सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणका क्रममा गतल मनसाय र उद्देश्यले संवाद गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन्।
कैलालीमा पछिल्ला केही दिनदेखि निश्चित प्रतिशत रकम वा कमिसन दिएमा भनेजति बजेट पारिदिने भन्ने खाले अडिओ बाहिरिएको छ। त्यस विषयमा बोल्दै आइतबार मुख्यमन्त्री शाहले गलत काम गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकार सम्मेलन गरी सरकारले शून्य सहनशीलताको नीति लिएको बताए।
गलत मनसाय राखेर संवाद सार्वजनिक गर्नेलाई मुख्यमन्त्री शाहले सचेत गराएको उनका प्रेस संयोजक डम्मरबहादुर बमले जानकारी दिए।
‘आज मुख्यमन्त्रीज्यूले यदी कसैले त्यस्तो गलत संवादको मनसाय बनाएको छ भने त्यो मनसाय र दृष्टिकोण त्याग्न अनुरोध गर्नु भएको हो,’ उनले भने, ‘बजेट निर्माणका क्रममा बाहिर आएका केही कुराहरू बजारमा सुनेको छु भन्ने मुख्यमन्त्रज्यूले त्यस्ता कुरा गर्नेहरू माथि प्रमाण फेला परे कानुनी कारबाही हुन्छ भन्ने चेतावनी दिनु भएको हो।’
बजेटलाई बढी भन्दा बढी प्रभाबकारी बनाउन प्रदेश सरकार लागेको र विशेषगरी भ्रष्टचारका विषयमा प्रश्न नउठ्ने मान्यताका आधारमा बजेट निर्माणमा जुटेको मुख्यमन्त्री शाहले बताए।
आर्थिक वर्ष २०८१/०८२ मा प्रदेश सरकारले घोषणा गरेका चार बुँदे प्रतिबद्धतालाई यस आगामी वर्ष २०८२/०८३ को बजेटमार्फत सोही बुदाँहरूलाई निरन्तरता दिएर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनले बताए।
विज्ञप्तिको पहिलो बुँदामा मुख्यमन्त्री शाहले प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमका लागि न्यूनतम २५ लाख रुपैयाँ भन्दा माथिको बजेट सिलिङ कायम गरी बजेट विनियोजन गर्ने उल्लेख छ।
२५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने अवस्था आएमा, कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने पनि उल्लेख छ।
व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी वा सहकारी संस्थाहरूलाई तोकेर बजेट विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन नगरिने कुराहरू उल्लेख गरेका छन्।