वैदेशिक रोजगारको एक प्रमुख गन्तव्य कुवेतमा केही दिनयता विषादीयुक्त मदिरा सेवनका कारण १२ जना नेपालीको मृत्यु भएको छ। करिब ४० जना बिरामी परेर अस्पताल भर्ना भएका छन्।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अस्पताल भर्ना भएकामध्ये १५ जना आइसियुमा छन्। केहीको डायलासिस सेन्टरमा उपचार भइरहेको छ भने कतिपय सामान्य अवस्थामा छन्।
कुवेतमा मदिरा सेवन र उत्पादन गर्न पाइँदैन। लागुऔषध तथा मदिराजन्य पदार्थ निषेध छ। तैपनि नेपाली लगायत अन्य देशका आप्रवासी श्रमिकले मदिराजन्य पदार्थ सेवन गरेका र त्यही कारणले ज्यान गुमाएका वा बिरामी परेका घटना बाहिरिन्छन्।
पछिल्लो घटनामा मिथानोल मिसाएको मदिरा सेवन गरेका कारण नेपालीसहित १६० जनाभन्दा बढी आप्रवासी बिरामी परेको कुवेतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।
अब प्रश्न उठ्छ — मदिरा प्रतिबन्धित कुवेतमा नेपालीसहित अन्य मुलुकका आप्रवासीले कसरी पिउन पाउँछन् त?
हामीले गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष विकास ठकुरीसँग यसबारे कुराकानी गरेका छौं।
उनका अनुसार सामान्यतया नेपाली लगायत अन्य देशका आप्रवासीले आफै लुकिछिपी मदिरा बनाएर पिउने गर्छन्। कुवेती प्रशासनले बेला बेला छापा मार्दै आएको छ।
'कुवेतमा मदिरा प्रतिबन्धित छ। लागुऔषधहरू पनि प्रतिबन्धित छन्। यहाँ ब्रान्डेड मदिरा पनि किनेर खान पाइँदैन। त्यसो हुँदा बानी परेका आप्रवासीले घरमा आफै बनाएर खाने गरेको पाइन्छ,' उनले भने।
नेपाली र भारतीयसहित अन्य आप्रवासी मिलेर आफूहरू बस्ने ठाउँमै घरेलु मदिरा तयार गर्ने उनले बताए। कतिपयले ठूलो परिमाणमा उत्पादन गरेर आप्रवासीहरूबीच कारोबारसमेत गर्ने गरेको उनको भनाइ छ।
'यसरी मदिरा तयार गर्दा उनीहरू धेरैजसो मिथानोल प्रयोग गर्छन्। मिथानोलको मात्रा धेरै हुँदा यस्तो घटना हुन्छ। अघिल्लो वर्ष पनि भएको थियो,' ठकुरीले भने, 'यस्तो घरेलु मदिरा बनाउने काममा कति जना नेपाली संलग्न छन् भन्ने हामीलाई जानकारी हुँदैन। यहाँको प्रशासनले कडाइ गरेर छापा मार्दा बेला बेला फेला पर्छ, अनि घटना बाहिर आउँछ।'
अवैध रूपमा मदिराजन्य पदार्थ उत्पादन, बिक्री वितरण तथा प्रयोगमा नेपाली श्रमिकहरू पनि संलग्न रहेको पाइएको अध्यक्ष ठकुरीले बताए।
'दिनभरी घाममा काम गरेर कोठामा एसी लगाएर सुत्दा ज्यान गएको भन्ने कुरा पनि आउँछन्। तर यस्ता घटना हेर्दा मदिराजन्य पदार्थ पिएर मृत्यु भएको हो कि भन्ने आशंका बढ्न थालेको छ,' उनले भने, 'घरपरिवार छाडेर कमाउन भनेर सात समुन्द्र पारि आएका हुन्छन्। बाकसमा फर्किनुपर्ने अवस्था निकै दुःखद हो।'
मदिरा पिएर मृत्यु भएकाहरू त बाकसमा फर्किन्छन्, तर बिरामी परेकाहरू निको भएपछि कानुनी कारबाहीका भागीदार हुन्छन् कि हुँदैनन्?
राज्यले निषेध गरेको मदिरा उत्पादन गरी उपभोग गरेको कसुरमा उनीहरूलाई कुवेत सरकारले के कारबाही गर्छ?
हामीले अध्यक्ष ठकुरीलाई यी प्रश्न पनि सोधेका थियौं।
उनले कुवेतमा मदिरा पिउनु र उत्पादन गर्नु गैरकानुनी भएकाले बिरामी परेकाहरूलाई अस्पतालबाट डिस्चार्ज भएपछि देश निकाला गरिने जानकारी दिए।
'त्यसरी देश निकाला भएकाहरू फेरि कुवेत जान पाउँदैनन्,' उनले भने, 'बिरामी डिस्चार्ज भएपछि अस्पतालले प्रहरी, प्रशासनलाई जानकारी गराउँछ। प्रहरीले देश निकाला गर्न डिपोर्टेसन सेन्टर पुर्याउँछ। त्यसपछि उनीहरूलाई सोझै नेपाल पठाइन्छ।'
पछिल्लो घटनापछि कुवेतस्थित नेपाली दूतावासले सामान्य अवस्थामा उपचाररत नेपालीहरूसँग यो घटना कसरी भयो भनेर सोधपुछ गरेको थियो। उनीहरूले साथीहरू मार्फत मदिरा पाएको बताएका छन्। कतिपयले भने विषाक्त मदिरा हो भन्ने थाहा नपाई पिउँदा बिरामी परेको बयान दिएका छन्।
दूतावासका एक कर्मचारीले पनि मदिरा सेवन गरेर बिरामी परेकाहरूलाई निको भएपछि कुवेत सरकारले देश निकाला गर्ने बताए। देश निकाला गर्नुअघि सोधपुछ तथा अनुसन्धान हुने उनको भनाइ छ।
अहिले पनि केही अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनीहरूलाई त्यहाँको प्रहरी प्रशासनले सोधपुछ तथा अनुसन्धान गरिरहेको छ।
'कसैलाई कोही व्यक्तिले झुक्याएर मदिरा सेवन गराएको अवस्था देखिन सक्छ। कसैले झुक्याएर खुवाउँदा अनाहकमा फसेकाहरू त अपराधी होइनन नि,' ती कर्मचारीले भने, 'यस्तो अवस्थाका नेपालीलाई डिपोर्ट नगर्न दूतावासले कूटनीतिक पहल गर्छ। अनुसन्धान गर्दा मदिरा सेवन गरेको पुष्टि भयो भने चाहिँ यहाँको सरकारले सोझै देश निकाला गर्छ।'
त्यही भएर यस किसिमको मदिरा सेवन र उत्पादन लगायत कुवेतको कानुनले निषेध गरेका कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासले नेपालीहरूलाई आग्रह गर्दै आएको छ। यसबारे नियमित रूपमा सचेतना कार्यक्रम पनि सञ्चालन गरिरहेको श्रम सहचारी आचार्यले जानकारी दिए।
वार्षिक ५० हजार हाराहारी नेपालीले कुवेतका लागि श्रम स्वीकृति लिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ। विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्र ५९ हजार नेपालीले श्रम स्वीकृति लिएका थिए।
***