नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पार्टी सभापति शेरबहादुर देउवाको टेलिफोन संवाद संयोग मात्रै रहेको बताएको छ।
शनिबार संसद भवनको ल्होत्से हलमा भएको संसदीय दलको बैठकपछि पत्रकारहरूसँगको कुराकानीमा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रचण्डसँग सभापति देउवाको टेलिफोन संवाद संयोग मात्रै रहेको बताएका हुन्।
'त्यो संयोग मात्रै हो। शेरबहादुरजीकै जिल्लामा गएको बेला उहाँलाई पनि फोन गरौं भन्ने प्रचण्डजीलाई लागेको होला। पहिले ओलीजीले पनि गर्नुभएको थियो। मैले पनि गरौं भन्ने लाग्यो होला,' महतले भने।
महतले प्रचण्डको टेलिफोन संवाद र माओवादी केन्द्रकै उपमहासचिव जनार्दन शर्मासँग सभातिको भेट संयोग मात्रै रहेको बताए।
'जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन। संयोग मात्रै हो,' उनले भने।
प्रमुख सचेतक श्याम घिमिरेले पनि कांग्रेस सरकार परिवर्तनको योजनामा नरहेको बताए।
'माओवादीसँग गठबन्धन गरेर जाने भन्ने योजना र एजेन्डा छैन। प्रतिपक्षी दलका नेताहरूसँग भेटघाट, कुराकानी, फोन संवाद त हुन्छ। सरकार परिवर्तनको विषयमा कुनै पनि योजना कांग्रेसको छैन,' उनले भने।
यद्यपि ठूलो दलको हैसियतमा रहेको कांग्रेसलाई सरकारभित्र त्यही अनुसारको व्यवहार भएन भन्ने विषय सांसदहरूले उठाएको घिमिरेले बताए।
'सम्मान पुगेन हामीले पनि त्यही अनुसारको जोड गर्नुपर्छ भन्ने विषय स्वाभाविक हो,' उनले भने।
प्रवक्ता महतले पनि सरकारले कांग्रेसको कुरा यथेष्ट सुनेन भन्ने चासो र चिन्ता पार्टीभित्र रहेको बताए।
'कतिपय नियुक्तिहरू अलमलमा परिरहेका छन्। अनावश्यक ढिला भइरहेको छ। किन ढिला भएको हो। गभर्नरसँगै अरू पनि निर्णय प्रक्रियाहरूमा हाम्रो जुन हैसियत छ। त्यो अनुसार कुराहरू सुनिनुपर्यो। निर्णय प्रक्रियामा अलमल हुनु भएन भनेर चासो चिन्ता राख्नु स्वभाविक नै हो,' उनले भने।
सांसदहरूको उक्त गुनासोमा सभापति देउवाले आफू त्यसमा लागिरहेको र गभर्नको विषय पनि चाँडै टुंगो लाग्ने बताएको प्रवक्ता महतले पत्रकारहरूसँगको कुराकानीमा भने।