संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ।
बुधबार अर्थसमिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० का सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।
बिहान साढे ७ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरूले पेश गरेको प्रतिवेदन समितिसमक्ष पेश गर्ने कार्यसूची छ।
पूर्वाधार विकास समितिको बैठक बिहान साढे ८ बजे बस्दैछ। बैठकमा विद्युतीय विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल हुने कार्यसूची छ।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने तय भएको छ।
बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनउपर छलफल हुने कार्यसूची छ।