राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति तथा सांसद डोलप्रसाद अर्याल (डिपी) ले विपद् पूर्वतयारीबारे जानकारी गराउन गृहमन्त्री रमेश लेखकसमक्ष माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद अर्यालले बर्खाअगावै देशका विभिन्न राजमार्ग अवरूद्ध भइरहेको भन्दै विपद व्यवस्थापनको तयारीबारे सदनलाई जानकारी गराउन भनेका हुन्।
‘मैले अघिल्लो बैठकमा पनि भनेको थिएँ, देशका विभिन्न राजमार्गहरू अवरूद्ध हुन थालेका छन्। केही दिन अगाडिदेखि विभिन्न राजमार्गहरू अवरूद्ध भइरहेका छन्। विशेष गरी चितवनदेखि मुग्लिन र मुग्लिनदेखि नागढुंगासम्मको सडकमा विभिन्न ठाउँमा अवरूद्ध, एकतर्फी सडक सञ्चालन हुन थालेको छ। बर्खा सुरू हुनुअगावै यसले के देखाउँछ भने यसपटकको वर्षामा पनि धेरै जनधनको क्षतिसमेत हुने देखिन्छ। विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको तयारी के छ? यो विषयमा सदनमा आएर जानकारी गराउन म सभामुख महोदयमार्फत माग गर्छु,’ उनले भने।