नेकपा (एमाले) का दुई नेताको पद ६ महिनादेखि निलम्बनमा छ।
भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङबाट १० रोपनी जग्गा दानमा लिएर पार्टी कार्यालय बनाउने गत असोज २४ गतेको सचिवालय निर्णयविपरीत अभिव्यक्ति दिएको भन्दै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरिएको थियो।
गत पुस १० गते गरिएको उक्त निलम्बनको समय गुज्रिइसकेको छ। यद्यपि दुवै नेतालाई निलम्बनको औपचारिक जानकारी (पत्र) दिइएको छैन।
सचिवालयको निर्णय पुस २१, २१, २३ गते बसेको केन्द्रीय समितिले अनुमोदन गरेर अन्तरपार्टी निर्देशन पठाइएको थियो। माघ ११ गते जारी गरिएको अपानिमा नेताद्वयलाई अनुशासनको कारबाही गरिएको उल्लेख छ।
‘पार्टीको संस्थागत निर्णयको खिलापमा पार्टीलाई नकारात्मक असर पुग्ने अभिव्यक्ति दिएका कारणले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय कमिटी सदस्य तिम्सेनालाई स्पष्टीकरण सोधिएको थियो। उहाँहरू दुवैजनाबाट प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नरहेकोले सचिवालयको ४२ औं बैठकले पद एवम् जिम्मेवारीबाट ६/६ महिना निलम्बन गर्ने र पार्टी निर्देशनमा चल्न निर्देशन दिने निर्णय भएको छ,’ अपानिमा भनिएको थियो।
नेताद्वयको निलम्बनबारे आइतबारको सचिवालय बैठकमा पनि कुरा उठेको एक पदाधिकारीले जानकारी दिए। उनका अनुसार नेताद्वयको निलम्बन फुकुवा के गर्ने भनेर महासचिव शंकर पोखरेलले बैठकमा राखेका थिए।
‘निलम्बनको अवधि पुग्यो, यसबारे पनि छलफल गर्ने कि!,’ महासचिव पोखरेलले बैठकमा राखेको कुरा उद्धृत गर्दै एक पदाधिकारीले सेतोपाटीसँग भने।
अध्यक्ष ओलीले महासचिवको प्रस्तावप्रति खासै रुचि देखाएननन्। ‘त्यसबारे आज छलफल नगरौं, अर्को दिन गरौंला,’ यति भन्दै अध्यक्ष ओली उठेर हिँडे।
पाण्डे र तिम्सेनको कारबाही फुकुवाको प्रसंग बैठकमा उठेको सचिव पद्मा अर्यालले जानकारी दिइन्।
तर समयाभावका कारण आइतबारको बैठकमा धेरै छलफल भएको र अर्को दिन यसबारे निर्णय हुने उनले सम्भावना व्यक्त गरिन्।
‘बैठकमा कार्यसूची (एजेण्डा) का रूपमा त आएको थिएन। निलम्बनको अवधि सकिएपछि कुरा त उठ्ने नै भयो,’ उनले भनिन्।
आइतबार सचिवालय बैठक समापन भएको नभई स्थगित भएको पनि उनले बताइन्।
‘प्रधानमन्त्री ओलीको व्यस्तताले धेरै छलफल नभएको हो। यही बैठकको निरन्तरता स्वरूप अर्को पनि बैठक बस्छ। त्यसमा छलफल हुन्छ,’ उनले भनिन्।
निलम्बनपछि पनि पाण्डे र तिम्सेनाले पार्टी अनुशासनसँग मेल नखाने गरी अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट छन्।
पुसकै केन्द्रीय समिति बैठकमा निलम्बनमाथि केही सदस्यले प्रश्न उठेपछि कारबाही फुकुवा हुनेभन्दा त्यसयताको गतिविधिले लम्बिन सक्ने आसय प्रकट गरेका थिए।
तथापि यसबीचमा अध्यक्ष ओलीले वैशाख २ गते निलम्बन गरिएकी स्थायी कमिटी सदस्य पाण्डेलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर अध्यक्ष ओलीले भेटेका थिए। पार्टी कामबारे चासो राखेका थिए।
त्यही भेटमा अध्यक्ष ओलीले उनीसँग निलम्बन कहिले सकिन्छ भनेर उल्टै सोधेका थिए।
त्यसमा जबाफ दिँदै ‘खोई कहिले पो सकिन्छ, अहिलेसम्म चिठी त दिएको छैन कसरी थाहा हुनू’ भनेर पाण्डेले बताएकी थिइन्।
अध्यक्ष ओलीले पार्टी निर्णयमाथि प्रश्न उठाउनु जायज भए पनि बाहिर भन्दै नहिँडेको भए हुन्थ्यो भन्ने आसय प्रकट गरेका थिए।
जबाफमा पाण्डेले आफूले पार्टीकै हितमा बोलेको र अघिल्लो दिन निर्णय गरेर भोलिपल्टै शिलान्यास गरिहालेकाले बैठकमा धारणा राख्ने मौका नै नदिएको बताएकी थिइन्।
कारबाही गरेका तिम्सेनालाई भने यसबीचमा ओलीले सोधखोज गरेका छैनन्।
यो पनि: विद्या भट्टराईको राजीनामाबारे अष्टलक्ष्मीलाई ओलीको 'केरकार'