राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउबारे गृहमन्त्री रमेश लेखकले संसदीय समितिलाई जानकारी गराएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा गृहमन्त्री लेखकले प्रसाईं पक्राउ परेकोबारे जानकारी गराएका हुन्।
‘यहाँहरूले जिज्ञासा पनि राख्नुभएको छ, दुर्गा प्रसाईंजीका बारेमा। हो, दुर्गा प्रसाईंजी पक्राउ पर्नु भएको छ, अनुसन्धान जारी छ,’ गृहमन्त्री लेखकले भने, ‘पक्राउ पर्ने क्रम पनि निरन्तर अघि जान सक्छ, को-को मानिसको भूमिका देखिन्छ, त्यसअनुसार पक्राउ पर्ने अनुसन्धान हुने र कानुनी कारबाही हुँदै जान्छ।’
प्रसाईंलाई प्रहरीले शुक्रबार बिहान झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको जनाएको छ। प्रसाईंलाई काठमाडौं ल्याइसकिएको पनि प्रहरीको भनाइ छ।
भारतको असमबाट काकडभिट्टास्थित मेची पुल हुँदै प्रसाईंलाई नेपाल ल्याइएको थियो। तर यसबारे प्रहरी तथा गृहमन्त्रीले भने प्रष्ट रूपमा खुलाएका छैनन्।
चैत १५ गते तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार थिए।
यो पनि: गृहमन्त्रीको प्रश्न- लोकतन्त्रको खरानीबाट राजतन्त्रको घर बनाउन सम्भव छ?