सभामुख देवराज घिमिरेले निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्था हेरफेर नियतवश गरिएको हो कि त्रुटि हो भन्ने कुरा पत्ता लगाइने बताएका छन्।
कुलिङ पिरियडका सन्दर्भमा गम्भीर कुरा आएपछि आफूले के भएको हो खोज्न सचिवालयलाई भनिसकेको पनि सभामुख घिमिरेले बताए।
कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहमतिले पारित भए पनि प्रतिनिधि सभाबाट निजामती विधेयक पारित गर्दा केही व्यवस्था हेरफेर गरिएको पाइएको थियो। त्यसपछि सांसदहरूले विरोध गरिरहेका छन्।
सभामुख घिमिरेले निजामती सेवा विधेयकका त्रुटिलाई राष्ट्रिय सभाबाट र त्यसपछि प्रतिनिधि सभाबाट सच्याउन सकिने पनि बताए।
‘यसका बारेमा गम्भीर कुरा आयो भनेर मैले सचिवालयलाई भनिसकेको छु, रेकर्डहरू खोज्नेलगायत काम गर्नु भनेर। किनभने गल्ती गर्न दिनु हुँदैन। नियतवश गलत कुराहरू लुकिछिपी, नियत नै राखेर यो कुरा गर्छु भनेर आउने विषय पनि भयो, राजनीति विषय र कानुन बनाउने कुराहरू हो, झुक्याउने कुरा हुनु हुँदैन,’ सभामुख घिमिरेले पत्रकारहरूसँग मंगलबार दिउँसो भने, ‘प्रतिवेदन एक खालको, यहाँ पारित गर्दा अर्को भयो भने त गम्भीर हुन्छ भन्ने मलाई लागेको थियो तर त्यस्तो भएको रहेनछ।’
कुनै दफामा राखिएका कुरा प्रतिवेदनमा मिलाउने क्रममा त्रुटि हुन पुगेका कुरा पनि आइरहेको उनको भनाइ छ। प्रतिवेदनमा आएकै विषय प्रतिनिधि सभाबाट पारित भएको पनि सभामुख घिमिरेको भनाइ छ।
उनले अब यो विषय राष्ट्रिय सभा र त्यसपछि प्रतिनिधि सभाबाट पनि सच्याइने बताएका छन्।