नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफू सबै विधि पुर्याएर कांग्रेसमा प्रवेश गरेको बताएका छन्।
सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै प्रतिनिधि सभा सांसदसमेत रहेका चौधरीले आफू सबै विधि पुर्याएर कांग्रेसमा आएको बताएका हुन्।
केन्द्रीय समितिको सोमबारको बैठकमा नेता शेखर कोइरालाले विनोद चौधरी पार्टीको केन्द्रीय सदस्य बन्ने योग्यताबारे प्रश्न उठाएका थिए।
यो पनि: केन्द्रीय समितिमा देउवामाथि शेखरका प्रश्नैप्रश्न, मागे जबाफ
‘विनोद चौधरीको केन्द्रीय सदस्य बन्ने योग्यता थियो कि थिएन? त्यो हेरियो? क्रियाशीलको १० वर्षे अवधि पुग्थ्यो? सभापतिज्यूलाई स्मरण होला, पहिलो पटक गिरिजाप्रसाद कोइरालासँग उहाँ सभापतिमा प्रतिष्पर्धा गर्दै हुनुहुन्थ्यो। उक्त महाधिवेशनमा सुजाता कोइरालाले केन्द्रीय सदस्य लड्ने इच्छा व्यक्त गर्नुभयो। १० वर्ष नपुगेकोले गिरिजाबाबुले सुजातालाई उमेदवार बन्न दिनुभएन,’ कोइरालाले भनेका थिए।
आफूविरूद्ध केन्द्रीय समितिमै कोइरालाले अभिव्यक्ति दिएपछि मंगलबार विनोद चौधरीले पनि कुरा राखेका हुन्।
‘म सारा विधि पुर्याएर पार्टी नियमअनुसार नै आएको हुँ,’ चौधरीले भने।
उनले शेखरलाई लक्ष्य गर्दै कांग्रेस हाँक्ने जमर्को गर्ने नेताले आफूहरूजस्तालाई छेक्न खोजेको पनि उल्लेख गरे।
‘यो पार्टीलाई हाँक्ने जमर्को गर्ने नेताहरूको दृष्टिकोणमा निजी क्षेत्रका हामीजस्ता मानिसलाई सधैं गुटका नाममा छेक्ने हो?, हाम्राविरूद्ध यस्तै अभिव्यक्ति दिने हो?’ उनले प्रश्न गरे।
त्यसपछि उनले २०७९ को प्रतिनिधि सभा चुनावको प्रसंग निकाल्दै असहयोग भएको बताए।
‘त्यसबेला घरघर गएर पार्टीको आधिकारिक उम्मेदवारको विरोधमा र हृदेश त्रिपाठीको लागि बुथबुथमा ठाउँठाउँमा मानिस राखेर, शीर्ष नेतालाई गाली गरेर हराउनका लागि हर प्रकारको तिकडम गर्ने लुम्बिनीका महामन्त्रीलाई बोकेर हिँड्ने नेताले पार्टीलाई हाँक्ने हो भोलिका दिनमा?,’ शेखरलाई लक्ष्य गर्दै उनले भने।
देशभित्र र बाहिर रहेका युवा भविष्य र पेशाको सुरक्षाका लागि भौतारिरहेका बेला कांग्रेस शीर्ष नेताहरूबाट यस्तो अभिव्यक्ति आउनु दु:खद रहेको उनले बताए।
‘युवालाई नयाँ किसिमको जोश र जाँगर तथा विश्वास वातावरण बनाउनुपर्नेमा जुन सन्देश हिजो उहाँ (शेखर कोइराला) ले बोल्नुभयो त्यसले कांग्रेसको सोचाइका बारेमा गम्भीर प्रश्न उठाएको छ,’ उनले भने।
चौधरी २०७४ कात्तिक १३ गते कांग्रेसमा प्रवेश गरेका थिए। त्यसबेला सभापति शेरबहादुर देउवाले उनलाई पत्र पठाएर कांग्रेसमा स्वागत गरेका थिए।
२०७८ मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा चौधरी केन्द्रीय सदस्यको उम्मेदवार भएका थिए। क्रियाशील सदस्यता लिएको १० वर्ष नपुगेको भन्दै चौधरीको उम्मेदवारीबारे त्यसबेला पनि प्रश्न उठेको थियो तर उनी केन्द्रीय सदस्य निर्वाचित भए। कांग्रेस विधानमा केन्द्रीय सदस्य उम्मेदवार हुन निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको भन्ने उल्लेख छ।
साथै चौधरीले लुम्बिनी कांग्रेस महामन्त्री विक्रम खनाललाई जोगाउन छ भने अनुशासन समितिसँग कुरा गर्न पनि शेखर कोइरालालाई आग्रह गरेका छन्। तर पार्टीका उम्मेदवारलाई असहयोग गर्नेलाई कारबाही भने गरिनुपर्ने चौधरीले बताए।
कोइरालानिकट लुम्बिनी कांग्रेस महामन्त्री खनालविरूद्ध अनुशासनको उजुरी परेको थियो।
२०८१ साउन १६ मा अनुशासन समितिले खनाललाई स्पष्टीकरण पनि सोधेको थियो।
चुनावका बेला नवलपरासीमा कांग्रेस उम्मेदवार देवेन्द्रराज कँडेल र विनोद चौधरीलाई असहयोग गरेको आरोप खनालमाथि लागेको थियो। खनालले आफूमाथि लागेका आरोप सत्य नभएको जिकिरसहित अनुशासन समितिलाई स्पष्टीकरणसमेत बुझाएका थिए।