अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी गराउने प्रयास तीव्र पारेको छ।
तीन हप्ताअघि स्विट्जरल्यान्डको जेनेभामा चलेको अमेरिका–चीन व्यापार वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरेका थिए। त्यसपछि ट्रम्प सीसँग भेट्न वा कुराकानी गर्न आतुर छन्।
ह्वाइट हाउसले यो हप्ता ट्रम्प र सीबीच कुराकानी हुने सम्भावना रहेको सार्वजनिक रूपमा बताइसकेको छ। चीनले भने अहिलेसम्म त्यसबारे केही पनि घोषणा गरेको छैन।
चीन र अमेरिका दुवैले एकअर्कालाई जेनेभामा भएको सहमतिका सर्तहरू उल्लंघन गरेको आरोप लगाइरहेका छन्। अमेरिकाले चीनले अत्याधुनिक इलेक्ट्रोनिक्सका लागि आवश्यक दुर्लभ खनिज निर्यात खुकुलो पार्ने वाचा तोडेको आरोप लगाएको छ।
चीनले भने अमेरिकाले महत्वपूर्ण जेट इन्जिनका पार्टपुर्जामा प्रतिबन्ध र चिप-डिजाइन सफ्टवेयरमा पहुँचमा कटौती, हुवावे कम्पनीलाई चिप पहुँचमा सीमा लगाएको र चिनियाँ विद्यार्थी भिसामा कडाइ गरेको भनेर आलोचना गरेको छ।
ट्रम्पले लामो समयदेखि सीसँग प्रत्यक्ष कुराकानी नै राष्ट्रहरूबीचको मतभेद समाधान गर्ने एकमात्र उपाय भएको बताउँदै आएका छन्। त्यसै अनुसार सीसँग उनको कुरा गराउन अमेरिकाले पहल गरिरहेको छ। तर सी भने अमेरिकी ट्रम्पसँग फोनमा कुरा गर्न अनिच्छुक देखिएका छन्। मुख्य मुद्दाहरूमा उच्च अधिकारीहरूले वार्ता गरून् भन्ने सीको चाहना देखिन्छ।
ट्रम्पले जनवरी २० मा दोस्रो कार्यकाल सुरू गर्नुअघि सीसँग फोनमा कुराकानी गरेका थिए।
ट्रम्पले 'स्वतन्त्रता दिवस' भन्दै अप्रिल २ मा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च 'रेसिप्रोकल' (पारस्परिक) भन्सार लगाउने घोषणा गरेका थिए।
सो घोषणापछि सबै देशलाई उनले जबाफी कदम चाले अझ उच्च भन्सार लगाउने र नचाले पुरस्कृत गर्ने धम्की दिएका थिए। उनको डरले चीन बाहेक कसैले पनि जबाफी कदम चालेनन्।
अमेरिकासँग व्यापार फाइदा भएका सबै देशलाई विभिन्न उच्च दरको भन्सार लगाई गलाएर अमेरिकालाई फाइदा हुने सर्तमा व्यापार सम्झौता गर्ने मनसायले उनले पारस्परिक भन्सार महसुल लगाएका थिए। जबाफी कदम नचाल्नेलाई पुरस्कृत गर्ने भने पनि व्यापार सम्झौता नगरूञ्जेल भन्सार घटाउने उनको मनसाय थिएन।
तर यही कारण अमेरिकी अर्थतन्त्र नै धराशायी हुने खतरा भएपछि उनले एक सातामै ७० वटाभन्दा बढी देशलाई लगाएको उच्च पारस्परिक दर फिर्ता लिए र सबैलाई १० प्रतिशत दर लगाए।
चीनले भने उनको धम्की बेवास्ता गर्दै जबाफी भन्सार दर लगायो। ट्रम्पले रिसाएर दर अझ बढाउने र चीनले फेरि जबाफ दिने क्रम चल्दै जाँदा ट्रम्पले दोस्रो कार्यकाल सुरू भएपछि चीनलाई लगाएको भन्सार दर आकाशिएर १४५ प्रतिशत पुग्यो। अर्कोतर्फ चीनले अमेरिकी वस्तुमा लगाएको भन्सार दर १२५ प्रतिशत पुग्यो। यसरी चीनले जबाफी कदम चाले पनि ६ हप्ता नपुग्दै ट्रम्प झुक्नुपर्यो।
स्विट्जरल्यान्डको जेनेभामा भएको वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि ११५ प्रतिशत विन्दुले घटाउने घोषणा गरे। यसपछि ट्रम्पको दोस्रो कार्यकालमा चीनमाथि लगाएको भन्सार दर ३० प्रतिशतमा झरेको छ।
फेन्टनिल लागुपदार्थ बनाउन चाहिने कच्चा रसायन बेचेको भन्दै १० प्रतिशतका दरले दुई पटक लगाएको र सबै देशलाई लगाएको पारस्परिक दर १० प्रतिशत गरी ३० प्रतिशत मात्रै कायम हुनेछ। चीनले भने सबै अमेरिकी वस्तुमा १० प्रतिशत मात्रै थप भन्सार लगाउने छ।
अमेरिका र चीनले त्यसपछि ९० दिन सम्ममा सहमति गर्न वार्ता गरिरहेका छन्। त्यसमा आशातित सफलता हासिल नभएपछि ट्रम्पले सीसँग प्रत्यक्ष कुराकानी गर्न खोजेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)