्रेम सुवाल आएका छन्। उनले पनि दुईपटक लगातार जित हासिल गरिसकेका छन्। र, उनी तेस्रो जितको खोजीमा छन्।