नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको आर्थिक, सामाजिक सबै सूचकांक सकारात्मक हुँदाहुँदै पनि मानसिकता नकारात्मक भएको बताएका छन्।
संविधान दिवसको पूर्वसन्ध्यामा पार्टी कार्यालय च्यासलमा बुधबार पत्रकार सम्मेलन गर्दै महासचिव पोखरेलले कानुन र संरचनाहरूको सुधारको माध्यमबाट मुलुकको आर्थिक अवस्था उकास्ने काम सरकारले गरिरहेको बताए।
‘जब नेकपा (एमाले) सरकारमा आइपुग्यो राजस्व फेरि बढ्न थाल्यो। मुलुकका सामाजिक आर्थिक सूचकहरू फेरि सकारात्मक अवस्थामा छन्। गएको वर्षको तुलनामा आगामी वर्ष कम्तीमा एक प्रतिशत कुल गार्हस्थ उत्पादनमा वृद्धि हुने प्रक्षेपण छ। त्यो नेपाल सरकारको मात्र होइन विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले प्रक्षेपण गरेका छन्। हामीले कानुन र संरचना सुधारको माध्यमबाट व्यवसायीहरूको मनोबल उठाएर अनुकूल वातावरण तयार पार्न नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारले संयुक्त रूपमा पहल गरेका छौं। त्यसलाई सकारात्मकरूपमा हेर्नुपर्छ,’ उनले भने।
२०७४ सालपछि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थतन्त्र अत्यन्त सबल अवस्थामा रहेको तर्क गरे। लगातार तीन वर्ष नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गरेको बताए।
‘उच्चतम आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकमा नेपाललाई दसौं स्थानमा पुर्याउन सफल भएका थियौं। कोभिड महामारीले त्यसमा थोरै असर गर्यो। तर कोभिडले जति ठूला मुलुकलाई असर गर्यो, त्यति असर नेपाललाई गरेको थिएन। तर हामीलाई नेतृत्वबाट हटाउने काम भयो, त्यसपछि अर्थतन्त्र ओरालो लाग्न सुरू गर्यो। एक वर्षमा १४ खर्ब राजस्व उठ्न थालेको मुलुकको राजस्व घटेर नेकपा एमाले सरकारमा नरहँदाखेरि १० खर्ब पनि नउठ्ने अवस्थामा पुग्यो,’ उनले भने।
राष्ट्रबैंकबाट प्रकाशन हुने तथ्यांक हेर्दा पनि सबै कुरा सकारात्मक देखिने उनले बताए।
‘चाहे त्यो राजस्वको प्रश्न होस्, चाहे भुक्तानी नपाइरहेका व्यवसायीहरूले भुक्तानी पाइरहेका प्रसंग होस्, चाहे शोधनान्तर स्थिति, मौद्रिक तरलता, बैंकहरूको व्याजदरको कुरा होस्, चाहे विदेशी मुद्राको सञ्चितीको कुरा होस्, सबै सकारात्मक छन्। एउटै कुरा सकारात्मक छैन, त्यो हो हाम्रो मानसिकता र मनोविज्ञान। हामी यदि नकारात्मक बनेका छौं कि भइरहेको सुधारलाई पनि देख्न सक्दैनौं,’ उनले भने।
नेपाली समाजलाई नकारात्मकताले गाँज्न थालेकाले जनताका बीचमा जानुपर्ने अवस्था आएको बताए। बिहीबार एमालेले गणतन्त्र दिवसका सन्दर्भमा आयोजना गरेको कार्यक्रम त्यसैको कडी भएको उनले बताए।
एमालेको कार्यक्रम कसैका विरूद्ध नभएको र गणतन्त्रको उत्सव मनाउन लागिएको बताए। विभिन्न ठाउँबाट निस्किएको जुलुस सहिदगेट, सुन्धारा, रत्नपार्क, बसपार्क हुँदै भृकुटीमण्डपमा पुग्ने र उत्सव मनाउने कार्यतालिका रहेको उनले बताए।