नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको लोकप्रियता बढेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित तामाङ राष्ट्रिय मुक्ति मोर्चा बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै जनतामा माओवादी केन्द्रप्रतिको विश्वास बढ्दै गएको बताएका हुन्।
उनले सामाजिक सञ्जालमा पनि पार्टीप्रतिको लोकप्रियता बढेको बताए।
'सोसल मिडियामा पाँच सात महिना अघिसम्म हाम्रो हालत करिब करिब गए गुज्रेको थियो।अहिले हेर्दा हेर्दै साथीहरूले के-के गर्नुभयो। अब सोसल मिडियामा पनि एक नम्बरतिर उकालो लाग्दै छौं,' उनले भने,' देशैभरि सक्रियता बढेको छ। म खुशी छु।'
माओवादी केन्द्रले जनमत आकर्षित गर्दै लगेको उनले बताए।
'यो सबै कुरालाई हेरेर हामीले लिएको अठोट र संकल्प ०८४ मा हामी एक नम्बर भएरै छाड्छौं। समाजवादी क्रान्तिको आधार तयार पारेरै छाड्ने हो,' उनले भने।
आफू त्यसैका लागि दिनरात खटिएको प्रचण्डले बताए। 'यो पटक चाहीँ जसरी पनि अगाडि जाने भनेर हिँडेको छु,' उनले भने।
अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा कांग्रेस र एमाले कुनैपनि दलसँग नमिली एक्लै चुनाव लड्ने प्रतिबद्धता व्यक्त गरे।
पछिल्लो उपनिर्वाचन, स्ववियु चुनाव र विभिन्न दलसम्बन्धी संगठनहरुको चुनावले पनि आगामी आम निर्वाचनमा पार्टीले एक्लै लडेर जित्न सक्छ भन्ने सन्देश दिएको उनले बताए।
माओवादी केन्द्रले सञ्जालन गरेको हुलाकी राजमार्गकेन्द्रित तराई-मधेस जागरण अभियानका कारण पनि हजारौं हजारमा मानिसहरु पार्टीमा जोडिएको उनले बताए।
अभियानमा झन्डै एक करोड जनतासँग प्रत्यक्ष संवाद गरेको प्रचण्डको दाबी थियो।
यसले आगामी चुनाव माओवादी एक्लैले लड्न सक्छ भन्ने पुष्टि गरेको उनले बताए। तथापि माओवादीका अरू घटकहरूलाई पनि एकताबद्ध गर्ने प्रयत्न भइरहेको उनले बताए।
'एकता र मोर्चा बनाउने प्रयत्न जारी नै छ तैपनि लड्ने भनेको माओवादी एक्लैले हो,' उनले भने।