नेपाली कांग्रेसमा नेविसंघ, तरूण दललगायत म्याद समाप्त भएका तदर्थ समितिलाई फेरि म्याद थप गर्ने विषयमा छलफल भएको छ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको बैठकमा चैत मसान्तभित्र अधिवेशन गराउन नसकेका भ्रातृ संस्थालाई पनि एक पटकका लागि म्याद थप गरेर जाने विषयमा कुराकानी भएको हो।
प्रवक्ता प्रकाशशरण महतले दिएको जानकारीअनुसार भ्रातृ संस्थाबारे निर्देशन समितिसँग कुराकानी गरेर आगामी केन्द्रीय समिति बैठकबाट आवश्यक निर्णय लिने विषयमा आज छलफल भएको हो।
कांग्रेसका १३ भ्रातृ संस्थालाई चैत मसान्तभित्र महाधिवेशन गर्न भने पनि ५ वटा भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए। महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई पार्टीले प्रतिवेदन दिन भनेको थियो। नेविसंघलगायतले तीन महिना समय दिने हो भने महाधिवेशन गर्न सकिने प्रतिवेदन दिएका थिए।
नेविसंघ, तरूण दल, महिला संघ, किसान संघलगायत भ्रातृ संस्थाहरूको कांग्रेसले नियमित महाधिवेशन गर्न सकेको छैन भने तदर्थ समिति गठन गर्दै आइरहेको छ।
अहिलेकै तदर्थ समितिलाई निरन्तरता दिने कि नयाँ तदर्थ समिति गठन गरी महाधिवेशन गर्न समय दिने भन्नेमा कांग्रेसभित्र बहस हुँदै आएको थियो।
सभापति शेरबहादुर देउवाले अहिलेकै तदर्थ समितिलाई अन्तिम पटक समय थप गर्ने कुरा राखेपछि नेताहरूले त्यसमै सहमति जनाएको स्रोतको दाबी छ। पदाधिकारी बैठकले कुनै विषयमा निर्णय लिन नसक्ने भएकोले केन्द्रीय कार्यसम्पादन वा केन्द्रीय समिति बैठकबाट भ्रातृ संस्थाहरूबारे निर्णय लिने पक्षमा कांग्रेस नेताहरू छन्।