धरान उपमहानगर ११ स्थित नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बूले मेयर हर्क साम्पाङको उक्साहटमा आफूमाथि हातपात प्रयास भएको भन्दै प्रहरीका उजुरी दिने भएका छन्।
‘म अहिले इलाका प्रहरी धरानमा आएको छु, को विरुद्ध किटानी जाहेरी दिने भन्ने कानुनी परामर्शमा छु,’ मंगलबार दिउँसो लिम्बूले सेतोपाटीसँग भने ‘सोमबार विवाद मिलाउन भनेर आएका मेयरले उल्टै विवाद झिके, उनकै अघि समर्थकले म माथि हातपात प्रयास गरे। म कानुनी उपचार खोज्छु।’
अहिले सामाजिक सन्जालमा समेत सोमबारको घटनाको भिडिओ उपलब्ध छ। भिडिओमा मेयर हर्क साम्पाङ र सन्तोष लिम्बूबीच भनाभन भएको देखिन्छ। त्यसक्रममा उनले लिम्बूलाई हैसियत सोधेका छन् भने लिम्बूले आफू नागरिक भएको बताएका छन्।
त्यसरी मेयरसँग चर्काचर्की परिरहेका बेला साम्पाङले झोक्किएर तपाईंले के गर्नुहुन्छ भनेका छन्। लगत्तै साम्पाङका समर्थक जुनु लिम्बू सन्तोष लिम्बूमाथि जाइलाग्छन्। उनी आफूमाथि आइलागे पनि नलागेको सन्तोषले बताए। आफ्ना समर्थक त्यसरी टोल विकास अध्यक्षमाथि जाइलाग्दा मेयर साम्पाङले रोक्न खोजेको भिडिओमा देखिन्न।
धरान ११ मा रहेको नगरकोट–बानडाँडा सडकमा ड्रेन निर्माणका कारण विवाद निम्तिएको थियो।
यसअघि कोशीमा सम्पर्क भूआर्जन अधिकृतको जिम्मेवारीसमेत सम्हालिसकेका माओवादी कार्यकर्ता सन्तोष लिम्बूले आफ्नै पहलमा २० लाखको योजना पारेको र प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले ठेक्का लगाएर ड्रेन निर्माण गरेको थियो।
‘मेरै पहलमा प्रदेशले ड्रेनका लागि बजेट हालिदिएर काम भएको थियो, २० लाख बजेट परे पनि ठेक्का १२ लाखभन्दा कममा लाग्यो, त्यही भएर पाँच सय मिटर भनिएको काम पूरा भएन,’ लिम्बूले भने ‘काम अपुरो भएपछि जनताले पूरै होस् भन्ने अपेक्षा गरेँ। म अर्को सालको बजेटमा पार्न कोसिस गर्छु भनिरहेँ। तर, वडाका अध्यक्षसहितका साथीहरूले समन्वयमा चासो दिएनन्। अनि विवाद भयो। त्यही विवाद मिलाउन भनेर मेयर आएर यस्तो घटना भएको हो।’
वडाध्यक्ष लोकेन्द्रकुमार फागुले भने बजेट लिम्बूकै पहलमा आएको तर तल्लो टोल विकासले बनाएको तटबन्धमा असर पुग्ने गरी पानीको निकास निकाल्न खोज्दा लिम्बू नेतृत्वको काम विवादमा परेको बताए।
‘तल्लो टोलका साथीहरूले गुनासो गरेपछि मैले छलफलका लागि बोलाएँ, सन्तोषजी आउनुभएन,’ उनले भने ‘हिजो मेयर आएर कुराकानी हुँदै गर्दा श्रमदान गरेर र नगरले स्रोतसाधन दिएर बाँकी काम गर्ने कुरा हुँदै थियो, सन्तोषजीले विमति राख्नुभयो। त्यसपछि चर्काचर्की भएको हो। ठूलो केही भएको होइन।’
तपाईं र मेयरकै उपस्थितिमा एक जनाले लिम्बूमाथि हातपात गर्न खोजेको देखिन्छ नि? भन्ने प्रश्न गर्दा वडाध्यक्ष फागुले भने, ‘त्यतिबेला चाहिँ म अर्कैतिर फर्केको रहेछु। त्यसो गरेको चाहिँ देखिनँ।’