वीरेन्द्रबहादुर बस्नेतलाई हामीले बुद्ध एयरको चेक–इन काउन्टर अगाडि नै भेट्यौं।
उनले आफ्नो बोर्डिङ पास लिइसकेका थिए।
शरीर र सामानको सुरक्षा जाँचपछि प्रतीक्षालयमा गफिँदै हामीले ठट्टा गर्यौं, 'आज त फ्लाइट समयमै होला नि?'
उनी मुसुक्क हाँसे मात्र।
आखिरमा जहाज आधा घन्टा ढिला उड्यो — एयर ट्राफिकका अगाडि बुद्ध एयरका मालिकको पनि जोड चलेन!
जहाजले धर्ती छाडेर आकाशको उडान भर्यो।
म आकाशबाट धर्ती नियाल्न थालेँ।
धेरैलाई लाग्छ — आकाश अनन्त छ, असीमित छ; सीमाले बाँधिने त धर्ती हो!
बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुरलाई भने आकाश सीमित लाग्न थालेको छ। उनी धर्तीमा असीमितता देख्छन्। त्यसैले आकाशबाट धर्तीको उडानमा छन्।
मोरङ, बेलबारीको आरजु राइस मिल उनको यही उडानको नमूना हो।
यो उडानमा वीरेन्द्र एक्ला छैनन्।
पचास करोडभन्दा बढी लगानीको राइस मिलमा पैसा त उनकै परेको छ, तर यसमा जोडिएका छन् — करिब तीन हजार बिघामा खेती गर्ने १५ सयभन्दा बढी कृषक परिवार।
उनको काम ती किसानले फलाएको धान किनेर चामल उत्पादन गर्ने मात्र होइन। उनी कृषि कर्मका हरेक चरणमा प्रत्यक्ष जोडिएका छन्।
मोरङ, सुनसरी र झापाका गाउँ–गाउँ डुलेर कृषकहरूको समूह बनाएका छन्। ती समूहलाई उन्नत धान खेती गर्न लगाउँछन्। उत्पादित फसलको न्यूनतम मूल्य र बजार पनि सुनिश्चित गराएका छन्।
सबभन्दा ठूलो कुरा त, उनी १५ सयभन्दा बढी कृषक परिवारलाई साथ लिएर कृषिको 'प्रोटोटाइप' (मोडल वा नमूना) बनाउँदै छन्।
वीरेन्द्रको यो मोडल सफल भयो भने देशका अरू भागमा पनि अनुकरण गर्न सकिन्छ। यसले हजारौंका लागि रोजगारी सिर्जना गर्न सक्छ र कृषिमा ठूलो परिवर्तन ल्याउन सक्छ।
उनले परिकल्पना गरेको कृषिको नयाँ मोडल के हो त?
बुद्ध एयर सञ्चालनको २८ वर्षमा लाखौं नेपालीलाई आकाशमा उडाएका उनी मोरङको धर्तीमा कुन सपना उडाउँदै छन्?
कृषि उनका लागि व्यावसायिक रणनीति मात्र हो, वा अरू केही?
यो स्टोरीमा म यिनै विषयमा चर्चा गर्नेछु।
हामी वीरेन्द्रबहादुरको नयाँ उडान प्रत्यक्ष हेर्न उनीसँगै बेलबारीको डाँगीहाट आएका छौं।
आँखा अगाडि आरजु राइस मिलका संरचना आकाश छुँलाझैं अग्लिएका छन्। मिलको चारैतिर चैते धान लहलह झुलिरहेका छन्।
वीरेन्द्रले आफ्नो कृषि फार्म र त्यसै बीचमा रहेको राइस मिल घुमाउँदै हवाई उडानबाट कृषि कर्ममा लाग्नुको कारण विस्तार लगाए —
उनी जमिनदारका सन्तान हुन्।
बुबा सुरेन्द्रबहादुरले चालीसको दशकमै अंशमा पाएको ८४ बिघा जमिनलाई बहुमुखी कृषि फार्ममा रूपान्तरण गरेका थिए। त्यसैको २० बिघा वीरेन्द्रको भागमा परेको छ।
उनी त्यहाँ बुबाकै पदचिह्न पछ्याइरहेका छन्।
सुरूआत २०४२ सालबाट भयो। त्यतिखेर उनी २२ वर्षका थिए। भर्खर वनारसबाट आइकम सकेर फर्केका थिए।
