राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुखलाई पदबाट हटाउने सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) को निर्णय संवैधानिक व्यवस्थाको दुरूपयोग भएको बताएका छन्।
उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्दै कांग्रेस र एमालेले उनीविरूद्ध प्रस्ताव लैजाने तयारी गर्दै सांसदहरूको हस्ताक्षर लिएका छन्।
‘संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुरयाउनकै लागि उपसभामुख इन्दिरा रानामाथि महाभियोग प्रस्ताव ल्याउने सत्तारुढ दल नेपाली कांग्रेस र एमालेको निर्णय संवैधानिक व्यवस्थाको दुरुपयोग हो,’ लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
संविधानको धारा ९१ मा प्रतिनिधि सभाका सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ।
धारा ९१ को उपधारा ६ को (ग) अनुसार ‘निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा' सभामुख वा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ।