नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निजामती सेवा विधेयकमा कहाँबाट चलखेल भएको हो भन्नेबारे गम्भीर रूपमा छानबिन हुनुपर्ने बताएका छन्।
मंगलबार माओवादीको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले निजामती विधेयकमा चलखेल गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताएका हुन्।
‘संघीय निजामती सेवा ऐन राज्य व्यवस्था समितिबाट जसरी पारित भयो, सदनमा जाँदा कहीँ न कहीँ कसै न कसैले चलखेल गरेको र कहीँ न कहीँ सचेत रूपले कसैले चलखेल गरेको देखिएको छ, त्यसबारेमा गम्भीर रूपले छानबिन हुनुपर्छ र कारबाही गर्नुपर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘समितिको निर्णय प्रक्रिया र त्यो निर्णयलाई फुल हाउसमा पुर्याउने क्रममा कहीँ न कहीँ, किनभने कर्मचारीतन्त्रभित्र एउटा पक्ष निजामती ऐन यो रूपमा नआओस् भन्ने चाहन्थ्यो, कहीँ त्यहीँ चलखेल भयो कि भन्ने प्रश्न पनि उठेको छ तर अहिले मैले कसैलाई ताकेर आरोप लगाउने स्थिति छैन।’
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले कर्मचारीका हकमा अवकाश वा राजीनामाको दुई वर्ष कुलिङ पिरियड राख्ने सहमति गरे पनि हालै प्रतिनिधि सभाबाट पारित हुँदा निजामती विधेयकमा हेरफेर भएर आएको थियो।