मान्छेले चराजस्तै आकाशमा उड्ने रहर पालेको धेरै अघिदेखि हो।
त्यही रहरले हवाईजहाज आविष्कार भयो, हेलिकप्टर बन्यो। प्यारासुट र प्याराग्लाइड पनि प्रयोगमा आए।
पछिल्लो समय चीनले बनाएको हवाई (उड्ने) ट्याक्सी त्यही सिलसिलामा नयाँ प्रयोग हो।
चिनियाँ अटोमोबाइल कम्पनी चांगानले अर्को चिनियाँ कम्पनी इ–हानको प्राविधिक सहयोगमा निर्माण गरेको त्यही उड्ने ट्याक्सी काठमाडौं आइपुगेको छ। यो नेपालमा पहिलोपटक ल्याइएको हो।
भृकुटीमण्डपमा आज भदौ ३ देखि ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण हुनेछ।
अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी 'एमएडब्लू वृद्धि अटोकर्प' कम्पनीले नेपाल ल्याएको हो।
एमएडब्लूले चांगानकै लोकप्रिय उत्पादन 'दिपल' ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको छ। 'दिपल एस–०५' हालै सार्वजनिक गरिएको थियो।
बिजुलीबाट चल्ने र आफै उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम 'इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ' (इ–भिटिओएल) हो। नामबाटै बुझिन्छ, यसलाई उडान भर्न धावन मार्ग चाहिँदैन। यसले हेलिकप्टरझैं जमिनबाट ९० डिग्रीमा सिधै माथि उडान भर्छ र त्यसरी नै सिधै तल अवतरण गर्छ।
यसका विभिन्न मोडल निर्माण गरिएका छन्। तीमध्ये नेपाल ल्याइएको मोडल 'इएच२१६–एस' हो। सहरभित्र छोटो दुरीको उडान र आपतकालीन सेवाका लागि यो उड्ने ट्याक्सीलाई उपयुक्त विकल्प मानिएको छ। यसले भविष्यमा हवाई यातायातको स्वरूप नै परिवर्तन गर्ने चर्चा पनि हुँदैछ।
नाडा अटो शोको १७औं संस्करणमा धेरैले प्रतीक्षा गरिरहेको उड्ने ट्याक्सीका प्राविधिक विशेषताबारे हामी यो स्टोरीमा चर्चा गर्दैछौं।
सँगसँगै; यसको बनावट, मूल्य र व्यावसायिक सम्भाव्यताबारे पनि चर्चा गर्ने छौं।

सबभन्दा पहिला कुरा गरौं, प्राविधिक विशेषताको।
यो हवाई ट्याक्सीमा १६ वटा इलेक्ट्रिक मोटर र ती मोटरसँगै १६ वटा ब्लेड (प्रोपेलर) प्रयोग गरिएका छन्। बोलीचालीको भाषामा प्रोपेलरलाई 'पंखा' भन्न सकिन्छ। यसको काम हावालाई जोडसँग घुमाएर शक्ति उत्पादन गर्नु हो, जसले यो उड्ने ट्याक्सीलाई माथि–तल वा अगाडि–पछाडि धकेल्छ।
यहाँ प्रत्येक मोटरमा एक–एकवटा पंखा जोडिएको हुन्छ। जब १६ वटा मोटर एकैचोटि चल्छ, तब त्यससँग जोडिएका पंखा एकसाथ घुम्न थाल्छन्।
हामीले हिजोआज देख्ने ड्रोनमा पनि यही प्रणाली प्रयोग गरिएको छ। फरक के भने, साधारण ड्रोनमा चारवटा पंखा मात्र हुन्छ। त्यसैले ड्रोनले साधारण क्यामरा मात्र उठाउन सक्छ। यसको उडान पनि स्थिर हुँदैन। जबकि, १६ वटा मोटर र १६ वटा पंखा जोडिएको हवाई ट्याक्सीले धेरै वजन बोक्न सक्छ। हावामा पनि सन्तुलित र स्थिर रहन्छ। उडान भर्न, अवतरण गर्न र हावामा दिशा बदल्न पनि सहज हुन्छ।
ब्याट्रीको कुरा गर्दा २०–२५ किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यो भनेको एक घन्टामा २०–२५ किलोवाट ऊर्जा जम्मा गर्ने शक्ति हो।
सामान्यतया एउटा साधारण इभी स्कुटरमा २–३ किलोवाट–घन्टा क्षमताको ब्याट्री हुन्छ। सानो इलेक्ट्रिक कारमा करिब २४ किलोवाट–घन्टा क्षमताको ब्याट्री हुन्छ। त्यसैले यो उड्ने ट्याक्सीमा प्रयोग भएको ब्याट्रीले आकाशमा उड्न पर्याप्त शक्ति दिन सक्छ।
यो ट्याक्सी जमिनबाट अधिकतम ३००० मिटर उचाइसम्म उड्छ। एकपटक पूरा चार्ज गरेपछि ३५ किलोमिटर हाराहारी उड्न सक्छ। यसको अधिकतम गति १३० किलोमिटर प्रतिघन्टा हो। यसले एकचोटिमा २१ मिनेटसम्म उडान भर्ने क्षमता राख्छ। ब्याट्री पूरा रिचार्ज हुन दुई घन्टा लाग्छ।
यो उड्ने ट्याक्सी सामूहिक यात्राका लागि बनेको होइन। बढीमा दुई जना यात्रु मात्र बोक्न सक्छ। त्यस्तै, करिब २२० किलो तौल बोक्न सक्ने विभिन्न सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।

