नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका बाचा नबिर्सेको बताएका छन्।
२०७९ मंसिरमा भएको प्रतिनिधि सभा चुनावमा गोरखा क्षेत्र नम्बर २ बाट प्रचण्ड निर्वाचित भएका थिए।
भूकम्प स्मृतिमा बारपाकमा शुक्रबार आयोजना हुने कार्यक्रममा सहभागी हुन पुगेका अध्यक्ष प्रचण्डले चुनावी बाचा नबिर्सेको बताएका हुन्।
‘चुनावमा मैले तपाईंहरूसँग गरेका बाचा कहिल्यै भुलेको छैन। सरकारले हुँदा ती बाचा पूरा गर्न इमान्दार प्रयास गरियो। जे सकियो, गर्यौं, त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ,’ प्रचण्डले भने, ‘अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसदमा समेत उठाउँदै आएको छु।’
बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाएका थिए।
अध्यक्ष प्रचण्डले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेदभाव नगर्न अनुरोध पनि गरेका थिए।
‘यहाँ केही समयमा गुनासो आउने गरेको छ। तपाईंहरूले उठाएका माग आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु,’ उनले भने।
मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नभएको बताएका थिए।