राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ।
बिहीबार केन्द्रीय कार्यालय चःमतिमा पत्रकार सम्मेलन गरेर रास्वपाले सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेका छन्।
सहकोषाध्यक्षसमेत रहेका अभियान संयोजक दीपक बोहराका अनुसार असार ७ गतेदेखि सुरू गरिएको अभियान कम्तीमा एक सय दिन चल्नेछ। ‘हालसम्म प्रदेश, जिल्ला र पालिकास्तरीय समितले अभियानको नेतृत्व गरेका छन्,’ उनले भने।
रास्वपाले साउन ५ गते वडा समितिले अभियानलाई जनस्तरसम्म पुर्याउन घरदैलो गर्ने पनि बोहराले बताए।
‘अब नेपाल–भारत सीमा नाकाका मुख्य विन्दु (काकडभिट्टा, रक्सौल, जोगवनी, बेलहिया, जमुनाह, गड्डाचौकीलगायत), विभिन्न विमानस्थल, बसपार्क र बढी सार्वजनिक आवागमन हुने क्षेत्रमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ,’ उनले भने।
त्यस्तै बोहराले उपचुनाव हुने रुपन्देही–३ का ३६ वटै वडामा बुथमार्फत हस्ताक्षर अभियान सञ्चालन गर्ने उनले बताए।
‘बर्खा र खेतीपातीको समय भएकाले अभियान ग्रामीण क्षेत्रमा केही कमजस्तो देखिएको छ। तर, बढ्ने अपेक्षा राखेका छौं। देश–विदेशमा उत्साहजनक रूपमा रास्वपाका समितिहरूले अभियानको नेतृत्व गरिरहेका छन्। शुभेच्छुक/शुभचिन्तकहरूले पनि स्वःस्फूर्त रूपमा अभियान सञ्चालन गरिरहनु भएको छ,’ उनले भने।
अभियानकै लागि भनेर रास्वपाले हालसम्म ४६ लाख १२ हजार ६३७ रूपैयाँ संकलन भएको रास्वपाले जानकारी दिएको छ। हालसम्म ५९ लाख ६७ हजार रूपैयाँ खर्च भएको छ।
‘आम्दानी भन्दा खर्च बढि छ, अहिलसम्म १३ लाख ५४ हजार ४८६ रूपैयाँ घाटा छ। अभियान अझै लामो समय चल्ने भएकाले थप खर्च हुन्छ,’ बोहराले जानकारी दिए।
सहकारी ठगी प्रकरणमा कास्की, चितवन, रूपन्देही, काठमाडौं, पर्सा जिल्ला अदालतमा मुद्दा चलेका सभापति लामिछाने चार वटा चार वटा जिल्ला अदालतमा धरौटीमा रिहा भएका थिए।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले भने उनलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसविरूद्ध लामिछानेलाई सर्वोच्च गएका थिए। सर्वोच्च अदालतले पनि उच्च अदालतको आदेशलाई सदर गरिदिएको थियो।
रास्वपाले भने सभापति लामिछानेविरूद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।
२०७९ सालको मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ ११ लाख ३० हजार ३ सय ४४ हजार मत ल्याएको थियो। यसपटक त्यसको दोब्बर बढी संख्यामा हस्ताक्षर संकलन गरेको छ।
भिडिओ: