कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम जेठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ।
आइतबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले दिएको जानकारी अनुसार, सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरेको छ।
मन्त्री भण्डारीले भने, ‘सरकारको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ। अब प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेश सभालाई पनि आग्रह गरिएको छ।’
कोशी प्रदेशको सातौं (बर्खे) अधिवेशन आइतबार दिउँसो २ बजेबाट सुरू हुँदैछ।
सामान्यतया बजेट, नीति तथा कार्यक्रममा केन्द्रित हुनुपर्ने बर्खे अधिवेशनमा पनि यसपटक कोशीमा विधेयकहरूको चाङ छ।
प्रदेश सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले दिएको जानकारी अनुसार अधिवेशनमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पेस हुने तयारी रहेको छ।
सरकारले यस अधिवेशनमा शैक्षिक परामर्शसम्बन्धी विधेयक, भूमिसम्बन्धी विधेयक, कर्मचारीहरूको योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी विधेयक पेश गर्ने भएको छ। यसैगरी, तथ्यांकसम्बन्धी विधेयक पनि सदनमा प्रस्तुत गरिने प्रवक्ता भण्डारीले बताए।
यसअघि नै प्रदेश सभामा सञ्चारसम्बन्धी सहित तीनवटा विधेयक विचाराधीन छन्। यस अधिवेशनमा ती विधेयकहरूमाथि पनि छलफल हुने उनले जानकारी दिएका छन्।
अघिल्लो अधिवेशनमा विपक्षी दलका सांसदहरूले पेश गरेको सरकारी कामकाजको भाषा सम्बन्धी गैरसरकारी विधेयक पनि प्रदेश सभामा दर्ता भएको अवस्थामा छ।
आजको अधिवेशनको कार्यसूचीअनुसार दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, प्रदेश प्रमुखले पठाएको पत्र पनि सदनमा वाचन गरिनेछ।
आइतबारको बैठकमा सरकारले ल्याएको ‘केही प्रदेश ऐनलाई संसोधन गर्न बनेको अध्यादेश २०८२’ सभामा टेबुल हुनेछ।