बुबाले भने, 'तँ अब विराटनगरमै पढ्, साताको एक–दुई दिन फार्ममा आएर हिसाबकिताब हेर्दे।'
वीरेन्द्रलाई बुबाको आइडिया जच्यो।
उनी महेन्द्र मोरङ क्याम्पसमा पढ्दै बेलबारीको कृषि फार्म आउजाउ गर्न थाले।
बिस्तारै खेतीपातीमा टक बस्दै गयो।
उनी महिनाको दुई–चार दिन मात्र विराटनगर बस्थे। बढीजसो समय फार्ममै बिताउँथे। त्यसैबीच भारतको कलकत्ता गएर माछापालन तालिम पनि लिए।
'मैले कलकत्ताबाट ७० किलोमिटर उत्तरको एउटा फार्ममा दुई महिनाको माछापालन तालिम लिएको छु,' कृषि कर्मका सुरूआती दिन सम्झँदै उनले भने, 'त्यही ज्ञान प्रयोग गरेर माछापालन खुब बढाएँ।'
'साताको तीनचोटि पोखरीमा जाल हालेर माछा उफार्नुर्थ्यो। त्यति बेला यो काम जान्ने अरू कोही थिएन। म आफै पोखरीमा छिर्थेँ, आफै जाल तान्थेँ र आफै भिडेर माछा उफार्थेँ,' उनले अगाडि भने, 'माछाका भुरा उत्पादन बढाउन पोथीलाई दुईचोटि, भालेलाई एकचोटि इन्जेक्सन दिनुपर्थ्यो। म हरेक रात पोखरीमा जान्थेँ। जाल हालेर एक–एक माछा हातले समात्दै इन्जेक्सन लगाउँथेँ।'
फार्ममा रहँदा–बस्दा उनले माछापालनको सीप अरूलाई पनि सिकाए।
उनीसँगै सिकेका केही कर्मचारी आज पनि छन्। कृषि फार्मको रेखदेख तिनैले गर्छन्। यहाँ लगाइएका नरिवल, आँप, भुइँकटहर, लिची, केरा र सिसौका रूख तिनकै निगरानीमा छन्। झन्डै एक दर्जन पोखरीमा हुर्किरहेका माछा उनीहरू नै सम्हाल्छन्। एउटा पोखरी त सिंगै दुई बिघाको छ।
'मैले सात–आठ वर्ष फार्ममै बिताएँ। यहाँको सिकाइले नै बुद्ध एयर चलाउन सजिलो भयो,' उनले भने, 'कर्मचारी भनेका कामदार होइनन्, सहकर्मी साथीहरू हुन्। उनीहरूलाई आदर गर्नुपर्छ र विश्वास जित्नुपर्छ। मैले यो कुनै बिजनेस स्कुलमा सिकेको ज्ञान होइन, यहीँको माटोले सिकाएको हो।'
'बुद्ध एयरले आन्तरिक उडानको ६० प्रतिशत हिस्सा ओगटेको छ। यो सफलताको मुख्य आधार मैले यही माटोबाट सिकेको व्यवस्थापन सीप हो।'
सफलताको शिखर पुगेको बुद्ध एयरबाट फेरि कृषिमै फर्किनुको कारण चाहिँ के त?
यो उनको व्यावसायिक रणनीति मात्र हो, वा अरू केही?
जबाफमा वीरेन्द्रले भने, 'कृषि उद्यम मेरो निम्ति व्यावसायिक रणनीति मात्र होइन। यसमा मेरो पुर्ख्यौली जरा जोडिएको छ।'
कुनै दिन आफ्नो जरातिर फर्किन्छु भन्ने निधो उनले धेरैअघि गरिसकेका थिए।
बुद्ध एयर एउटा मुकाममा पुगेर निरन्तर आम्दानी गर्न थालेपछि केही हिस्सा सामाजिक काममा लगाउनुपर्छ भन्ने उनको विचार थियो।
उनी सामाजिक काममा लगानी गर्न त चाहन्थे, तर त्यसले समाजलाई परजीवि नबनाओस् भन्नेमा सचेत पनि थिए। उनी समाजलाई काँधमा बोकेर हिँड्न होइन, हात लम्काएर सँगसँगै हिँडाउन चाहन्थे। अर्काको काँध चढ्ने बानी परेपछि मान्छेको खुट्टा लुलो हुन्छ र सधैं अर्काको भरमा बाँच्ने परजीवि बन्छ भन्ने उनलाई लाग्छ।
त्यसैले स्थानीय स्तरमा नियमित काम गरेर बसेका जनतालाई त्यही काममा दरिलोसँग टेक्ने बनाउनुपर्छ भन्ने उनको ठम्याइ छ।
यही आधारमा उनले कृषिलाई आफ्नो सामाजिक कामको अंग बनाए।
'मैले कृषि बुझेको थिएँ। किसानको समस्या के हो र के गर्दा फाइदा हुन्छ भन्ने मलाई राम्ररी थाहा थियो। त्यसैले सामाजिक कार्यक्रम लिएर त्यही क्षेत्रमा जाने निधो गरेँ, जुन क्षेत्रसँग मेरो जरा जोडिएको छ,' वीरेन्द्रले भने।
यसको सुरूआत उनले २२ वर्षअघि मोरङको गोकुवा गाउँबाट गरे।
खेतीपातीको स्थलगत अनुभवले उनलाई थाहा थियो — अधिकांश किसान गोरूले जोत्छन्, गोरूबाटै दाउनी गर्छन्। परम्परागत तरिका अपनाउँदा किसानको धेरै समय खेर गइरहेको छ।
उनलाई यो पनि थाहा थियो — एउटै फसलमा धेरै समय बितेपछि किसानसँग अर्को फसल लगाउने समय र ऊर्जा दुवै हुँदैन।
वीरेन्द्रले यसको समाधान यान्त्रीकरणमा देखे।
उनले गोकुवामा खेत जोत्ने र दाउनी गर्ने यन्त्र (रोटोभेटर र हारभेस्टर) प्रयोगमा ल्याए।
'किसानले पहिलो वर्ष संकोचसाथ यन्त्र प्रयोग गरेका थिए,' उनले भने, 'दोस्रो वर्षबाट भने धेरै किसानले आफ्नो गोरू बेच्न थाले।'
हातको यत्नले गरिँदै आएको खेतीमा आधुनिक यन्त्रको प्रयोगपछि किसानलाई दुइटा फाइदा भयो — एक त, पहिलेभन्दा कम परिश्रम र कम समयमा खेत खाली हुने भयो। दोस्रो, वर्षको एक बाली धान लगाएर बाँकी समय खेत बाँझै राख्ने किसानले धान काटेलगत्तै तोरी वा मकै लगाउन सक्ने भए। त्यसपछि फेरि चैते धान पनि लगाउन पाए।
यसबाट हौसिएका वीरेन्द्रले कृषि यान्त्रीकरणलाई मोरङका अन्य गाउँमा पनि विस्तार गरे।
काम गर्दै जाँदा किसानको अर्को ठूलो समस्या उनले मेसो पाए।
उनले देखे — बजारको अगाडि किसान निरीह छन्। फसलको सिजनमा त्यसै पनि मूल्य घटेको हुन्छ, त्यसमाथि थोक खरिदकर्ता (गल्लावाल) आफ्नो सामर्थ्यले भ्याएसम्म किसानलाई निचोर्छन्। कमभन्दा कम दाममा बेच्न बाध्य पार्छन्। पैसा दिन पनि महिनौं झुलाउँछन्।
उनले यो पनि देखे — गल्लावालको पासोमा परेका किसानले फसल बेचेर लागत उकास्नधरि सकेका छैनन्। धान उब्जनीको आम्दानीबाट जीविका चलाउन र बालबच्चाको भविष्य उकास्न सकेका छैनन्। उनीहरू कृषि कर्मबाट वाक्क छन् र वैदेशिक रोजगारीमा जान हानथाप गर्दै छन्।
कृषिको बेथिति र किसानको बिचल्ली देखेर उनी झल्याँस्स भए। आकाशको उडानबाट एकाएक धरातलमा झरेझैं अनुभूति भयो।
यान्त्रीकरणले मात्र यो समस्या हल हुन सक्दैन भन्ने उनलाई लाग्यो।
'किसानले उब्जनीको सही मूल्य नपाएसम्म न कृषिको औद्योगिकीकरण हुन्छ, न समृद्धि आउँछ,' उनले भने, 'लागत बराबर मूल्य नपाएपछि के आसले खेतीपाती गर्ने? किन पसिना बगाउने? खेतबारी बाँझै छाडेर वैदेशिक रोजगारीमा किन नदौडिने?'
