नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल लमजुङको पाँचौ अधिवेशनमा खुकुरी प्रहार गरेको आरोपमा ४ जना विरूद्ध जाहेरी दर्ता भएको छ।
घाइतेका तर्फबाट इन्दु अधिकारीले दिएको जाहेरी सोमबार दर्ता गरेको लमजुङ प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले जानकारी दिए।
उनका अनुसार पीडितले ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दिएका छन्।
जाहेरीमा लमजुङको मध्यनेपाल नगरपालिका ७ का किरण गुरूङ, धनबहादुर तामाङ, राइनास नगरपालिका–६ का गणेश गुरूङ र मर्स्याङ्दी गाउँपालिका ५ का कुमरासी गुरुङ ‘भूपेश’ ले हत्या प्रयास गरेको अभियोग लगाएको छ।
जाहेरी दर्ता भए पनि आरोपित ४ जना अहिलेसम्म पक्राउ परेका छैनन्। डिएसपी बोहोराले उनीहरूको खोजी गरिरहेको बताएका छन्।
‘ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ, आरोपितहरूको हामीले खोजी गरिरहेका छौं,’ डिएसपी बोहोराले भने।
गत शनिबार नेपाल तरूण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनका क्रममा विवाद हुँदा एउटा पक्षले खुकुरी, रड, इँटा, स्टेजमा राखिएको पानस लगायतको प्रयोग गरी अर्को पक्षलाई आक्रमण गरेका थिए।
तरूण दल जिल्ला अधिवेशनको प्रतिनिधि छनौटमा विवाद हुँदा उक्त घटना हुन पुगेको तरूण दल लमजुङले जनाएको छ।
घटनामा बेसीसहर ९ का वडाध्यक्ष एवं तरूण दल लमजुङ ‘ख’ का क्षेत्रीय सभापति खुशीजंग गुरूङ र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन्।
उनीहरूको जिल्ला अस्पताल बेसीसहरमा प्राथमिक उपचार पश्चात थप उपचार गर्न चितवन मेडिकल कलेजमा लगिएको थियो।
अन्य घाइतेहरू शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको भने जिल्ला अस्पतालमै उपचार गरेर डिस्चार्ज भइसकेका छन्।
तरूण दल लमजुङका सभापति ललित गुरूङ लामो समयदेखि हङकङमा छन्।
पोखरामा गुण्डागर्दी पृष्ठभूमिका गुरूङ जिल्ला फर्किएर अधिवेशन गराउन नसक्ने भएपछि उपसभापति कुमरासी गुरूङ ‘भूपेश’ को अध्यक्षतामा शनिबार अधिवेशन आयोजना गरिएको थियो।
अधिवेशनमा प्रमुख अतिथि तरूण दलका पूर्वकेन्द्रीय सभापति एवं राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत थिए।
अधिवेशनमा केन्द्रीय अध्यक्ष विद्धान गुरूङ, कांग्रेस लमजुङका सभापति एवं गण्डकीका अर्थमन्त्री टकराज गुरूङलगायत उपस्थित थिए।
जिल्लामा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्ष र शेखर कोइराला–गगन थापा समूहबीच लामो समयदेखि विवाद छ।
सोही विवादका कारण तरूण दलको अधिवेशनमा प्रतिनिधि छनौट विवादले चर्किएर खुकुरी हानाहान भएको नेताहरूले बताएका छन्।
प्रतिनिधि छनौटमा देउवा पक्षले एकलौटी गरेको, तरूण दलका क्षेत्रीय सभापतिलाई नै सदस्यता नदिएको लगायत आरोप शेखर–गगन पक्षले लगाएको छ भने देउवा पक्षले अधिवेशन भाँड्न खोजेकाले घटना भएको बताएको छ।
घटनामा घाइते भएकाहरू सबै शेखर–गगन पक्षका हुन्।
शेखर–गगन समूहको नेतृत्व कांग्रेस लमजुङका पूर्वसभापति एवं गण्डकीका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले गरेका छन् भने देउवा समूहको नेतृत्व जिल्ला सभापति एवं गण्डकीका अर्थमन्त्री टकराज गुरुङले गरेका छन्।