नेपाल राष्ट्र बैंकको गभर्नर विगत एक महिनादेखि रिक्त रहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यही विषयमा केन्द्रित रहेर आइतबार बेलुकी झन्डै एक घन्टा कुराकानी भयो।
सभापति देउवाले वैशाख २ गते नै नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन उपयुक्त हुने कुरा प्रधानमन्त्री ओलीलाई सुनाएका थिए।
तर गभर्नर नियुक्तिका लागि फटाफट प्रक्रिया अघि बढेन।
उपप्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको सिफारिस समितिको बैठक बस्दै बसेन।
यसबीचमा सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिए भने उनको ठाउँमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको अवस्था छ।
राजनीतिक तहमा लगभग कुरा मिलिसकेको अवस्था भए पनि गभर्नर नियुक्ति प्रक्रिया नै अघि नबढेको परिस्थितिमा सभापति देउवा बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन्।
‘प्रधानमन्त्रीज्यू र सभापतिज्यूले आइतबार बेलुकी गभर्नर नियुक्तिकै विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभयो,’ प्रधानमन्त्री र सभापतिबीच भेटवार्ताबारे जानकार कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, ‘लामो समयसम्म गभर्नर खाली राख्न हुन्न, डा. गुणाकर भट्टलाई गभर्नर नियुक्ति गर्दा राम्रो हुन्छ भन्ने कुरा सभापतिज्यूले प्रधानमन्त्रीसमक्ष राख्नुभएको छ।’
जबाफमा प्रधानमन्त्री ओलीले हालै सिफारिस समितिले पूर्णता पाएको र केही दिनभित्र प्रक्रिया अघि बढेर नियुक्तिसम्म पुग्ने बताएका थिए।
‘प्रधानमन्त्रीज्यूले पनि गभर्नर नियुक्तिमा अब ढिलाइ गर्न हुन्न भन्ने नै कुरा राख्नुभयो तर प्रक्रियागत कुराले केही दिन लाग्छ भन्नुभएको छ,’ ती नेताले भने, ‘सिफारिस समितिबाट नाम सिफारिस भएपछि बिहीबार (वैशाख २५) गतेको मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्त गरिन्छ भन्ने प्रधानमन्त्रीज्यूको भनाइ रहेछ।’
सभापति देउवाले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा कार्यकारी निर्देशक भट्ट उपयुक्त हुने कुरा प्रधानमन्त्रीलाई सुनाएको दुई दिनपछि वैशाख ५ गते कार्यकारी निर्देशक पदबाट भट्टले राजीनामा दिएका थिए। तर अझै उनको राजीनामा स्वीकृत भएको छैन।
कार्यकारी निर्देशक भट्टले दिएको राजीनामा कायममुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत गर्नुपर्ने हुन्छ। ढुंगाना आफै पनि गभर्नरको दौडमा छिन्। एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नै ढुंगानालाई नेपालकै पहिलो महिला गभर्नर बनाउन खोजेको विषय चर्चामा छ। त्यसैकारण गभर्नर नियुक्ति प्रक्रिया महिना दिनसम्म अघि बढ्न नसकेको चर्चासमेत हुने गरेको छ।
तर आइतबार बेलुकी बालुवाटारमा भएको भेटमा भने प्रधानमन्त्री ओलीले देउवाको चाहनाअनुसार भट्टलाई गभर्नर नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
‘भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट दिएको राजीनामा बुधबार (वैशाख २४ गते) सम्म स्वीकृत गराएर त्यसको भोलिपल्ट वैशाख २५ गतेको मन्त्रिपरिषद बैठकबाट गभर्नर नियुक्त गर्ने समझदारी प्रधानमन्त्रीज्यू र सभापतिज्यूबीच भएको छ,’ सभापति देउवानिकट स्रोतले भन्यो।
कार्यकारी निर्देशकबाट दिएको राजीनामा स्वीकृत नहुँदै भट्टलाई गभर्नर नियुक्त गर्दा पछि अदालतको विषय बन्न सक्नेबारे प्रधानमन्त्री र सभापति देउवा सचेत देखिएको पनि ती नेताले बताए।
भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएलगत्तै योग्यता नपुग्ने भन्दै उनीविरूद्ध सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता भएको थियो तर यसबारे अदालतले केही आदेश दिएन।
गभर्नर हुन ३५ देखि ६५ वर्ष उमेर ननाघेको हुनुपर्छ। तर ६५ वर्षमाथिका पनि गभर्नर हुन पाउने गरी अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी तथा सदस्य नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड २०७३ लाई दोस्रो संशोधन गरेको भन्दै सर्वोच्चमा निवेदन परेपछि संशोधन कार्यान्वयन नगर्न आदेश दिएको थियो।
गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएको थियो।
कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले पनि अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको परिस्थितिमा राम्रो मानिसलाई गभर्नर नियुक्त गर्नुपर्ने भएकोले प्रधानमन्त्रीसँग अडान राख्न सभापति देउवालाई आग्रह गर्दै आएका थिए।
लामो समयसम्म प्रधानमन्त्री ओली र सभापति देउवाबीच कसले गभर्नरको नाम दिने भन्ने मतभेद पटक-पटक दुई जनाबीच भएको छलफलबाट सुलह भएको छ।
गभर्नरका लागि प्रधानमन्त्री र देउवाबीच समझदारी भएका गुणाकर भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। साथै कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी सल्लाहकार पनि थिए।
अब उपप्रधानमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। ती नाममध्ये एक जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ।
प्रधानमन्त्री र सभापति देउवाबीच भट्टलाई गभर्नर नियुक्त गर्ने समझदारी बनेकोले उनी नै गभर्नर हुने सम्भावना देखिन्छ। यसबीच सोमबार बिहान भट्टले बूढानीलकण्ठ पुगेर सभापति देउवालाई भेट पनि गरेका थिए।
साथै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार बिहान सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका थिए।
आगामी वर्षको बजेटका सन्दर्भमा अर्थमन्त्री पौडेल र सभापति देउवाबीच कुराकानी भएको बताइएको छ।