स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद थप भएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले तीन दिन हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराले जानकारी दिए।
नेपाली कांग्रेसकी समानुपातिक सांसद राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिबार बुढानिलकण्ठस्थित कपनबाट पक्राउ गरेको थियो।
परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराका अनुसार उनीमाथि संगठित अपराध एवं सहकारी ठगीमा पुरक अनुसन्धान अघि बढेको हो।
परिसरका अनुसन्धान अधिकृत डिएसपी हरि खतिवडाले आइतबार सभामुख देवराज घिमिरेलाई सांसद राई पक्राउ परी सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको पत्र लेखेका थिए।
भोजपुरकी राई समानुपातिक सांसद हुन्। कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा राई सहसचिव थिइन्। उनी उक्त सहकारीमा २०७४ मंसिर ४ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सहसचिव थिइन्।
गत पुस २९ गते सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको उक्त मुद्दामा सरकारी वकिलले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरेको थियो।
त्यतिबेला सरकारी वकिलले माया राईको तीनपुस्ते नखुलेको भन्दै प्रतिवादी कायम गरेको थिएन।
त्यस मुद्दामा लामिछाने ६० लाख धरौटी बुझाएर छुटेका थिए।
माया राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना भएको थियो। त्यसपछि सरकारी वकिलले अनुसन्धान गर्न भन्दै प्रहरीलाई निर्देशन दिएको थियो।
निर्देशनसँगै प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो। पुर्जी लिएको लामो समयपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।