राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा आइतबार पनि वेल घेराउ र नाराबाजी गरेको छ।
प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाले उठेर विरोध जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको सांसद असिम साहलाई बोल्न दिए। सांसद साहले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गरे।
उनले मुलुकमा ‘लुटको सिन्डिकेट’ खडा गरिएको आरोपसमेत लगाएका थिए।
त्यसपछि सभामुखले राप्रपाका सांसद धवल शमशेर राणलाई बोल्न दिएका थिए। उनले गत चैत १५ गते तीनकुनेमा राज्यकै कारण दुई जनाको मुत्यु भएको र निजी घरहरूमा तोडफोड र आगजनी भएको आरोप लगाए।
राप्रपाका सांसद राणा बोलिसकेपछि रास्वपाले वेल घेराउ र नाराबाजी गर्न थाल्यो। प्रतिनिधि सभामा अहिले बजेटमाथिको छलफल भइरहेको छ।
आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपति कार्यालयको विनियोजनमाथिको छलफल हुनेछ। यस्तै, सांसदहरूले राखेको खर्च कटौतीको प्रस्तावसमेत पेस हुनेछ।
यसैगरी, सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि पढेर सुनाएका थिए।