प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डको बैंकक जाँदा पनि सरकार ढल्ने हल्लासँग जोड्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
कांग्रेस सभापति देउवा परिवारका सदस्यहरूसहित आइतबार बैंकक प्रस्थान गरेका थिए।
‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैंकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजियो,’ नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवस मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने।
नेकपा (एमाले) र कांग्रेसबीच भएको सहमतिअनुसार अबको १५ महिनापछि आफूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने उनको भनाइ थियो।
२०८१ असार १७ गते कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भएको थियो। जसमा प्रधानमन्त्री आलोपालो लिने सहमति थियो। सहमतिअनुसार २०८३ असारमा ओलीले देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्नुपर्ने हुन्छ।