उनले यसको समाधान फसलको न्यूनतम समर्थन मूल्यमा देखे।
किसानले आफ्नो उब्जनीको दाम पहिल्यै थाहा पाऊन्, ताकि गल्लावालले निचोर्न नसकून् भन्ने उनी चाहन्थे।
यही प्रस्ताव लिएर मोरङ, सुनसरी र झापाका ६० भन्दा बढी धानचामल मिलमा गए।
उनको प्रस्ताव मान्न कोही तयार भएनन्।
'यसले मलाई झनै झस्कायो,' उनले भने, 'कृषि भनेको हाम्रो जीवनरेखा हो। यो जीवनरेखाको विकृति हटाऊँ भन्दा पनि कोही राजी नभएपछि मलाई आफै केही गरूँ भन्ने भयो। सानो स्तरको भए पनि सिस्टम त बसाउनैपर्यो भन्ने सोच मेरो मनमा आयो।'
वीरेन्द्रले बुद्ध एयरबाट एउटा महत्त्वपूर्ण पाठ सिकेका थिए —
कुनै पनि व्यवसाय सिस्टम (प्रणाली) मा ढाल्न सके मात्र सफल हुन्छ। जहाज उडाउन पाइलट, प्राविधिक र एयर होस्टेसहरूको सिस्टम बनाएर पुग्दैन, ग्राउन्ड ह्यान्डलिङ गर्ने बलियो सिस्टम पनि चाहिन्छ। त्यो सँगसँगै सरकारी निकायहरूसँग समन्वय, नयाँ रूट पहिचान, बजार प्रवर्द्धन, ग्राहकहरूको गुनासो सुनुवाइ र टिकट बिक्रीको उत्तिकै बलियो सिस्टम बनाउनुपर्छ। यी सबै सिस्टमले ठिक ठिक काम गर्न सके मात्र हवाई सेवा कम्पनी सफल हुन्छ।
कृषि उद्यम पनि त्यस्तै हो —
उब्जनी गर्न किसानको समूह चाहिन्छ। उन्नत बीउ चाहिन्छ। यान्त्रिक प्रणाली चाहिन्छ। फसलको उचित मूल्य र बजार सुनिश्चित हुनुपर्छ। त्यति मात्र भएर पनि पुग्दैन, किसानहरूले एकै वर्ष दुईभन्दा बढी बाली लिन सक्ने र राम्रो आर्जन गर्न सक्ने वातावरण हुनुपर्छ। कृषि उब्जनी प्रशोधन गरेर बजारसम्म लैजान राम्रो सिस्टम पनि बनाउनुपर्छ।
यी सबै सिस्टमबाट कृषिको औद्योगिकीकरण, रोजगारी सिर्जना र समृद्धिको प्रचुर सम्भावना उनले देखे।
वार्षिक अर्बौं रूपैयाँको कृषिजन्य आयात प्रतिस्थापन गरेर स्वदेशमै कृषिको ठूलो बजार निर्माण गर्न सकिने सम्भावना पनि देखे।
हो, त्यही क्षण वीरेन्द्रले आफ्नो व्यक्तिगत र व्यावसायिक जिन्दगीको महत्त्वपूर्ण निर्णय लिए —
मोरङको जुन भूमिलाई ४० वर्षअघि उनले पहिलो कर्मभूमि बनाएका थिए; त्यही ठाउँमा, तिनै किसानहरूका माझ, त्यहीँको खेतबारीमा कृषि कर्म गर्दै जिन्दगीको दोस्रो इनिङ सुरू गर्ने।
पहिले कृषिमा लाग्दा उनी २२ वर्षका लक्का जवान थिए। योजनाको भारी नभए पनि ऊर्जा भरपुर थियो। त्यही ऊर्जाले माछापालन सिक्न कलकत्तासम्म पुगेका थिए। जाल हाल्न पोखरीभित्र घुसेका थिए।
अहिले ६१ वर्षको प्रौढ उमेरमा हिँडिरहँदा वीरेन्द्रसँग योजनाको कमी छैन। नित्य डेढ घन्टा शारीरिक व्यायाम गर्ने नियमले ऊर्जा पनि शिथिल छैन। साथमा, बुद्ध एयर चलाएको अनुभव छ।
ऊर्जा र अनुभवको यही मिश्रणबाट उनले कृषिलाई उद्योग र बजारको इको–सिस्टमसँग जोड्ने 'प्रोटोटाइप' (नमूना वा मोडल) तयार पारे।
र, त्यही खाका बोकेर 'जिन्दगीको दोस्रो इनिङ खेल्न' आफ्नो कर्मभूमि फर्किए।
बुद्ध एयरको अनुभवबाट खारिएका वीरेन्द्रमा आफ्नो खाका सफल गराइछाड्छु भन्ने आत्मविश्वास छ।
'म कृषिबाट राम्रो अनुभव लिएर बाहिर निस्केको व्यक्ति हुँ। गाउँले दाजुभाइ, दिदीबहिनीसँग मेरो आत्मीयता छ। ग्रामीण जीवनशैलीमा रमाएर बस्न सक्छु,' उनले भने, 'मुख्य कुरा त, कृषिमा जुन व्यावसायिक सम्भावना मैले देखेँ, त्यो सम्भावना परीक्षण गर्न मसँग पैतृक भूमि छ।'
'म बेलबारीमा जे गरिरहेको छु, त्यो मेरो लामो सोच, तयारी र आत्मविश्वासको परिणाम हो।'


'तपाईंले यहाँ गर्न खोजेको चाहिँ के?'
