नेकपा (एमाले)ले प्रतिनिधि सभा अन्तर्गत रूपन्देही-३ को उपनिर्वाचनमा पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ।
सोमबार बालुवाटार भट्टराईले त्यसबारेमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल समेत गरेका छन्।
प्रधानमन्त्री ओलीसँगको भेटमा उपनिर्वाचन र पार्टीको तयारीका विषयमा छलफल भएको भट्टराईले सेतोपाटीलाई बताए।
'प्रधानमन्त्री र मेरो भेट अस्ति भएको हो। चुनाव जित्नुपर्छ। जित्ने तयारीका साथ पार्टी लागेको छ भन्नुभयो। उहाँले पार्टीले जित्ने योजना बनाएको छ भन्नुभयो,' भट्टराईले भने।
निर्वाचन आयोगले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त रहेका पदहरूमा कात्तिकमा निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो।
रूपन्देही-३ मा राप्रपा सांसद दीपक बोहराको निधन भएपछि पद रिक्त छ। दीपक मनाङे पदमुक्त भएपछि मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य पद पनि रिक्त छ।
निर्वाचन आयोगको सुझावअनुसार रिक्त पदका लागि सरकाले कात्तिक दोस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ।
एमालेको सचिवालय बैठक बुधबार बस्दैछ। त्यसमा उपनिर्वाचनबारे पनि छलफल हुने भट्टराई बताउँछन्।
'सरकार मिति घोषणाको तयारीमा होला। त्यसपछि उम्मेदवारी घोषणाको कुरा आउँछ। मैले पार्टीले टिकट दिए उम्मेदवारी दिने तयारी गरेको छु। योजना पनि छ,' उनले भने।
भट्टराईले रूपन्देही-३ मा चुनाव जित्ने स्थिति पनि रहेको बताए।
'चुनाव जित्ने स्थिति छ। विगतमा अन्तरविरोध थियो। अहिले छैन। पार्टीको आन्तरिक समस्या पनि छैन,' उनले भने, '२०७९ को स्थानीय तह चुनाव अन्तरविरोधले राम्रो भएन। त्यो समीक्षा गरेर हामी तयारी अवस्थामा छौं।'
२०७९ को चुनावमा रूपन्देही-३ मा एमालेले राप्रपालाई सघाएको थियो। त्यहाँ अहिले २४ सय बढी पार्टी सदस्य रहेको भट्टराई बताउँछन्।
भट्टराई यसअघि राष्ट्रिय सभा सदस्य थिए। प्रतिनिधि सभा चुनावमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएका उनले रुपन्देही-५ मा उम्मेदवारी दर्ता गरेका थिए।
तर एमालेबाट तिलोत्तमाका पूर्वमेयर बासुदेव घिमिरेले पनि रुपन्देही-५ मा उम्मेदवारी दर्ता गरेको र निर्वाचन आयोगले उनैलाई मान्यता दिएको थियो।
त्यतिबेला रुपन्देही-३ बाट सिफारिस भएका थापा निर्वाचन क्षेत्र नम्बर पाँचको उम्मेदवार बनेको भन्दै एमाले भित्र विवाद पनि भएको थियो।