अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई बर्खास्त गरेका छन्।
ट्रम्पको सरकारका शीर्ष अधिकारीहरूले युद्ध योजनाबारे छलफल गरिरहेको सामूहिक च्याटमा एक पत्रकारलाई भूलवश समावेश गरिएको मामलामा ह्वाइट हाउसमा वाल्जको चर्को आलोचना भएपछि ट्रम्पले उनलाई बर्खास्त गरेका हुन्।
घटना एक महिना अगाडिकै हो। यमनमा हुथी समूहमाथि हमलाको योजनाका बारेमा सिग्नल भनिने मेसेजिङ एपको समूहमा चर्चा गरेका थिए।
सो समूहमा भूलवश ट्रम्पले खेदो खन्ने अमेरिकाको एट्लान्टिक पत्रिकाका प्रधान-सम्पादक जेफ्री गोल्डबर्गलाई समेत वाल्जले सामेल गराएका थिए।
घटना सार्वजनिक भएपछि ह्वाइट हाउसमा सो विषयमा वाल्जको चर्को आलोचना भएको थियो।
समाचार संस्था रोयटर्सका अनुसार राष्ट्रपति ट्रम्प आफ्नो एक सय दिनको कार्यकाल पुगेपछि मात्रै त्यसबारे निर्णय गर्न चाहन्थे। सोही अनुरूप बिहीबार उनले वाल्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकारबाट हटाएका हुन्।
यसबारेमा ट्रम्पले आफ्नो ट्रुथ सोसल अकाउन्टबाट पनि जानकारी गराएका छन्। उनले वाल्जलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत बनाउने भनेका छन्।
'माइक वाल्जले हाम्रो राष्ट्रको हितलाई पहिलो स्थानमा राख्न कडा परिश्रम गरेका छन्। मलाई थाहा छ उनले आफ्नो नयाँ भूमिकामा पनि त्यस्तै गर्नेछन्,' ट्रम्ले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पले विदेशमन्त्री मार्को रूबिओलाई तत्कालका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारको पनि जिम्मेवारी दिएका छन्।
घटना के हो?
अमेरिकाले गत मार्च १५ मा यमनमा रहेको इरान-परिचालित हुथी समूहमाथि हमला गरेको थियो। त्यसको एक दिनअघिदेखि उपराष्ट्रपति जे डी भान्स लगायत ट्रम्प सरकारका शीर्ष सुरक्षा अधिकारीहरूले सो हमलाबारे सिग्नल भनिने मेसेजिङ एपको समूहमा चर्चा गरेका थिए।
सो समूहमा ट्रम्पले खेदो खन्ने अमेरिकाको एट्लान्टिक पत्रिकाका प्रधान-सम्पादक जेफ्री गोल्डबर्गलाई समेत वाल्जले सामेल गराएका थिए।
एट्लान्टिकमा लामो लेख लेख्दै गोल्डबर्गले सो कुराको खुलासा गरेका थिए।
गोल्डबर्गको सो लेखका अनुसार मार्च ११ मा वाल्जको नाम भएको खाताबाट सिग्नलमा जोडिन उनले निम्तो पाएका थिए। सिग्नलमा आफ्नो संक्षिप्त नाम ‘जे जी’ प्रयोग गर्ने गोल्डबर्गलाई सुरूमा वाल्जको नाम प्रयोग गर्ने कुनै छद्म खाताले उनलाई निम्तो गरेको ठाने।
दुई दिनपछि गोल्डबर्गलाई ‘हुथी पीसी सानो समूह’ नामक सामूहिक च्याटमा समावेश गरिनेछ भनेर सिग्नलले एउटा सूचना पठायो। राष्ट्रिय सुरक्षाबारे लामो समयसम्म समाचार लेखेका गोल्डबर्गलाई पीसी भनेको सामान्यतया मन्त्रिपरिषद् सदस्यहरू र अन्य वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरू समावेश हुने प्रिन्सिपल्स कमिटी बैठक हो भन्ने थाहा थियो।
