विज्ञहरूले हिमाली क्षेत्रमा जोखिम तीब्र गतिमा (इन्टेन्सिटी) बढिरहेको भन्दै सुक्ष्म निगरानीका संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौंमा जारी सगरमाथा संवादमा विज्ञहरूले हिमाली क्षेत्रमा जलवायुजन्य घटनाको तीब्रतासँगै प्रकृति पनि फरक—फरक देखिन थालेको भन्दै निगरानीलाई दुरूस्त बनाउनुपर्नेमा जोड दिएका हुन्।
माथिल्लो तटीय क्षेत्रमा देखिएको एउटा समस्याले अर्को समस्यालाई निम्त्याउने खालका घटनाले क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौती थपेको उनीहरूको भनाइ छ।
हिमाली क्षेत्रमा काम गर्दे आएको इसिमोडका जलवायु तथा वातावरण जोखिम विज्ञ डा. अरूणभक्त श्रेष्ठले जलवायुजन्य घटनाको दर बढ्दै गइरहेका बेला हिमाली क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्नेमा जोड दिए।
उनले फण्ड फर रेस्पोडिङ लस एण्ड ड्यामेजमाथि पहुँच विस्तारका लागि हिमाली क्षेत्रको तथ्यांक अभिलेखीकरणमा जोड दिनुपर्नेमा जोड दिए।
‘हिमाली क्षेत्रमा जोखिमको इन्टेन्सीटी बढ्दो रुपमा छ, फ्रिक्वन्सी पनि बढ्दो छ त्यसको चरित्र पनि परिवर्तन भएर अलि उच्च हिमाली भेग बाटै उद्गम हुने जोखिमहरू बढिरहेको र त्यसले तल्लो भागमा अन्य जोखिमहरू पनि सिर्जना गरेको अवस्था छ। एउटा ट्रिगरले अन्य हाजाडलाई श्रृंखलावद्ध लगेको पाइएको छ। संरचना लगायत समेत गरी समग्रमा जोखिम बढिरहेको पाएका छौं,’ उनले भने।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका जलवायु परिवर्तन तथा उत्थानशिल विज्ञ दीपक केसीले हानी, नोक्शानी एफआरएलडिका कोषमाथिको पहुँच विस्तार गर्न आन्तरक तयारी र तथ्यांक संकलनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
लस एण्ड ड्यामेज सत्रमा बोल्दै फण्ड फर रेस्पोडिङ लस एण्ड ड्यामेजका कार्यकारी निर्देशकले पनि विषयवस्तुमा धेरै अलमल हुनुभन्दा केसहरू बनाएर अघि बढ्न नेपाललाई सुझाव दिएको उल्लेख गर्दै तथ्यांक अभिलेखीकरणमा लगानी गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
उनले तेस्रो एनडिसीमा लस एण्ड ड्यामेजको विषयलाई छुट्टै च्याप्टर राखेर अघि बढाउनुले सरकारले छुट्टै पहिचान दिएको भन्ने बुझिने बताए। यसले लस एण्ड ड्यामेज फण्ड माथि पहुँच बढाउने सवालमा हाम्रो आवश्यतालाई पुष्टि गर्ने पनि उनको तर्क थियो।
‘हामी इनोभेटिभ हुनुपर्छ। एफआरएलडिको फण्डमा पहुँच विस्तार र अरू फण्डसँग जोडर अघि बढ्ने सवालमा काम गर्नुपर्छ। साथै फण्ड ल्याउन र कार्यान्वय गर्नसक्ने अन्य सहयोगी पार्टनरको पनि खोजी गर्नुपर्ने र त्यसको नेतृत्व देशले नै लिनुपर्ने हुन्छ तर नेपालसँग केही सिमितताहरूलाई उहाँले पनि चुनौतीको रूपमा लिनुभयो। जलवायुका कारणले भएको घटना हो भन्न सक्ने तथ्यांकहरु हामीसँग छैन,’ उनले भने।
कार्यक्रममा हिमाली क्षेत्रमा देखिएको जलवायु जन्य विपद्का घटनाको जोखिम सम्बन्धमा जलवायु अभियन्ता पूर्णिमा श्रेष्ठले सोलुखुम्बुको दिङ्बोचेको भिडियो सामग्री पनि देखाएकी थिइन्। उनी लामो समयदेखि आधारशिविरमा बसेर घटना अध्ययन गरेकी थिइन्।
यसैगरी सगरमाथा संवादका क्रममा अभियन्ता श्रेष्ठले सगरमाथा क्षेत्रको दिङ्बोचे गाउँबाट जलवायु परिवर्तनले पारेको र पार्नसक्ने असरबारे प्रस्तुती दिइन्। श्रेष्ठसँगको कुराकानीका क्रममा स्थानीयवासीले जलवायु परिवर्तनका कारण दिनप्रतिदिन वातावरण बिग्रँदै गएको, हिमाली क्षेत्रमा ‘आइस फल’ चार/पाँच गुणा घटेको अनुभुति सुनाएका छन्।
उनले सन्देशमा यसरी हिउँ पग्लिएमा हिमाली क्षेत्रका पहाडहरूको अस्तित्व नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गरेकी थिइन्। उनी अहिले पनि आधारशिविरमा नै छिन्।
(न्युज एजेन्सी नेपाल)