अस्ट्रेलियाको आम निर्वाचनमा सत्तारूढ लेबर पार्टी विजयी भएको छ।
शनिबार सम्पन्न निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको हो।
चुनावी प्रक्षेपणहरुलाई गलत साबित गर्दै दोस्रो कार्यकालका लागि अल्बानिजको सरकारलाई अस्ट्रेलियाका नागरिकहरूले अनुमोदन गरेका छन्।
लेबर पार्टीले सरकार गठनका लागि आवश्यक बहुमत ७६ बढी सिटमा जितेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
योसँगै अल्बानिज अस्ट्रेलियामा दुई दशकयता पहिलो पटक लगातार दुई कार्यकाल प्रधानमन्त्री बन्ने व्यक्ति बनेका छन्।
विपक्षी नेता पिटर डटनले पराजय स्वीकार गरेका छन्। उनले प्रधानमन्त्री अल्बानिजलाई बधाई समेत दिएका छन्।
'चुनाव प्रचार प्रसारमा हामीले कमजारी गर्यौं। हारको जिम्मेवारी म लिन्छु। यो लेबर पार्टीका लागि ऐतिहासिक क्षण हो,' ब्रिसबेनमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै डटनले भने।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार विपक्षी दलले अघिल्लो आम निर्वाचनको तुलनामा यसपटक आफ्नो सिटसमेत गुमाएको छ।
त्यति मात्रै होइन विपक्षी नेता डटन आफै पनि लेबर पार्टीका उम्मेदवारसँग पराजित भएका छन्।
उनी क्वीन्सल्याण्डको डिक्सन सिटमा लेबर पार्टीका अली फ्रेन्ससँग पराजित भएका हुन्।
'आजको उत्सव हाम्रा लागि भएन। हाम्रा एकदमै प्रभावशाली उम्मेदवारहरू पनि हुनुहुन्थ्यो जसले हार ब्यहोर्नुभयो। त्यसका लागि म क्षमाप्रार्थी छु। हामीसँग अद्भुत पार्टी छ र यसलाई हामी फेरि बनाउनेछौं,' डटनको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।
डटनले ती सबै परिणामको जिम्मा आफूले लिने बताउँदै मतदाताहरुलाई धन्यवाद पनि दिएका छन्।
दोस्रो कार्यकालका लागि पनि चुनाव जितेको लेबर पार्टीले अब तत्कालै सरकार गठनको प्रक्रिया थाल्नेछ।
चुनाव जितेलगत्तै प्रधानमन्त्री अल्बानिजले पनि आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्। उनले दोस्रो कार्यकालका लागि आफूलाई विश्वास गरेकामा धन्यवाद ज्ञापन गरे।
'आशा, दृढ संकल्प र एक अर्काका विश्वासका साथ हामी अस्ट्रेलियाको भविष्य निर्माणका लागि काममा फर्कनेछौं। सबैलाई धन्यवाद,' अल्बानिजले समर्थकहरूलाई भने।
जितसँगै बेलायतका प्रधानमन्त्री किअर स्टार्मर, न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्जन लगायतले अल्बेनिजलाई बधाई दिएका छन्।