वैशाख दोस्रो साताको चर्को घाममा कृषि फार्म र राइस मिल घुम्दै गर्दा मैले वीरेन्द्रबहादुरलाई यही प्रश्न सोधेको थिएँ।
उनले कृषिलाई उद्योग र बजारसँग जोड्ने योजनाको लामै बयान सुनाए।
यसमा पाँचवटा पक्ष महत्त्वपूर्ण छन्। यिनै पाँच पक्ष उनको कृषि मोडलका महत्त्वपूर्ण हिस्सा हुन्।
पहिला आउँछ — न्यूनतम समर्थन मूल्य।
जुन दिन धानको न्यूनतम मूल्य तोक्नुपर्यो भन्ने प्रस्ताव मिलहरूले अस्वीकार गरे, उनले त्यसै दिन आफै मिल खोल्छु भन्ने निधो गरेका थिए।
दुई वर्षअघि खुलेको आरजु राइस मिल त्यसैको परिणाम हो।
यसले सुरूकै वर्ष धानको न्यूनतम समर्थन मूल्य घोषणा गर्यो। त्यसपछि हरेकचोटि खेती सुरू हुनुअघि नै मूल्य निर्धारण गर्दै आएको छ। फसल पाकेपछि कम्तिमा त्यही मूल्यमा किनिन्छ। पैसा पनि हातहातै दिइन्छ।
कहिलेकाहीँ माग र आपूर्तिका आधारमा किसानले पाउने मूल्य तोकिएभन्दा बढी हुनसक्छ। गत वर्ष प्रतिकिलो १२ देखि १५ रूपैयाँ बढीमा धान किनेको वीरेन्द्र बताउँछन्।
समर्थन मूल्यले किसानलाई कसरी लाभ भइरहेको छ भन्ने बुझाउन उनले उदाहरण दिए, 'यसपालि भारतमा 'बम्पर' उत्पादन भएको छ। अघनी र चैते धान दुवैको भाउ भुसुक्कै घट्नेवाला छ। तर बजार जति घटे पनि किसानले समर्थन मूल्यभन्दा कम पाउँदैनन्।'
उनका अनुसार समर्थन मूल्यले धानको परम्परागत बजार हस्तक्षेप गरेको छ। आरजु राइस मिलको समूहमा जोडिएका मात्र होइन, नजोडिएका किसान पनि लाभान्वित छन्। किसानले परम्परागत गल्लावाल र अन्य राइस मिलबाट पहिलेभन्दा राम्रो दाम पाउन थालेका छन्। फसलको पैसा उठाउन पनि सजिलो छ।
हामीले यसबारे बेलबारीका केही किसानसँग पनि कुरा गरेका थियौं।
आरजु राइस मिलको सबभन्दा ठूलो योगदान नै न्यूनतम समर्थन मूल्य भएको उनीहरूले बताए।
'पहिले गल्लावालले जति भन्यो, त्यतिमा धान बेच्नुपर्थ्यो। पूरै बाली बेचेर पनि जीविका चलाउन गाह्रो पर्थ्यो,' स्थानीय राजकुमार दंगालले भने, 'अहिले आधा बाली बेचेर घर चल्छ। छ जना केटाकेटी बोर्डिङमा पढाउन पुगेको छ। बचेको पैसाले तीन–चार आना सुन पनि जोडेको छु।'
दोस्रो पक्ष — कुन जातको धान लगाउने?
सुरूमा मिल खोल्दा कुन जातको धान लगाउने भन्ने ठूलो चुनौती थियो।
वीरेन्द्रका अनुसार मोरङ, सुनसरी र झापामा रञ्जित र स्वर्ण धान बढी लगाइन्थ्यो। त्यसमा चामलको मूल्य एकदमै कम हुन्छ। दुवै धान पाक्न कम्तिमा पाँच महिना लाग्छ। एउटै बालीले पाँच महिना खेत ढाकेपछि अर्को बाली लगाउन समय हुँदैन।
यही समस्या हल गर्न वीरेन्द्रले प्राविधिकहरूको सरसल्लाहमा 'रामधान' खोजे।
यो धान चार महिनामै दाउनी हुन्छ। एक बिघामा ४ टन उत्पादन हुन्छ। कतिपय किसानले पौने ५ टन उत्पादन गरेका छन्। यसको समर्थन मूल्य किलोको ४० रूपैयाँ छ। किसानले चार महिनामै प्रतिबिघा एक लाख ६० हजार रूपैयाँ आम्दानी गरिरहेको वीरेन्द्र बताउँछन्।
उनले रामधान चामललाई 'लोकल प्रिमियम' भनेर मार्केटिङ गरेका छन्। यसको लम्बाइ ७ मिलिमिटर हुन्छ। बजारमा प्रिमियम भनेर बिक्री भइरहेको चामल साढे ७ देखि ८ मिलिमिटर लम्बाइको छ।
