प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई रूघा लागेको छ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो। तर प्रधानमन्त्री ओली अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको छ।
सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्री ओली अस्वस्थ रहेको बताए। त्यसैकारण सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम रोकिएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीलाई सोमबारदेखि रूघा लागेको थियो।
प्रधानमन्त्री स्वास्थ्यकै कारण आजको प्रतिनिधि सभा बैठकमा अनुपस्थित रहने मुख्य सचेतक बर्तौलाले बताए।