अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई एक सय प्रतिशत कर लगाउने घोषणा गरेका छन्।
हलिउडलाई ब्युँताउनका लागि भनेर ट्रम्पले अमेरिकाबाहिर छायांकन भएका फिल्मलाई एक सय प्रतिशत कर लगाउने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्पले यो घोषणा आइतबार गरेका हुन्।
यसबारेमा उनले आफ्नो ट्रुथ सोसल अकाउन्टबाट पनि जानकारी दिएका छन्। अमेरिकामा फिल्म उद्योग मर्दै गएको र यसलाई ब्युँताउने उपाय गरिएको ट्रम्पको भनाइ छ।
अरू राष्ट्रहरूले नियोजित रूपमा अमेरिकन फिल्म निर्माता र स्टुडिओहरूलाई विभिन्न प्रलोभन देखाएर अमेरिका बाहिर लागेको ट्रम्पको आरोप छ।
'यसले हलिउड र अमेरिकाका अन्य धेरै क्षेत्र नराम्ररी प्रभावित भएका छन्। यो अरू देशको योजनाबद्ध प्रयास हो। यो राष्ट्रिय सुरक्षाका लागि पनि खतरा हो,' ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।
त्यसकारण वाणिज्य विभाग र व्यापार प्रतिनिधिहरूलाई विदेशमा बनेर अमेरिका भित्रने सबै फिल्महरूलाई १० प्रतिशत कर लगाउन निर्देशन दिइएको ट्रम्पले बताएका छन्।
'त्यो प्रक्रिया तत्कालै सुरू हुन्छ। हामी अमेरिकामै फिल्म बनाउन चाहन्छौं,' उनले भनेका छन्।
रोयटर्सका अनुसार लस एन्जलसस्थित हलिउडमा पछिल्लो वर्ष फिल्म र टेलिभिजन उत्पादन लगभग ४० प्रतिशतले घटेको छ। गत जनवरीमा भएको आगलागीपछि त्यो क्रम अझै बढेको बताइएको छ।
अहिले वाल्ट डिज्नी, नेटफ्लिक्स, युनिभर्सल पिक्चर्सहरूले बेलायत, क्यानडा र अस्ट्रेलिया लगायतका देशहरूमा फिल्म खिच्दै आएका छन्।
फिल्म र टेलिभिजन उद्योगबारे विश्लेषण र अनुसन्धान गर्ने अमेरिकी संस्था प्रोडप्रोका अनुसार हलिउड रहेको क्यालिफोर्निया फिल्म खिच्न प्राथमिकताको हिसाबले छैटौं स्थानमा छ।
हलिउडभन्दा टोरन्टो, बेलायत, भ्यानकुभर, मध्य युरोप र अष्ट्रेलिया अगाडि रहेको तथ्यांकले देखाएको छ।
अब अमेरिकाभित्रै फिल्म खिच्न दबाब वा प्रोत्साहन गर्नका लागि ट्रम्पले बाहिर खिचिएका फिल्मलाई चर्को कर लगाउने भनेका हुन्।
तर हलहरूमा चल्ने सिनेमामा मात्रै हो कि ओटिटी प्लेटफर्मबाट रिलिज गर्ने फिल्ममा पनि त्यस्तो कर लाग्छ भन्नेबारे प्रष्ट भइसकेको छैन।
यद्यपि वाणिज्यमन्त्री वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्कको निर्देशन कार्यान्वयनमा जुटिसकेको बताएका छन्।
कर उत्पादन लागत वा बक्स अफिस कलेक्सनको आधारमा लगाउने भन्ने विषय पनि स्पष्ट नभएको भनेर रोयटर्सले लेखेको छ। यसबारेमा फिल्म बनाउने प्रमुख कम्पनीहरूले पनि अहिलेसम्म कुनै टिप्पणी नगरेको बताइएको छ।
सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडिजका अनुसन्धानकर्ता तथा पूर्व वाणिज्य अधिकारी विलियम रेन्सले भने ट्रम्पको उक्त कदम प्रत्युत्पादक हुनसक्नेबारे सचेत गराएका छन्।
यसले अमेरिकी चलचित्र उद्योग फस्टाउनेभन्दा पनि थप नष्ट हुन सक्ने उनको भनाइ छ। 'प्रतिशोधले हाम्रो उद्योगलाई झन् धराशायी बनाउन सक्छ। यसबाट हामीले जित्नेभन्दा धेरै गुमाउनुपर्ने हुनसक्छ,' रेन्सको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।