'पहिले भात गिलो हुने समस्या थियो। उपभोक्ता रिसाएका थिए,' उनले भने, 'प्रशोधनमा थोरै संशोधन गरेपछि त्यो समस्या हटेको छ।'
यसबाहेक 'सुवासी' भन्ने चैतेधान पनि प्रयोगमा छ। यो प्रतिबिघा साढे २ टन फल्छ। यसको पनि समर्थन मूल्य ४० रूपैयाँ किलो हो। किसानले एक बिघाबाट एक लाख आर्जन गर्छन्।
आरजु राइस मिलको वार्षिक प्रशोधन क्षमता २२ सय टन हो। अगनी धान १४ हजार र चैते धान ८ हजार टन प्रशोधन हुन्छ। नियमित आपूर्ति गर्न मोरङ, सुनसरी र झापाका तीन हजार बिघामा खेती गराइएको छ। पन्ध्र सयभन्दा बढी कृषक परिवार जोडिएका छन्।
'तीन हजार बिघाबाट वर्षको २० हजार टन धान आपूर्ति हुन्छ,' उनले भने, 'मिलको क्षमताअनुसार हामीलाई पर्याप्त छ।'
तेस्रो — धानपछि तोरी, तोरीपछि फेरि धान।
वर्षको एक बाली धान लगाएर बाँकी समय खेत बाँझै राख्ने किसानले दुईभन्दा बढी बाली लगाऊन् भन्ने वीरेन्द्र चाहन्छन्। यसका लागि आफै गाउँ–गाउँ घुमेर प्रोत्साहित गरिरहेका छन्।
उनका अनुसार रामधान काटेलगत्तै तोरी लगाउन सकिन्छ। तोरी फल्न बढीमा तीन महिना लाग्छ। प्रतिबिघा ६०० देखि ८०० किलो उब्जनी हुन्छ। मूल्य भने एकदमै उच्च छ। एक बिघाबाट झन्डै एक लाख रूपैयाँको तोरी बिक्री हुन्छ।
'किसानका लागि यो अतिरिक्त आम्दानी हो,' उनले भने, 'तीन महिनामा तोरी फलेपछि तुरून्तै चैते धान पनि लगाउन सकिन्छ।'
किसानलाई धानपछि तोरी र तोरीपछि धान लगाउन सहज होस् भनेर उनी काट्ने र दाउनी गर्ने यन्त्र (रोटोभेटर/हारभेस्टर) मा जोड दिइरहेका छन्। अहिलेसम्म ६ ठाउँमा यस्तो यन्त्र प्रयोगमा ल्याइसकेका छन्। अब किसानकै सामूहिक लगानीमा थप नौवटा किन्ने योजना छ। किसानको २० प्रतिशत र बाँकी बैंकको लगानी हुनेछ।
वर्षको २०० बिघा अघनी, २०० बिघा चैते र २०० बिघा तोरी बालीमा मात्र प्रयोग गर्दा पनि नयाँ हारभेस्टरले १५ लाख रूपैयाँ मुनाफा गर्ने उनको हिसाब छ।
उनी यही आँकडा देखाउँदै हारभेस्टरमा लगानी गर्न किसानलाई प्रेरित गरिरहेका छन्।
धान र तोरीको चक्रीय खेतीलाई आपसमा बाँध्न उनी छिट्टै तोरी मिल स्थापना गर्ने तयारीमा छन्। उनका अनुसार चार–पाँच करोडमा पाँच हजार टन क्षमताको तोरी मिल खोल्न सकिन्छ। धान खेती भइरहेको तीन हजार बिघामै तोरी फलाउन सके मिल राम्ररी चल्छ।
धान–तोरी–धानको सट्टा धान–तोरी–मकैको सम्भावना पनि उनले देखेका छन्।
'यसो गर्दा मकैबाट उच्च गुणस्तरको दाना उत्पादन गर्न सकिन्छ,' उनले भने, 'त्यही दानाबाट कुखुरापालन, बाख्रापालन, बंगुरपालन, माछापालन लगायत व्यवसाय प्रवर्द्धन हुन्छ।'
सँगसँगै, उनको योजना वधशाला र कोल्ड स्टोरेज बनाउने पनि छ, जहाँ मासु प्रशोधन गरेर भण्डार गर्न सकिन्छ र देशैभरि बेच्न सकिन्छ। यसले कृषि, पशुपालन र बजारको बलियो 'इको-सिस्टम' तयार हुने उनी देख्छन्।
चौथो — किसानलाई हिस्सेदार बनाउने।
आरजु राइस मिलले नियमित आम्दानी दिन थालेपछि किसानलाई हिस्सेदार बनाउने वीरेन्द्रको योजना छ। तीन हजार बिघाका १५ सय कृषकसँग छलफल गर्दै ४५ प्रतिशत सेयर बजार मूल्यमा दिने उनले बताइसकेका छन्।
तोरी मिलमा भने किसानकै स्वामित्व होस् भन्ने उनी चाहन्छन्।