१८ जनाको सो समूहमा उपराष्ट्रपति भान्स, परराष्ट्र मन्त्री मार्को रुबियो, रक्षा मन्त्री पीट हेगसेथ, राष्ट्रिय गुप्तचर निर्देशक तुलसी गबार्ड, सिआइए निर्देशक जोन र्याटक्लिफ र अन्य धेरै वरिष्ठ सहयोगीहरू समावेश भएको देखिन्थ्यो। सो समूहमा उनीहरूले ट्रम्पको निर्देशनमा यमनमा आक्रमण गर्नु ठीक हो कि होइन भनेर चर्चा गरे। त्यसबारे त्यहाँ गरिएको तर्क ती अधिकारीहरूको घोषित अडान सङ्गत देखिए पनि आफूलाई उनीहरू साँच्चै सरकारका अधिकारी भएको विश्वास नलागेको गोल्डबर्गले लेखेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर वा अरू कसैले छद्म हेन्डल बनाएर गरेको जस्तो लागेको भनेर गोल्डबर्गले भनेका छन्।
तर मार्च १५ मा यमनमा हमला हुनुभन्दा केही समयअघि रक्षा मन्त्री हेसगेथले यो समयमा, यी हतियार प्रयोग गरेर यसरी हमला हुँदैछ भनेर त्यहाँ लेखे। नभन्दै त्यही समयमा यमनमा त्यसरी नै हमला भएपछि गोल्डबर्गलाई आफू साँच्चै उपराष्ट्रपतिसहित सरकारका शीर्ष अधिकारीहरूको सामूहिक च्याटमा रहेको पक्का भयो।
सो हमला भएपछि पनि ती अधिकारीले त्यसको सफलतामा खुसीयाली व्यक्त गर्दै एक-अर्कालाई बधाई दिएका थिए। त्यसपछि आफूले सो समूह छोडेको गोल्डबर्गले लेखेका छन्।
उनी सो समूहमा रहँदा त्यहाँका कुनै पनि सदस्यले ‘जे जी’ को हो भनेर नसोधेको र उनले समूह छोडेपछि पनि गलत मान्छे सो समूहमा रहेछ भनेर सचेत भएको संकेत नदेखिएको उनले दाबी गरेका छन्।
वरिष्ठ अमेरिकी अधिकारीहरूलाई गोप्य सरकारी काम र सूचना साटासाट गर्न सर्वसाधारण जस्तो मोबाइल फोन, सामान्य इमेल वा विभिन्न सामाजिक सञ्जाल र मेसेजिङ एप प्रयोग गर्न बन्देज हुन्छ। सर्वसाधारणले प्रयोग गर्ने यी सञ्चार प्रविधि सामान्य कुराकानीका लागि मात्रै प्रयोग गर्न पाइन्छ र संवेदनशील सरकारी कामका लागि सुरक्षित इमेल वा फोन प्रयोग हुन्छ।
राष्ट्रपतिसँग यस्तो सुरक्षित सञ्चार प्रविधि उनी यात्रा गर्दा पनि हुन्छ। तर अरू अधिकारीको भने कार्यालाय वा घरमा मात्रै त्यस्ता सुरक्षित फोन हुने भनेर गोल्डबर्गको सो लेखमा पूर्वसुरक्षा अधिकारी र विज्ञलाई उद्धृत गर्दै लेखिएको छ।
यसरी यमनमाथि गर्न लागेको सैन्य कारबाहीबारे सिग्नल एपमा कुरा गर्नु नै गलत देखिन्छ। ट्रम्प सरकारका अधिकारीले भने त्यसबारे चर्चामात्रै गरेनन् सरकार बाहिरका व्यक्तिलाई समेत सबै सूचना प्रवाह गरे। यो भनेको संवेदनशील राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चुहाउनु पनि हो।
गोल्डबर्गले सो प्रकरणबारे लेख लेखेर खुलासा गरेपछि विपक्षी डेमोक्र्याटिक पार्टी मात्रै नभएर ट्रम्पकै रिपब्लिकन पार्टीका नेताले समेत त्यसको भर्त्सना गरेका थिए।