प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहद फेल खाइसकेको बताएका छन्। आइतबार पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले ७० वर्ष उमेर फेल खाइसकेको बताएका हुन्।
नेकपा (एमाले) ले २०७८ भदौको विधान सम्मेलनबाट पार्टीको कार्यकारी कमिटीमा ७० वर्षको उमेरहदको प्रबन्ध राखेको थियो।
तर २०८० जेठमा उक्त व्यवस्था सचिवालय बैठकले निलम्बन गरेको थियो। हाल उक्त प्रावधान निष्क्रिय छ।
तर एमालेभित्र उमेरहदको बहस भने छ।
उनले यसलाई निरर्थक बहसको संज्ञा दिएका हुन्।
‘७० वर्ष उमेर फेल खाइसक्यो। अहिले म ७४ चल्दैछु। ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन? अहिले म ७४ चलिराखेको छु। ७० वर्षमा रिटार्यड हुन उमेर चार वर्ष घटाउन भएन क्यारे! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन? यी कुराहरू मुख्य हुन्। कार्यक्षमता हुन्छ कि हुँदैन मुख्यकुरा यी हुन्,’ उनले भने।
उनले चीनको उदाहरण दिए।
त्यहाँ दुईपटक राष्ट्रपति, पार्टी महासचिव हुन पाउने प्रबन्ध राखेर पनि हटाएको उनले बताए।
‘चीनमा दुईपल्ट मात्रै महासचिव हुन पाउने नियम बनाएको थियो। राष्ट्रपति दुईपटक मात्रै हुन पाउने बनाएको थियो। सी चिनफिङको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० वर्ष पनि हुँदैन, ६५ वर्ष पनि हुँदैन भन्यो। उहाँहरूले ६५ लगाउनुभएको थियो। अहिले राष्ट्रपति सी चिनफिङ ७२ पुगिसक्नुभएको छ। साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो, छोड्नुभयो। अरू विभिन्न पार्टीले उमेरहद तोकेका थिए। सबैले छाडे। किनकि उमेरले होइन थुप्रै फ्याक्टर हुँदा रहेछन्। आवश्यकताहरू थुप्रै पर्दा रहेछन्,’ उनले दृष्टान्त दिए।
उनले आफू दोहोरिन्छु भनेर उमेरहद फुकुवा नगरेको बताए। तर जडसूत्रको रूपमा उमेरहद समात्न नहुने उनको जोड थियो।
‘मै हुन्छु भन्ने छैन। कुरा के हो भने, कुनै एउटा जडसूत्रको रूपमा समाउने होइन हामीले। आवश्यकता पर्यो भने हामीले माधव नेपाललाई ७० पुगेर हटाएको होइन? झलनाथ खनालजीलाई ७० पुगेर हटाएको होइन? हटाउनुपर्ने हुँदो रहेछ। हामीले नै हटाइका हौं। ७० नपुग्दै हटाएका हौं। ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ। मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं। आफै बितेर जानुभयो। अर्थात् झलनाथजीलाई हामीले उहिले नै अवकास दिएका थियौं। सिपी मैनालीलाई २०३९ सालमै अवकास दिएका थियौं। २०३९ सालमा उहाँ त्यतिबेला ३१ वर्षको हुनुहुन्थ्यो। त्यतिबेलै हटाएको हो नेतृत्वबाट। उहाँबाट काम नहुने भएपछि। उहाँ २००८ सालको मानिस हो। ३१–३२ को मानिसलाई उमेर सानै छ भनेर राख्न मिल्ने रहेनछ। हटाएका हौं। झलनाथ खनाललाई ४१ वर्षको उमेरमा हटाएका हौं। पर्दो रहेछ। ११ सालका माधव नेपालजीलाई हामीले २०६५ को सुरूमै राजीनामा दिन लगायौं,’ उनले भने।
उनले उमेरहदको कुरामा बहकाउमा नआउन कार्यकर्तालाई अनुरोध गरे।
‘यस्ता कुरामा बहकाउमा आउनुपर्दैन। पार्टीले विचार गरेर निर्णय गर्छ,’ उनले भने।