अमेरिकाको सर्वोच्च अदालतले भेनेजुयलाका आप्रवासीहरूलाई निर्वासन गरेर एल साल्भाडोरको जेलमा पठाउने राष्ट्रपति ट्रम्पको कदमलाई रोक लगाएको छ।
शनिबार भेनेजुयली आप्रवासीको अर्को समूहलाई ट्रम्प प्रशासनले एल साल्भाडोर निर्वासन गर्न लागेपछि अमेरिकी नागरिक स्वतन्त्रता संघ (एसीएलयू)ले निवेदन दिएको छोटो समयमा सुनुवाइ गर्दै अमेरिकी सर्वोच्च अदालतले अर्को आदेश नआउँदासम्म निर्वासन गर्नबाट रोक लगाएको हो।
न्यायाधीशहरू क्लारेन्स थमस र स्यामुअल ए. अलिटो जुनियरले ट्रम्प प्रशासनको उक्त कदम रोक लगाउन अल्पकालीन आदेश जारी गरेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।
'सरकारलाई यस अदालतको थप आदेश नआउँदासम्म कुनै पनि बन्दीलाई अमेरिकाबाट हटाउन निषेध गरिएको छ,' सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ।
यसबारेमा ह्वाइट हाउसले कुनै प्रतिक्रिया नदिएको न्युयोर्क टाइम्सले जनाएको छ।
ट्रम्पले १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर भेनेजुयलाका आप्रवासीहरूलाई निर्वासन गरी एल साल्भाडोरको जेलमा पठाइरहेका छन्।
उनीहरुलाई भेनेजुयलाको आपराधिक समूह 'ट्रेन दि अरागुआ'को सदस्य रहेको आरोपमा पक्राउ गरिएको थियो। उनीहरूलाई गत मार्च महिनादेखि ट्रम्प प्रशासनले एल साल्भाडोर पठाइरहेको छ।
त्यतिबेला पनि उनको कदमलाई जिल्ला अदालतले रोक लगाएको थियो।
त्यो आपराधिक समूहसँग सम्बन्ध नै नभएका व्यक्तिहरूलाई पनि निर्वासनमा पठाएको भनेर संघीय अदालत अन्तर्गतको वासिङ्टन डिसीमा रहेको जिल्ला अदालतकाले ट्रम्प प्रशासनलाई निर्वासनमा पठाउने काम रोक्न आदेश दिएको थियो।
तर ट्रम्प प्रशासनले राष्ट्रपतिको कार्यकारी आदेशलाई जिल्लाको एउटा न्यायाधीशले रोक्न नसक्ने भन्दै चर्को आलोचन भए पनि निर्वासनमा पठाइरहेको थियो।
ट्रम्पले त उक्त आदेश दिने वासिङटन अदालतका प्रमुख न्यायाधीश जेम्स बोजबर्गलाई महाभियोग नै लगाउने भने। न्यायालयप्रति वैरभाव देखाएपछि प्रधानन्यायाधीश जोन रोबर्ट्सले विज्ञप्ति नै निकालेर त्यसको विरोध जनाएका थिए।
जिल्ला अदालतको आदेशका बाबजुद पनि आप्रवासीहरूलाई क्रूर ढंगले निर्वासनमा पठाउने काम नरोकेपछि न्यायाधीश बोजबर्गले त्यसबारेमा जबाफ मागेका थिए। तर ह्वाइट हाउसले जिल्ला अदालतको आदेशविरूद्ध माथिल्लो अदालतमा अपिल गर्ने भन्दै आप्रवासीहरूलाई देशनिकाला गरिरहेको थियो।
न्युयोर्क टाइम्सका अनुसार मार्चयता पाँच पटक गरी २ सय भन्दा बढी आप्रवासी बोकेर अमेरिकी जहाज एल साल्भाडोर पुगेको छ।
एकजना वैध आप्रवासीलाई समेत अवैध भनेर त्यसरी नै एल साल्भाडोर पुर्याएको समेत थियो। अदालतले ती व्यक्तिलाई तत्काल फर्काउन आदेश दिए पनि ट्रम्प प्रशासनले सम्भव नहुने भनेर गैरजिम्मेवार जबाफ दिएको थियो।
एसिएलयु र डेमोक्रेसी फर्वार्डले ट्रम्प प्रशासनको उक्त कदमको लगातार विरोध गर्दै आएको छ।
शुक्रबार उनीहरूले टेक्सासको एनसनमा रहेको ब्लुबनेट डिटेन्सन सेन्टरमा रहेका ५० जनाभन्दा बढी भेनेजुयली आप्रवासीहरूलाई एल साल्भाडोर पठाउन लागेको सूचना पाएका थिए।
त्यसपछि उनीहरुले त्यसलाई रोक्न पाँच घन्टाभित्र तीन फरक-फरक अदालतमा निवेदन दिएका थिए। संघीय अदालत अन्तर्गत टेक्सास जिल्ला अदालतमा आपतकालीन निवेदन दिएका थिए। न्यायाधीश जेम्स विस्ली हेन्ड्रिक्सलाई उनीहरूले आप्रवासीको संरक्षण गर्न तत्काल आदेश गर्न अनुरोध गरेका थिए।
तर न्यायाधीश हेन्ड्रिक्सले उनीहरुको अनुरोधलाई अस्वीकार गरिदिएका थिए। त्यसपछि एसिएलयुका वकिलहरूले न्यू अर्लिन्सस्थित पाँचौं सर्किटको युएस कोर्ट अफ अपिल्समा निवेदेन दिएका थिए।
त्यहाँबाट पनि नभएपछि उनीहरुले सर्वोच्चमा आपतकालीन निवेदन दायर गरेपछि अदालतले ट्रम्प प्रशासनलाई निर्वासनमा नपठाउन भनेको थियो।
त्यतिबेला आप्रवासीहरूलाई जहाज चढाउन विमानस्थलसम्म लैजान बसमा राखिएको थियो। सर्वोच्चको अदालतले तत्कालका लागि ट्रम्प प्रशासनको उक्त कदम रोकिएको छ।
यद्यपि सर्वोच्चले कुनै कारण नखुलाइ आदेश गरेका कारण उक्त आदेश अस्थायी मात्रै हुने न्युयोर्क टाइम्सले जनाएको छ।
एसिएलयुका वकिलहरूले त्यस्ता आप्रवासीहरूलाई गैरकानुनी र अपमानजनक ढंगले अमेरिकाबाट नखेदियोस् भन्नका लागि देशैभरिका अदालतमा रिट दायर गर्ने तयारी गरेको छ।