'सुरूमै ८५ प्रतिशत सेयर किसानको हुनेछ,' उनले भने, 'व्यवस्थापकका रूपमा हामी १५ प्रतिशत सेयर राख्छौं।'
र, पाँचौं पक्ष हो — बजार व्यवस्थापन।
वीरेन्द्रलाई धानबाट चामल निकाल्ने प्रक्रियासम्म खासै चिन्ता छैन। खास चिन्ता बजारको हो।
खाद्यान्न बजारमा दशकौंदेखि थोक बिक्रेताको पकड छ। ठुल्ठूला डिपार्टमेन्ट स्टोर पनि त्यसैमा मिसिएको उनको भनाइ छ।
'यो यथास्थिति तोड्न हामी सिधै खुद्रा तहमा जाँदैछौं,' उनले भने, 'काठमाडौं उपत्यकाका करिब ५० वटा खुद्रा पसलसँग सम्पर्क गरेका छौं। ती ५० वटा खुद्रा पसलमा आरजु ब्रान्डका चामल, तेल लगायत विभिन्न उत्पादन बिक्री हुने छन्। सामाजिक सञ्जाल प्रयोग गरेर टोल–टोलमा प्रचारप्रसार गरिनेछ र उपभोक्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गरिनेछ।'
यी पाँचै पक्षलाई एकै ठाउँ राखेर बुनेको खाका नै वीरेन्द्रबहादुरको कृषि 'प्रोटोटाइप' वा नमूना हो।
यसलाई देशका हरेक गाउँ र हरेक पालिकामा अनुकरण गर्न सकिने उनको भनाइ छ।


'उ त्यहाँबाट हेर्यो भने वरिपरिको खेत जम्मै देखिन्छ।'
वीरेन्द्रबहादुरले आफ्नो अफिस कोठाको झ्यालबाट राइस मिलको सबभन्दा अग्लो टावर देखाए।
मिलको चप्पा चप्पा घुमाउँदै, धानबाट चामल बन्ने हरेक चरण बुझाउँदै र स्वचालित मेसिनहरू देखाउँदै वीरेन्द्रले हामीलाई त्यही टावरमा पुर्याए।
त्यहाँ पुग्दा एकछिन त विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रूममा छु जस्तै लाग्दो रहेछ!
जसरी एयर ट्राफिक कन्ट्रोलबाट आकाशदेखि रन–वेसम्म हेर्न सकिन्छ, यहाँबाट पनि आँखाले भ्याउनेसम्म आकाश, मिलका संरचना र वरिपरिका गाउँ, खेत जम्मै देखिँदा रहेछन्।
काठमाडौंबाट विराटनगर वा भद्रपुर उड्ने बुद्ध एयरको जहाज यही टावर माथिबाट गुज्रन्छ होला!
ठ्याक्कै त्यही बेला — आरजु राइस मिलको टावरमाथि उभिएर खुला आकाश र खुला धर्ती हेर्दै वीरेन्द्रबहादुरले भने, 'म यहाँ जे गर्न खोज्दैछु, त्यसले दिने उपलब्धि बुद्ध एयरको भन्दा ठूलो हो।'
मैले छक्क पर्दै सोधेँ, 'कसरी?'
जबाफमा उनले भने, 'नेपालमा हवाई उडानको बजार सीमित छ। यो सीमित बजारमा बुद्ध एयरले जे हासिल गर्नुपर्थ्यो, त्यो हासिल गरिसक्यो। म पछिको नेतृत्वले सिर्जनशील भएर फड्को मार्छ भने अर्कै कुरा, तर अहिलेकै अवस्थामा बुद्ध एयरको निम्ति योभन्दा ठूलो स्कोप छैन।'
उनलाई यस्तो लाग्नुका पछाडि दुई कारण छन् —
पहिलो, बुद्ध एयरले वार्षिक १५ अर्ब रूपैयाँको कारोबार गर्छ। करिब १६ सय कर्मचारी छन्। आन्तरिक सञ्चालन खर्च, राज्यलाई तिर्ने कर, नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने दस्तुर लगायत सबै खर्च कटाउँदा खुद मुनाफा वार्षिक ४५ करोड रूपैयाँ हुन्छ।
'यो भनेको जम्मा ३ प्रतिशतको मार्जिन हो,' उनले भने, 'आर्थिक हिसाबले हामी तरबारको धारमा हिँडिरहेका छौं।'
दोस्रो कारण, पछिल्लो समय देशभरि द्रुत गतिमा बाटोघाटो बन्दैछ। चार–पाँच वर्षमा सडक यातायात एकदमै सहज हुनेछ। अहिलेका हवाई यात्रु ठूलो संख्यामा सडक यात्रातर्फ मोडिन सक्छन्। यसले पनि बुद्ध एयरको सीमितता बढाएको उनी ठान्छन्।