अब कुरा गरौं, हवाई ट्याक्सीको बनावट र सुरक्षाको।
झट्ट हेर्दा यो ठूलो आकारको चराजस्तै देखिन्छ। यसका दुइटा ढोका चराको पखेटाझैं माथितिर खुल्छन्। छत र ढोकामा सिसा प्रयोग गरिएको छ, जसले आकाशमा उड्दै वरिपरिको दृश्य हेर्न सजिलो हुन्छ। पंखाहरू पनि यस्तो ठाउँमा राखिएका छन्, जसले दृश्यावलोकनमा अप्ठ्यारो पार्दैन।
हवाईजहाज र हेलिकप्टरमा उड्दा देख्न नसकिने दृश्य यो उड्ने ट्याक्सीबाट सजिलै हेर्न सकिन्छ।
यसमा दुई जना यात्रु बस्न मिल्ने सिट छ। दुई सिटको बीचमा ८ देखि १० इन्चको स्क्रिन हुन्छ। त्यो स्क्रिनमा ट्याक्सीको गति कति छ, ब्याट्री कति प्रयोग भयो, कति उचाइमा उडिरहेको छ, पुग्नुपर्ने दुरी कति टाढा छ लगायतका सूचना देखिन्छन्।
यसमा यात्रुको सुरक्षाका लागि पर्याप्त बन्दोबस्त गरिएको छ।
सबभन्दा मुख्य कुरा त, १६ वटा मोटर र १६ वटा पंखा प्रयोग गरिएकाले तीमध्ये कुनै एउटा मोटर वा पंखा चल्न छोड्यो भने पनि अरूले काम गरिरहन्छ। यसले सुरक्षित उडान र अवतरणमा समस्या आउन दिँदैन।
सुरक्षाकै लागि ६ वटा क्यामरा र सेन्सर जडान गरिएको छ, जसले वरिपरिको दृश्य ३६० डिग्रीमा देखाउँछ। खासगरी अगाडि र छेउको क्यामराले अग्ला अग्ला घरमा ठोक्किनबाट जोगाउँछ भने तल्लो क्यामराले ल्यान्डिङमा सहयोग गर्छ। यिनै क्यामरले चराहरूसँग ठोक्किनबाट पनि जोगाउँछ।
उड्दा उड्दै कुनै अवरोध आए ट्याक्सीमा जडान गरिएका क्यामरा र सेन्सरले तुरून्तै सूचना दिन्छ।
यो हवाई ट्याक्सी पूर्ण स्वचालित हो। यसमा पाइलट हुँदैन। यात्रुले उड्नुअघि नै गन्तव्य निश्चित गर्नुपर्छ। त्यही आधारमा ट्याक्सीमा प्रयोग गरिएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले उडान मार्ग तय गर्छ।
प्राविधिक समस्या उत्पन्न भयो वा कुनै आपतकालीन अवस्था आयो भने प्यारासुटमार्फत सुरक्षित अवतरण गर्न सकिन्छ।

सुरक्षाका लागि प्रशस्त बन्दोबस्त गरिएको भए पनि ठूलो पानी पर्दा, हावाहुरी आउँदा वा चट्याङ पर्दा हवाई ट्याक्सी नउडाउनु नै राम्रो हुन्छ। यस्तो बेला उडान रोकेर तुरून्तै तल झर्नुपर्छ।
चीनमा यो ट्याक्सी व्यावसायिक प्रयोगमा पनि आइसकेको छ। पछिल्लो समय केही पर्यटकीय स्थलमा दृश्यावलोकन लागि यो ट्याक्सी प्रयोग भइरहेको सञ्चार माध्यमहरूले जनाएका छन्।
उच्च मूल्यका ट्याक्सीको व्यक्तिगत प्रयोग भने सम्भाव्य देखिँदैन। चीनमा यसको मूल्य ३ लाख ३३ हजार डलर (करिब ४ करोड ६६ लाख रूपैयाँ) छ भने अन्तर्राष्ट्रिय बजारमा ४ लाख १० हजार डलर (५ करोड ७४ लाख रूपैयाँ) पर्छ।
नेपाली बजारमा यसको मूल्य ७ देखि ८ करोड रूपैयाँ पर्ने कम्पनीले जनाएको छ। धनी देशहरूले आकस्मिक सेवामा प्रयोग गर्ने सम्भावना भने छ।
नेपालको सन्दर्भमा भन्दा यो ट्याक्सी सरकारी वा निजी दुवै स्तरमा तत्काल प्रयोगमा आउने सम्भावना छैन। त्यही भएर पनि भृकुटीमण्डपको प्रदर्शनीमा धेरैको चासो र ध्यान तानिएको हो।
पछिल्लो १७ वर्षदेखि हुँदै आएको नाडा अटो शो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। यो नेपालको एक ठूलो व्यावसायिक प्रदर्शनी हो, जसमा अटोमोबाइल क्षेत्रका आयातकर्ता तथा डिलरहरूले भाग लिन्छन् र आ–आफ्नो ब्रान्डका नयाँ गाडी, मोटरसाइकल र स्कुटर प्रदर्शनीमा राख्छन्।
उपभोक्ताका लागि पनि यो महत्त्वपूर्ण अवसर हो। कतिपय कम्पनीले प्रदर्शनी बेला गाडी बुकिङ गर्ने उपभोक्तालाई आकर्षक छुट दिन्छन्। यसले पनि प्रदर्शनीप्रति चासो बढाउँछ।
सवारी साधन सँगसँगै हेल्मेट, ब्याट्री, लुब्रिकेन्ट्स लगायत अन्य उपकरणहरूको प्रदर्शनी पनि हुनेछ।
***
यी पनि पढ्नुहोस्: