नेकपा (एमाले) ले गत जेठ ११ गतेको सचिवालय बैठकको निर्णयअनुसार अनेरास्ववियुमा ३२ वर्षे उमेरहद कार्यान्वयन गर्न निर्देशन पठाएको छ।
अनेरास्ववियुका एक पदाधिकारीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन पठाएको जानकारी दिए। पार्टीका एक नेताले पनि त्यस्तो निर्देशन जारी भएको बताए।
‘यसअघि नै ३२ वर्षमुनिका र नियमित अध्ययनरत विद्यार्थीलाई मात्रै प्रतिनिधि छान्नु भनेर पार्टी महासचिवले नै निर्देशन दिनुभएको थियो,’ एमालेका ती नेताले भने, ‘ पार्टी सचिवालयले निर्णय नै गरेर अनेरास्ववियुमा उमेरहद लगाउने निर्णय गरिसकेकाले यसलाई कार्यान्वयन गर्न पत्र पठाइएको हो।’
मंगलबार बसेको अनेरास्ववियुको सचिवालय बैठकले उमेरहदको प्रस्ताव राष्ट्रिय महाधिवेशनमा लैजाने निर्णय गरेको थियो।
अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशन आगामी जेठ २४ देखि २७ गतेसम्म काठमाडौंको कीर्तिपुरमा हुँदैछ।
अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लागे अहिले भएका पाँच जना पदाधिकारी मात्रै रहन्छन्। बाँकी बिदा हुनेछन्।
उमेरहद लाग्दा संगठनका सचिवहरू प्रकाश पौडेल, अन्जना सिवाकोटी, डा. सुजन कडरिया, दीपक धामी, आरती भट्टराई रहने अनेरास्ववियुले बताएको छ।
यसअघि पनि संगठनमा उमेरहद लगाउनेबारे छलफल भएको थियो। यसअघि संगठनभित्र छलफल हुँदा ३०, ३२ को क्याप लगाउने या उमेरहद खुला राख्ने विषय महाधिवेशनलाई नै निर्णय गर्न दिने समझदारी भएको थियो।
त्यसअघि नै पार्टीले ३२ वर्षको उमेरहद तोकिदिएको हो।
यसअघि पनि एमालेले जनसंगठनको पदाधिकारीहरूको संख्या घटाउँदै ९मा सीमित राख्ने निर्णय गरेको थियो।