सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जबाफदेही बनाउन संसदीय समितिमा बोलाउनुपर्ने प्रस्ताव राखेका छन्।
चैत १५ गते तीनकुनेमा भएको घटनाका विषयमा शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिमा छलफलका क्रममा सांसदहरूले पूर्वराजा शाहलाई पनि समितिमा बोलाएर प्रश्न गरिनुपर्नेमा जोड दिएका हुन्।
तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गरेको थियो।
उक्त छलफलमा धारणा राखेका नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले चैत १५ गते तीनकुने क्षेत्रमा भएको घटनाबारे बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई समिति बैठकमा बोलाउन प्रस्ताव राखेका हुन्।
‘कुरा उठेको छ फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र जो नेपाली नागरिक हुनुहुन्छ अहिले। उहाँ पोखराबाट काठमाडौं आउँदै गर्दा जुन खालको स्वागत, सत्कार र सम्मान गरे जनताले, ती पनि जनता नै हुन्। तर त्यो आवश्यक थियो कि थिएन, चैत १५ गतेको घटनामा उहाँ संलग्न हुनुहुन्छ कि हुनुहुन्न भन्ने बारेमा विभिन्न विचारहरू आउन थालेका छन्,’ सांसद परियारले भने, ‘सभापतिज्यू, पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं- यो मानव अधिकार उल्लंघनको घटना हो कि होइन, तपाईंले गरेको हो कि होइन? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा? यसका बारेमा पनि छलफल गर्न आवश्यक छ।’
अराजकता र अमानवीय व्यवहार गर्ने छुट कसैलाई पनि नहुने उनले बताए।
नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजालाई पनि जबाफदेही बनाउनुपर्ने धारणा राखे।
‘पूर्वराजा ज्ञानेन्द्रलाई कहीँ न कहीँ जबाफदेही बनाइनुपर्छ,’ उनले भने, ‘अपराध कर्म जोडिएका जोकोहीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तीनकुने आन्दोलनको बिजारोपण कसले गरेको हो खोज्नुपर्नेमा जोड दिए।
‘यस्तो खालको आन्दोलनको बिजारोपण कसले गर्यो?,’ उनले प्रश्न गरे, ‘घटना हुन नदिनु राज्यको जिम्मेवारी हो। यति कमजोरी किन, हामीले बनाएका नीति नियम र संरचना काम लागेनन्।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले तीनकुने घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताए।
‘यो मानव अधिकारको गम्भीर उल्लंघनको विषय हो। प्रधानमन्त्री नै यो कुरामा चुक्नु भएको छ। राष्ट्र गानप्रति पनि यो सरकारको विमति हो कि! किन गान गइरहेको अवस्थामा अश्रु ग्यास फालियो, सरकारले उत्तेजित बनाउने काम भयो,’ उनले भने।
एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले तीनकुने घटनामा जोडिएकाहरूलाई राज्यले मसिनोसँग खोज्नुपर्ने बताए। ‘यो घटनाका पछाडि को को छन् मसिनो गरी छानबिन होस्,’ उनले भने।
सांसद चक्रबहादुर विश्वकर्माले भने तीनकुने घटनाको आयोजक को हो भन्ने पनि प्रष्ट नरहेको बताए।
अर्का सांसद रामकुमार राईले पूर्व राजालाई पनि स्पष्टीकरण सोध्नुपर्ने बताए। ‘पूर्वराजालाई पनि स्पष्टीकरण सोध्नुपर्छ,’ उनले भने, ‘कि उहाँले नियन्त्रण गर्न सक्नुपर्छ।’
सांसद प्रतिक्षा तिवारीले तीनकुने घटनामा भएका क्षति दुर्गा प्रसाईंबाट भराउन माग गरिन्। ‘प्रसाईंको निजी सम्पत्तिबाट क्षति भराउनुपर्छ,’ उनले भनिन्।
सांसद गोमा लाभ सापकोटाले अराजकता मच्चाउन तीनकुने क्षेत्रमा कार्यक्रम गरेको देखिएको बताइन्।
‘जो व्यक्तिले आयोजना गरेको हो, त्यो व्यक्तिले अराजकता मच्चाउन खोजेको हो। यसको सत्यतथ्य छानबिन गर्नुपर्छ,’ उनले भनिन्।
गृहमन्त्री रमेश लेखकले तीनकुने घटनामा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताउँदै कानुनी कारबाही हुने बताए।
नागरिक अधिकारको अवमूल्यन हुने गरी तोडफोड, आगजनी र विध्वंसका घटना भएको देखिएको उनको भनाइ छ। उनले न्यायिक छानबिन समिति आवश्यकता नरहेको पनि बताएका थिए। घटनाबारे निष्पक्ष छानबिन हुने र दोषीमाथि मात्रै कारबाही गरिने उनको भनाइ छ।
उनले दुर्गा प्रसाईं पक्राउ परेको र अनुसन्धान जारी रहेको पनि जानकारी गराएका थिए। घटनामा जोडिने जोकोही पक्राउ पर्दै जाने गृहमन्त्री लेखकको भनाइ थियो।
सांसदहरूले पूर्वराजालाई समितिमा बोलाउन प्रस्ताव गरे पनि समितिले भने कुनै निर्णय लिन सकेन।
आफूले समितिमा राखेका धारणाबारे समाचार आएको र त्यसमा मानिसहरूले गाली र आपत्तिजनक कमेन्ट गरिराखेकोतर्फ कांग्रेस सांसद जीवन परियारले समितिमा ध्यानाकर्षण गराएका थिए।