हुन त दुर्गम क्षेत्रमा उडान विस्तार र अन्तर्राष्ट्रिय बजारको सम्भावना नभएको होइन। तर त्यसमा अहिलेको भन्दा ठूलो चुनौती छ। तीन प्रतिशत मार्जिनमा धेरै फैलिने सहुलियत नभएको उनी बताउँछन्।
यी दुई कारणले उनी भन्छन्, 'नेपालको आकाशमा बुद्ध एयरको सम्भाव्यता सीमित छ। यसको दाँजोमा हाम्रो धर्तीमा कृषि उद्यमको व्यापक सम्भाव्यता मैले देखेको छु।'
उनले यसको हिसाब पनि देखाए —
उनका अनुसार अहिलेजस्तै तीन हजार बिघामा खेती गर्दा प्रतिबिघा वर्षको सवा २ लाख रूपैयाँ खुद मुनाफा हुन्छ। यो भनेको वर्षको ६५ करोडभन्दा बढी आम्दानी हो।
'जम्मा तीन हजार बिघाबाटै बुद्ध एयरको भन्दा बढी आम्दानी हुन्छ भने तपाईं कल्पना गर्नुस्, यही योजना देशभरि विस्तार गर्न सके कति ठूलो हुन्छ?' उनले कृषि उद्यमको विशाल सम्भाव्यता औंल्याए।
'हामीकहाँ तीन हजार बिघा खेत त हरेक पालिकामा छ। मोरङ, सुनसरी र झापामा मात्र साढे तीन लाखदेखि चार लाख बिघामा धान खेती हुन्छ। अब हिसाब गर्नुस्, यी तीनवटा जिल्लामा कृषि उद्यम गर्न सके त्यसले दिने मुनाफा कति ठूलो होला? झन् देशभरि कति होला?'
कृषिको सम्भाव्यता देखाउँदै गर्दा उनले यो पनि भन्न छुटाएनन्, 'देशभरि फैलाउने काम म गर्न सक्दिनँ। त्यो मेरो क्षमताले भ्याउँदैन। समयले पनि भ्याउँदैन। मेरो काम यो प्रोटोटाइप सफल बनाएर देखाउनु हो। युवा, नवउद्यमी वा पुराना उद्योगी व्यवसायीहरू यसमा जोडिऊन् भन्ने चाहन्छु।'
'कसैले अनुकरण गर्न खोजे म सिकाउन तयार छु।'


वीरेन्द्रबहादुर खुसी भएर बाँच्न चाहन्छन्।
जिन्दगीको उत्तरार्द्ध खुसी खुसी बिताउन चाहन्छन्।
भविष्यमा आफूले चाहेको काम गरिनँ भन्ने आत्मग्लानी नहोस् भन्ने उनको सोच छ।
त्यसैले समय रहँदै पुर्ख्यौली जरातिर फर्किन चाहन्छन्। चालीस वर्षअघि बुबाले देखाएको पदचिह्न पछ्याउन चाहन्छन्।
उनले पछिल्लो २८ वर्षमा बुद्ध एयरलाई आफ्नै खुट्टामा उभिन सक्ने लक्का जवान बनाइसके। यहाँसम्म ल्याइपुर्याउन उनले 'अर्जुनदृष्टि' लगाएका छन्। दिनरात अथक मिहिनेत गरेका छन्। चौबीसै घन्टा बुद्ध एयरकै बारेमा सोचेका छन्। बुद्ध एयरकै निम्ति घोत्लिएका छन्।
उनलाई लाग्छ — बुद्ध एयरलाई अब उनको आड भए पुग्छ, व्यस्तता चाहिँदैन।
'मैले कृषिमा सिकेको ज्ञानले बुद्ध एयर चलाएँ र सफल बनाएँ। अब बुद्ध एयरमा सिकेको व्यवस्थापकीय ज्ञानलाई कृषिमा प्रयोग गर्दैछु,' उनले भने, 'मलाई थाहा छ, कृषिको सम्भावना बुद्ध एयरको जस्तो सानो रन–वेमा सीमित छैन। यसको रन–वे विशाल छ, असीमित छ।
उनले अगाडि भने, 'मेरो निम्ति कृषिको रन–वे उडी छुनु चन्द्र एक!'
दोस्रो दिन काठमाडौं फर्किँदा जहाजले रन–वे छुनुभन्दा ठ्याक्कै अगाडि वीरेन्द्रले विमानस्थलमा फिरफिर हल्लिरहेका झन्डा देखाए र भने, 'नडराउनुस् है, अब जहाज हल्लिन्छ।'
नभन्दै हावाको वेगसँग ढलमल गर्दै जहाजले रन–वे छोयो।
उनले झ्यालबाट हेर्दै भने, 'हाम्रो रन–वे उत्तर–दक्षिण तन्किएको छ। पूर्व–पश्चिम हावा अलि जोडसँग चलेको बेला जहाज ल्यान्ड गर्दा हल्लिन्छ।'
धर्तीको उडान भरिरहँदा पनि वीरेन्द्रको रग–रगमा आकाश उडानको रनाहा बाँकी छ।
***
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी




