प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले ०५८ मा राज्य सत्ता हातमा लिँदा टेलिफोनको तार अहिलेसम्म फिर्ता नगरेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहले राज्य सत्ता हातमा लिँदा सञ्चार गृहमाथि गोली तेस्र्याएको र टेलिफोनको तार समेत काटेर लगेको र अहिलेसम्म फिर्ता नगरेको ओलीले आरोप लगाए।
उनले पूर्वराजा शाहलाई मूर्खको संज्ञा दिँदै विगतमा फालिसकेको र सयौं वर्ष देशलाई अन्धकारमा राखी जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू फेरि सल्बलाएको बताए।
‘२१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने? महाराजधिराज भएर बस्ने? हामीलाई हुकुम दिने?,’ प्रधानमन्त्री ओलीको प्रश्न छ।
‘टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो, कस्तो मूर्ख होला, लाइन काटेपछि त सकियो नि,’ प्रधानमन्त्रीको भनाइ छ।
‘हामीले देखेका छैनौँ, अस्ति ०५८ सालमा ज्ञानेन्द्र शाहका हातमा शासन पुग्दा। हामी सबैलाई थुनेर। टेलिफोनको लाइन काटेर होइन, तार काटेर लगियो। कस्तो मूर्ख होला। लाइन काटेपछि त सकियो नि। तार अहिलेसम्म फिर्ता गरेका छैनन्, ज्ञानेन्द्र शाहले। कहाँ लग्या हो कहाँ लग्या हो। अनि फेरि चाहियो राजतन्त्र। यो भुलभुलैयामा नपरौँ,’ उनले भने।
पूर्वराजाप्रति लक्ष्य गर्दै उनले २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने? भन्दै प्रश्न गरे।
प्रधानमन्त्री ओलीले भने, ‘अब नयाँ पनि देखिए। फेरि हामीले फालिसकेका सयौं वर्ष देशलाई अन्धकारमा राखेर जनतालाई बुटले कुल्चिएका प्रतिगामी शक्तिहरू अहिले फेरि प्रतिक्रियावादी शक्तिहरू फेरि प्रतिगमन गरेर आउन खोजिरहेका छन्। कत्रो आँट होला! २१ औं शताब्दीमा श्रीपेच लगाएर बस्ने अरे। २१ औं शताब्दीमा श्रीपेच लगाएर। महाराजधिराज भएर। हामीलाई हुकुम दिने अरे। जनतालाई। जनताभन्दा माथि, संविधानभन्दा माथि। देश भन्दा माथि। अलिक अप्ठ्यारो पर्यो भने १५ गते यिनीहरू नाङ्गिए।’
चैत १५ गते पैसा तिरेका गुण्डाहरू सहर ल्याएर उपद्रो मच्चाएको आरोप उनले लगाए।
प्रधानमन्त्री ओलीले जनतालाई धेरै अवमूल्यन गर्नेकुरा सह्य नहुने चेतावनी दिए।
‘हामी सही राखेका छौँ। यिनीहरूको प्रोबोकिङलाई, प्रोबोकेसनलाई हामी सहिराखेका छौँ। तर सहनुको एउटा हद हुन्छ भन्ने कुरा जब जनतालाई अवमूल्यन गरिन्छ, हेपिन्छ, तब सहने कुराको हद हुन्छ भन्नेकुरा म चेतावनी पनि भन्न चाहन्छु।’ —न्युज एजेन्सी नेपाल